त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० लाखसहित सौर्य एयरलाइन्सका कर्मचारी पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद ५० लाख रुपैयाँसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं सिनामंगल बस्ने मोरङ विराटनगर महानगरपालिका-४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।

बिराटनगरबाट काठमाडौं जान लागेको सौर्य एयरलाइन्सको जहाजमा सोही एयरलाइन्सका बिराटनगर स्टेसन इन्चार्ज प्रकाश पौडेलले सुरक्षा जाँच समेत नगरी झोला राखेको भन्ने सूचनाको आधारमा त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय गौचरले जाँच गर्ने क्रममा उक्त झोला फेला पारेको थियो ।

सौर्य एयरलाइन्स काठमाडौंमा एसिसटेन्टको रुपमा कार्यरत पोखरेललाई स्रोत नखुलेको तथा भन्सार उदघोष समेत नगरेको १ हजार दरको ४ हजार ९ सय ५० थान र ५ सय दरको १ सय थान गरी जम्मा ५० लाख रुपैयाँ सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बरामद नगद सहित पोखरेललाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ ।


क्लिकमान्डु