हिमालयन र इन्भेष्टमेन्ट बैंकले मर्जरको प्रस्ताव पारित गर्न बोलाए साधारणसभा



काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्ज भएर फागुनदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुवै बैंकले गत बैशाखमा मर्जरमा जाने सम्झौता गरेका थिए । मर्जरको सम्झौता गरेपनि हिमालयन बैंकमा अध्यक्ष परिवर्तन भएपछि मर्जरमा ढिलाई भएको थियो ।

हिमालयन बैंकले पुस ३० गते नियमित साधारणसभा बोलाएको छ । जसमा हिमालयन बैंकले आफ्नो वार्षिक प्रतिवेदनको साथै लाभांश पारित गर्ने र नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्ने छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले माघ ४ गतेको लागि विशेष साधारणसभा बोलाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले नियमित साधारणसभा भने गरिसकेको छ । जसमा हिमालयन बैकसँग मर्जरमा जाने प्रस्ताव पारित हुने छ ।

मर्जरको लागि सम्पत्ति र दायित्वको मूल्यांकन गर्ने काम टिआर उपाध्यायको फर्मले गरेको थियो । दुवै बैंक १ः१ को अनुपातमा मर्ज हुन लागेका हुन् । मर्जपछि हिमालयन इन्भेष्टमेन्टको नामबाट एकीकृत कारोबार हुने छ ।

मर्जरपछि चुक्ता पूँजी,निक्षेप तथा कर्जाको आधारमा हिमालयन इन्भेष्टमेन्ट देशको ठूलो बैंक हुने छ । मर्जरपछि बन्ने बैंकमा अध्यक्ष इन्भेष्टमेन्ट बैंकबाट पृथ्वीबहादुर पाँडे हुने छन् भने सीइओ हिमालयन बैंकका अशोक राणा हुने छन् । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे डेपुटी सीइओ हुने छन् ।


क्लिकमान्डु