समितिले जारी गरेको निर्देशन बीमा क्षेत्रको विकासमा कोषेढुंगा साबितः संघ



काठमाडौं । नेपाल बीमक संघले बीमा समितिले जारी गरेको निर्देशन बीमा क्षेत्रको लागि आवश्यक भएको उल्लेख गरेको छ ।
संघले विज्ञप्ति जारी गर्र्दै समितिले असोज ६ गते जारी गरेको मिनिमम प्रिमियम रेट फर नन ट्यारिफ बिजनेश निर्देशनले नेपालको बीमा क्षेत्रको विकासमा कोषेढुंगा साबित भएको जनाएको छ । बीमितको सम्पतिको बीमायोग्य सुरक्षण प्रदान गरेको, अन्तराष्ट्रिय उच्च स्तरको ख्यातीप्राप्त पुनर्बीमकहरुमा जोखिम हस्तान्तरण गर्न सक्ने भएको हुँदा उक्त निर्देशन आवश्यक रहेको संघले जनाएको छ ।

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) र निर्माण व्यवसायी महासंघले बीमा समितिले एकतर्फी रुपमा बीमा शुल्क बढाएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यो व्यवस्था खारेज गर्न आग्रह गरेका थिए । त्यसलगत्तै संघले भने बीमा समितिले जारी गरेको निर्देशन अहिलेको अवस्थामा आवश्यक भएको धारणा सार्वजनिक गरेको छ ।

संघले नेपाल निर्माण व्यवसायी महासंघ र इपानसँग विभिन्न चरणमा भएको छलफल र प्राप्त सुझावहरुलाई सम्बोधन भई समय समयमा परिमार्जन भएको स्मरण गराएको छ । हालको बीमादर कायम गर्न अन्तर्राष्ट्रिय बजारमा प्रचलनमा रहेको दर, राष्ट्रमा परेको क्षती, राष्ट्रमा संकलन हुन सक्ने बीमा शुल्क, राष्ट्रमा विद्यमान जोखिम जस्ता तथ्यहरुलाई समेत ध्यानमा राखेर बीमा शुल्क निर्धारण गरेको संघले स्मरण गराएको छ ।


क्लिकमान्डु