फर्जी भ्याट बिल बनाएर कर छलेको आरोपमा राजस्वले हाल्यो मुद्दा



काठमाडौं । राजस्व अनुसन्धान विभागले कर छली गरेको आरोपमा युनिक लुद्दिन इन्टरनेशलन प्रालि विरुद्ध मुद्दा दायर गरेको छ ।

उच्च अदालत पाटनमा दायर गरिएको मुद्दामा कम्पनीले १६ करोड ४ लाख रुपैयाँ बिगो र सोही बराबरको जरिवाना सहित ३२ करोड ८ लाख रुपैयाँ तिर्नु पर्ने माग गरिएको हो ।

विभागले कम्पनीका सञ्चालक बारा घर भएका जमालद्दिन अन्सारी सहित सिराहा घर भएका जय किशोर साह र सुर्यजित प्रसाद साह र भक्तपुर घर भएका तोयनाथ अधिकारी विरुद्ध मुद्दा दायर गरेको हो ।

कम्पनीले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा र नक्कली मुल्य अभिवृद्धि कर विल बनाएर मूल्य अभिवृद्धि कर र आयकर समेतको छलि गरेको देखिएको मुद्दा दायर गरिएको विभागले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

सुन ल्याउन अबैध विदेशी मुद्रा कारोबार गरेको आरोप, २४ करोड रुपैयाँ तिराउन राजस्वले हाल्यो अदालतमा मुद्दा

राजस्व अनुसन्धान विभागले बुद्ध ज्वेलरी वर्कशप प्रालिका संचालक बुद्ध विश्वकर्मा (शंकर) ले अवैध रुपमा सुन ओसार पसार गर्दै विदेशी मुद्राको अबैध कारोबार गरेको आरोपमा काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

विभागले झापा जिल्ला दमक नगरपालीका घर भई हाल जिल्ला काठमाडौं, मैतिदेवी बस्ने बुद्ध विश्वकर्मा (शंकर), मेघराज विश्वकर्मा, अमिर लगुन विश्वकर्मा र मोरङ्ग, लेटाङ्ग नगरपालिका वडा नं. ३ बस्ने बुद्धिमान खाती विरुद्ध मुद्दा दायर गरेको हो । १२ करोड ५ लाख रुपैयाँ बराबर गैरकानूनी रुपमा विदेशी मुद्राको कारोबार गरेकाले १२ करोड ५ लाख रुपैयाँ जरिवामा सहित २४ करोड १० लाख रुपैयाँ असुल हुनु पर्ने विभागले माग गरेको छ ।

सुन पैठारी गर्दा राष्ट्र बैकको कार्यविधीका साथै प्रचलित बिदेशी बिनिमय ( नियमित गर्ने) ऐन २०१९ अनुसारका प्रक्रिया पुर्याउनु पर्नेमा सो बिपरित कार्य गर्नुको सुन तथा सुनका गहना अबैध रुपमा नेपाल भित्र ल्याउन १२ करोड ५ लाख रुपैयाँ बराबरको बिदेशी मुद्रा अबैध रुपमा बिदेश पठाई सुन अबैध तरिकाबाट चोरी निकासी गरी बिदेश बिनिमय(नियमित गर्ने) ऐन २०१९ विरुद्धको काम गरेकाले मुद्दा दायर गरिएको विभागले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


क्लिकमान्डु