स्मार्ट लाइसेन्सको छपाइ सुस्त गतिमा, क्षमता दैनिक १० हजार तर छपाइ ३ हजारमात्रै



काठमाडौं । यातायात व्यवस्था विभागले १ वर्षपछि शुरु गरेको चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स)को क्षमताअनुसार छपाइ गर्न नसक्दा उपभोक्ता मारमा परेका छन् । विभागले दैनिक १० हजार प्रति छपाइ गर्ने उद्देश्य लिएपनि हालसम्म दैनिक ३ हजार मात्रै छपाइ गरिरहेको छ ।

विभागका महानिर्देशक नमराज घिमिरेले गत बिहीबार ४ वटा मेसिनबाट स्मार्ट लाइसेन्स छपाइको काम शुरु भएको बताएका थिए । उनले सोही क्रममा ४ वटा मेसिनबाट छपाइ शुरु गर्ने र प्रतिघण्टा ४५० वटा कार्ड छाप्नसक्ने क्षमता रहेको बताएका थिए । जसअनुसार दैनिक १० हजार प्रति स्मार्ट लाइन्सेन्स छपाइ हुने उनको दाबी थियो ।

तर हाल एउटा मात्रै मेसिन चलिरहेको र दैनिक १ देखि २ सिफ्टमा छपाइको काम भइरहेको विभागले जानकारी दिएको छ ।
घिमिरेका अनुसार हाल दैनिक ३ हजार प्रति मात्रै स्मार्ट लासेन्सको छपाइ भइरहेको छ ।

जनशक्तिको अभावले लक्ष्यअनुरुपको छपाइ हुन नसकेको घिमिरेको भनाइ छ ।

‘जनशक्तिको अभावमा ३ वटै सिफ्टमा काम हुन सकेको छैन,’ उनले भने, ‘जसकारण दैनिक ३ हजार स्मार्ट लाइसेन्स मात्रै छपाइ भइरहेको छ ।’

जनशक्तिको अभावमा कर्मचारीहरुले मिलाएर काम भइरहेको उनले बताए । उनले पूर्णक्षमतामा छपाइ हुन केही समय अझै लाग्ने समेत बताए ।

तर यसअघि महानिर्देशक घिमिरेले माघ महिनाभित्रै स्मार्ट लाइसेन्स लिन बाँकी भएका सबैले लाइसेन्स पाउने बताएका थिए । तर यही क्षमतामा स्मार्ट लाइसेन्स छपाइ हुने हो भने लाइसेन्स प्राप्त गर्न लिखित र ट्रायल परीक्षा पास गरेर रसिदसमेत पाइसकेका व्यक्तिले लाइसेन्स कुरेर बसेका ४ लाख ५५ हजारले लाइसेन्स पाउन कम्तीमा ४ महिना लाग्नेछ ।

घिमिरेले लाइसेन्स नवीकरण गर्नेले १० देखि ३० दिनभित्र लाइसेन्स पाउन सक्ने जानकारी दिएका थिए । तर यो पनि अन्योलमा पर्ने दखिन्छ ।

‘पहिला नयाँ लाइसेन्स नआएर पर्खेर बसेकाहरुलाई वितरण गरिन्छ । यो पहिलो चरण सकिएपछि मात्र नवीकरण गर्नेलाई लाइसेन्स वितरण थालिन्छ,’ उनले भनेका थिए ।

यता भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले कार्यक्रमा टाढाबाट लाइसेन्स लिन आउनु पर्ने बाध्यतालाई हटाउन आगामी दिनमा हुलाकबाटै स्मार्ट लाइसेन्स सम्बन्धित व्यक्तिको घरैमा पुर्याउने व्यवस्था समेत गरिने बताएकी थिइन ।


क्लिकमान्डु