एनएमबि बैंकले सिफेमबाट १ करोड २० लाख अमेरिकी डलरको भित्राउने



काठमाडौं । एनएमबि बैंकले स्वीस इन्भेष्टमेन्ट फण्ड इममर्जिङ मार्केट्स (सिफेम)सँग १ करोड २० लाख अमेरिकी डलर ऋण लिनका लागि सम्झौता गरेको छ । बैंकले पुस १२ गते उक्त सम्झौता गरेको हो ।

सिफेमबाट पहिलो पटक नेपालमा लगानी भित्राउने गरी भएको यो सम्झौतामा सिफेम र स्वीस सरकार विकास सहयोग एसडीसी बीचको सहकार्यको महत्वपूर्ण भूमिका रहेको बैंकको भनाइ छ ।

नेपाल स्वीट्जरल्याण्डको विकास सहयोगको प्राथमिकतामा पर्ने राष्ट्र हो ।

नेपालमा विकासलाई अगाडि बढाउन स्वीस संस्थाहरुबीच विशेषज्ञता र समन्वयको उपयोग गरी सिफेम र एसडीसीबीचको सहकार्यमा भएको यो लगानी नेपालसँग स्वीट्जरल्याण्डको लामो समयदेखिको साझेदारीको इतिहासमा एउटा कोसेढुंगा हुने बैंकको दाबी छ ।

सिफेमबाट प्राप्त यस कर्जाको लागि एसडीसीले सिफेमलाई जोखिम बाँडफाटको आधारमा सुविधा प्रदान गरेको हो ।

सम्झौताले एनएमबि बैंकको लगानीको स्रोतहरुलाई विविधिकरण गर्दै दिगो विकास गर्ने प्रतिबद्धतामा थप सहयोग पुगेको बैंकको भनाइ छ ।

सिफेमबाट बैंकले प्राप्त गरेको कर्जा रकम बैंकले मुख्यतः लघु साना तथा मझौला उद्यमहरुलाई कर्जा प्रदान गर्न र वित्तिय पहँुच अभिबृद्धि गर्न, वित्तिय क्षेत्रको विकासमा योगदान पुग्ने, रोजगारी बृद्धिमा सहयोग र स्थानिय अर्थव्यवस्थामा सहजता बढाउन सहयोग पुग्ने क्षेत्रहरुमा लगानी गरिने बैंकको भनाइ छ ।

‘स्वीस इन्भेष्टमेन्ट फण्ड फर इमर्जिङ मार्केटसको एनएमबि बैंक लिमिटेडमा ऋण लगानीबाट नेपाल– स्वीस सहकार्यमा नयाँ अध्यायको शुरुवात भएको छ । यो लगानीले नेपालको अर्थतन्त्रका प्रमुख संवाहकहरु, अर्थात नेपाली लघु साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच बढाउन सहयोग गर्नेछ,’ नेपालका लागि स्वीट्जरल्याण्डकी महामहिम राजदुत एलिजावेथ भोन क्यापेलरले भनिन् ।

त्यसैगरी एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले सम्झौताको महत्वलाई प्रकाश पार्दै नेपालमा नै पहिलो पटक सिफेमबाट कर्जा लगानी भित्र्याउनका लागि सम्पन्न भएको यो ऋण सम्झौताले वास्तविक अर्थतन्त्रका क्षेत्रमा लगानी गर्ने हाम्रो प्रतिबद्धतालाई थप गति दिएको बताए ।

‘हालको चुनौतीपूर्ण समयमा साना व्यवसायहरूले उनीहरूको व्यवसायलाई निरन्तरता दिनको लागि निर्वाध रुपमा नगद प्रवाहमा पहुँच पुर्याउन यो सम्झौताले सहयोग गर्नेछ,’ उनले भने ।

एनएमबि बैंक र सिफेम बीच सम्पन्न यो सम्झौता एनएमबि बैंककोे लगानीका स्रोतहरूलाई विविधीकरण गर्दै अन्तर्राष्ट्रिय सरोकारवालाहरूसँग सहकार्यलाई बढाउने रणनीतिको निरन्तरता हो ।

विगतमा समेत बैंकले अन्तराष्ट्रिय वित्त निगम, सीडीसी समूह, अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोष र सिम्बायोटिक्स लगायतका संस्थाहरुबाट ऋण लिई नेपाल राष्ट्र बैंकले तोके बमोजिम प्राथमिकताका क्षेत्रहरुमा लगानी गर्दै आएको छ ।


क्लिकमान्डु