वाणिज्य बैंकको बिग मर्जरमा ‘टेकअफ’, यसरी घट्दै छ बैंकको संख्या



काठमाडौं । कुनै अड्चन नदेखिएमा पुसको ३० गते हुने हिमालयन बैंकको साधारणसभाले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव परित गर्ने छ । हिमालयन बैंकले आफ्नो नियमित साधारणसभामा लाभांश पारित गर्ने तथा नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर गर्ने प्रस्ताव राखेको छ ।

सञ्चालक समितिबाट सर्वसम्मतरुपमा पारित भएको प्रस्ताव साधारणसभाले स्वीकृति दिने करिब निश्चित छ । हिमालयन बैंकको साधारणसभाले मर्जरको प्रस्ताव स्वीकृति दिएमा नेपाल इन्भेष्टमेन्ट बैंकको पुस ४ मा हुने साधारणसभाले मर्जरको प्रस्ताव पारित गर्ने छ ।

नियामक र सेयरधनीलाई हिमालयन बैंकको साधारणसभामा भने आंशका भने कायम छ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले फागुनदेखि एकीकृत कारोबार गर्ने तयारी गरेका छन् ।

बैशाखमा अपौचारिक सम्झौता गरेका दुई बैंकले अनौपचारिक रुपमा भने मर्जरको कुरा गर्न थालेको २ वर्षभन्दा बढी भइसकेको थियो ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरन्जिवी नेपाल वाणिज्य बैंकहरु अहिलेको अवस्थामा टिक्नको लागि नै मर्जरमा जानुपर्ने बाध्यता रहेको बताउँछन् ।

‘त्यही अवस्था देखेर मैले बैंकको सख्या घटाउने गरेर बिग मर्जरको नीति ल्याउन खोजेको थिए, बैंकहरुको दवाव तत्कालिन सरकारको कारण नीति आएन, अहिले बजारले नै बैंकहरुलाई आफै मर्जरमा जानुपर्ने बाध्यता बनाएको छ,’ डा. नेपालले क्लिकमाण्डूसँग भने ।

उनी गभर्नर हुँदा बैंकका अध्यक्ष र सीइओलाई बोलाएर मनमिल्ने जोडी खोज्न निर्देशन नै दिएका थिए ।

नेपालको बैंकिङ क्षेत्रमा मर्जर नौलो कुरा होइन । नेपाल राष्ट्र बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले ल्याएको मर्जर तथा एक्विजेशन प्रक्रिया शुरु भएपछि २३७ संस्था मर्जर तथा एक्विजेशनमा गएका छन् । जसको कारण १७६ वटा संस्थाको इजाजत खारेज भएर मर्जर तथा एक्विजेशनबाट ६१ संस्था बनेका छन् ।

नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजेशनको नीति ल्याएपछि ‘ख’ वर्गको विकास बैंक र ‘ग’ वर्गका फाइनान्स कम्पनी संख्या घटेपनि ‘क’ वर्गका बैंक भने घटेनन् । मर्जर तथा एक्विजेशन नीति शुरु हुँदा ३२ वटामा रहेका बैंकहरु अहिले २७ वटामा झरेका छन् ।

मर्जरको नीति तथा पूँजी बढाउने नीतिपछि ग्लोबल आइएमई बैंकमा २ वटा वाणिज्य बैंक मर्ज भए । ग्लोबलमा कमर्ज एण्ड ट्रष्ट र जनता बैंक मर्ज भए । जसमा जनता बैंक राष्ट्र बैंकले वाणिज्य बैंक र वाणिज्य बैंक मर्ज गराउने बिग मर्जरको अनौपचारिक नीति ल्याएपछि मर्ज भएको हो । ग्लोबलले विकास बैंक र फाइनान्स कम्पनी गरेर एक दजर्नभन्दा बढी वित्तीय संस्थालाई आफूमा गाभिसकेको छ ।

एनआइसी र बैंक अफ एशिया मर्जरको नीतिले मर्ज भएका संस्था हुन् । समस्यामा परेको किष्ट बैंकमा प्रभु विकास बैंक मर्ज भयो र प्रभु बैंक बन्यो । प्रभुले चुक्ता पूँजी बढाउने नीतिपछि वाणिज्य बैंकको रुपमा रहेको ग्राण्ड तथा अन्य विकास बैंक र फाइनान्स कम्पनीलाई गाभ्यो । बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक चुक्ता पूँजी बढाउने नीतिपछि मर्ज भयो ।

बैंकिङ क्षेत्रमा तीन दशक बिताएका विज्ञ परशुराम क्षेत्री वाणिज्य बैंक वाणिज्य बैंक मर्जरको लहर नै चल्ने बताउँछन् ।

‘प्रतिफल तथा सूचना र प्रविधिमा गर्नुपर्ने खर्चको कारण बैंकहरु मर्ज गर्नुको पहिलो आवश्यक्ता हो, यसले बलियो र सक्षम बैंक बनाउन मद्दत गर्छ,’ क्षेत्रीले क्लिकमाण्डूसँग भने ।

क्षेत्री ग्लोबल आइएमई बैंक र जनता बैंक मर्ज हुँदा जनता बैंकको प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए । मर्ज भएपछि बनेको ग्लोबल आइएमई बैंकमा पनि उनले केही समय सीइओको रुपमा काम गरेका थिए । नेपाल इन्भेष्टमेन्ट र हिमालयन मर्जर भएमा अरुलाई समेत दवाव हुने विश्लेषण क्षेत्रीको छ ।

स्थापनाकालदेखि हिमालयन बैंक मर्जर तथा एक्विजेशन नगरेर अहिलेसम्म चलेको थियो । धेरै सूचकमा पहिलो स्थानमा रहेको नबिलले पनि आफ्नो स्थापनाकालदेखि मर्जर तथा एक्विजेशन नगर्ने नीतिलाई गतवर्षदेखि परिवर्तन गरेर यूनाइटेड फाइनान्सलाई गाभेको छ ।

नबिल बैंकका सञ्चालकका अनुसार कुनै अड्चन नआएमा नबिल बैंकले नेपाल बंगलादेश (एनबी) बैंकलाई गाभ्ने विषयमा यो साता सम्झौता गर्ने छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन मर्ज हुने तथा नबिलले एनबी बैंकलाई गाभेपछि अरुलाई स्वभाविक रुपमा दवाव पर्ने छ ।

पछिल्लो पुस्तामा सेञ्चुरी र सिभिल बैंकले मर्जरको लागि उपयुक्त हुने बैंकसँग धेरै पटक कुरा गरेका छन् । मात्र सेयर स्वापमा कुरा मिलेको छैन ।

बैंक अफ काठमाण्डू तथा एनसीसीपनि राम्रो स्वाप आए मर्जरमा जाने सोचमा छन् । अरु बैंकका अध्यक्ष र सीइओ मर्जरको लागि जोडी खोज्न कफी गफमा कुरा गरेका छन् । धेरैजसो संस्थाको मर्जरमा नमिलेको कुरा नै सेयर स्वाप हो ।


आशीष ज्ञवाली