सहारा एपले चालकलाई ५ लाखको बीमा गर्ने, शुन्य % कमिशन



काठमाडौं । राइड शेयरिङ एप सहाराले अंग्रेजी नयाँ वर्षको अवसरमा यात्रु तथा सहारा पार्टनरको ६ लाख रुपैयाँको बीमा योजना ल्याएको छ ।

यात्रु तथा पार्टनरका लागि ५ लाखको दुर्घटना र १ लाख रुपैयाँको उपचार बीमा गर्ने सम्बन्धमा सहाराले अजोड इन्स्योरेन्ससँग सम्झौता गरेको छ । सहारा एपका तर्फबाट अध्यक्ष शेखर श्रेष्ठ र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले बीमा सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता हस्ताक्षर भएकै दिनदेखि सहाराका पार्टनर तथा यात्रुहरुको बीमा सुरु भएको इन्स्योरेन्सका सीइओ खत्रीले बताए । सम्झौता अनुसार यो योजना सहारा एपबाट राइड रिक्वेस्ट पठाएर यात्रा गर्ने यात्रु र चालक दुवैको हकमा लागू हुनेछ । यात्रु र सहारा पार्टनर दुवैको राइड सुनिश्चित र सुरक्षित बनाउने उद्देश्यका साथ सहाराले अजोड इन्स्योरेन्ससँग दुई वर्षका लागि बीमा सम्झौता गरेको कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए ।

पार्टनर र यात्रु दुबैले बीमा सुविधाबाट सुरक्षित हुने भएको भन्दै कम्पनीका अध्यक्ष श्रेष्ठले ढुक्क भएर सहाराको सेवा लिन आग्रह गरे । सहारा एपमार्फत दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको माध्यमबाट तत्काल चाहेको गन्तव्यमा पुग्न सकिने श्रेष्ठले जानकारी दिए ।

अंग्रेजी नयाँ वर्षदेखि आफ्ना पार्टनरहरुबाट कुनै किसिमको कमिशन नलिने उद्घोष गरेको छ । बजारमा राइडर तथा पार्टनरहरुले कम्पनीलाई २० प्रतिशतसम्म कमिशन बुझाउनु परिरहेको अवस्थालाई ध्यानमा राखेर यात्रुलाई गन्तव्यमा पुर्याउँदा संकलन हुने सबै रकम पार्टनरलाई दिने उद्धेश्यले यस्तो व्यवस्था गरिएको श्रेष्ठले बताए ।

उनका अनुसार यो व्यवस्था ६ महिनासम्मका लागि लागू हुनेछ । यात्रुहरुले गूगल प्ले तथा एप्पलको एपस्टोरबाट सहारा एप डाउनलोड गरेर सेवा लिन सक्ने छन् भने चालकहरुले गूगल प्लेबाट सहारा पार्टनर नामक एप डाउनलोड गरेर सहारामा दर्ता भई सेवा दिन सक्नेछन् ।


क्लिकमान्डु