कांग्रेसले उद्योग, धन्दा र कलकाखाना बेचेर सक्यो : प्रसाई



काठमाडौं । नेकपा एमालेका उद्योग विभाग उपप्रमुख दुर्गा प्रसाईले २०४६ सालपछि निरन्तर सत्ताको बागडोर सम्हालेको नेपाली कांग्रेसले देशमा विद्यमान उद्योग, धन्दा र कलकाखाना बेचेको आरोप लगाएका छन् । राजधानी आयोजित कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

‘२०४६ सालपछि सबैभन्दा बढि कांग्रेस नै सत्तामा बस्यो । २०४६ देखि २०६० सालसम्म कांग्रेस नै अधिकांश समय सत्तामा रह्यो, यो सबैले थाहा पाएको कुरा हो । देशमा भएका उद्योग÷धन्दा सबै बेचिए’ उनले भने ‘गिरिजा र किसुनजीको जहिल्यै लडाईँ÷झगडा थियो । मुलुकमा भएका उद्योगहरु नै बेचिएपछि र रोजगारी नै बन्द भएपछि युवाहरु विदेशिन बाध्य भए । अहिले दैनिक ३ हजार युवाहरु श्रमको लागि विदेश गैरहेका छन् ।’

प्रसाईले साना तथा ठूला गरेर मुलुकका ५ सय कखकारखाना बेचिएको आँकडा प्रस्तुत गरे । उनले भने ‘गोरखकाली टायर, भृकुटी कागज, बाँसबारी छाला जुत्ता सकियो, यी उद्योग कसको पालामा सकियो ?’

उनले भारतका ठूला–ठूला शहर र साउदी, कतारमा युवाहरु श्रमको सिलसिलामा गएको र ती युवाहरुलाई अब स्वदेशमा ल्याउनुपर्ने धारणा राखे । ‘हिजो बेचिएका कलकाखाना सुरु गर्नुपर्छ । हाम्रो पार्टीको मेन लाईन पनि त्यही हो’ उनले भने ‘नेपालमा नर्सिङ कलेज बन्द हुँदा फाईदा कसलाई हुन्छ ? युवाहरु पलायन हुने अवस्था आयो । सबैले पैसा लिएर बाहिर पढ्न गए । नेताहरु पनि पैसा लिएर जाने, नेताका छोरा–छोरी विदेशमा बसेर पढ्ने, उनीहरुका छोराछोरी अहिले उच्च शिक्षा लिन लण्डन, अमेरिका, युरोप र अष्ट्रेलियामा छन्, अहिले नेपालमा बैंकमा तरलता भएको छ ।’

एमालेको पालामा धरहरा, रानीपोखरी, दरबार हाईस्कुल बनेको जानकारी गराए । एमालेले सरकारमा नेतृत्व गर्दा हजारौं नयाँ सडक बनेको स्मरण गरे ।


क्लिकमान्डु