कलैया उपमहानगरपालिकामा बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न



काठमाडौं । बीमा समितिले स्थानीय तहमा बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रम संचालनलाई अभियानका रुपमा अगाडि बढाउदै आएको छ ।

यसै क्रममा समितिले बारा जिल्लाको कलैया उपमहानगरपालिकाको कलैयामा बीमासम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले आम नगरवासीलाई बीमाको दायरामा ल्याउनका लागि उपमहानगरपालिकाको आगामी बैठकमा बीमासम्बन्धी नीतिगत व्यवस्थाका लागि आवश्यक निर्णय गर्ने जानकारी दिए ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले विपद्बाट हुने हानी नोक्सानीबाट आइपर्ने आर्थिक क्षतिलाई न्यून गर्नका लागि उपमहानगरपालिकाले बीमा सम्बन्धी नीति ल्याएर आम नगरवासीलाई बीमाको दायरामा ल्याउनुपर्ने बताए ।

उनले आर्थिक रुपमा सम्पन्न व्यक्तिलाई स्वयम् नै बीमा गर्न प्रोत्साहित गर्न र न्यून आय भएका बर्ग पहिचान गरेर उनीहरुका लागि भने उपमहानगरपालिकाले नै बीमा गरिदिने व्यवस्था गर्नु उपयुक्त हुने सुझाव दिए ।

अध्यक्ष सिलवालले देशमा बीमाको पहुँच बढाउनका लागि बीमा समितिले स्थानीय तहमा बीमा सचेतना कार्यक्रम आयोजनालाई अभियानका रुपमा अगाडि बढाएको उल्लेख गर्दै बीमा सम्बन्धी जनचेतना अभिवृद्धि र नीति निर्माणका लागि आवश्यक सहयोग गर्न बीमा समिति तयार रहेको बताए ।

साथै, उनले उपमहागरपालिकाका सेवासँग आवद्ध गरेर घर सम्पत्तिको बीमालाई अनिवार्य गर्न र पशुपन्छी तथा कृषि बीमाको महत्वका बारेमा कृषकहरुलाई जानकारी दिन आग्रह गरे ।

कार्यक्रममा बीमा समितिका निर्देशक दिनेश कुमार लालले बीमाको परिचय, बीमाको महत्व, बीमा दात्री भुक्तानी प्रक्रिया र बीमाको पहुँच विस्तारमा स्थानीय सरकारको भूमिका लगायतका विषयहरु समेटिएको बीमासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहभागीहरुले बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रम वडास्तरमा पनि आयोजना गर्नुपर्ने, स्थानीयस्तरमै सहजरुपमा पशुपन्छी र बालीनालीको बीमा गर्न पाउने व्यवस्था गर्नुपर्ने, बीमा दाबी प्रक्रिया सरल हुनुपर्ने, बीमा दाबी भुक्तानी समयमै पाउनुपर्ने लगायतका धारणा राखेका थिए ।

उक्त कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादव, उपप्रमुख रहिमा खातून, बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल र निर्देशक दिनेश कुमार लाल, कलैया उपमहानगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य र प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीहरु, बीमा, बैंक तथा वित्तीय संस्थाका पदाधिकारी, शिक्षक, कृषक र सर्वसाधारण गरी करिव ५० जनाको सहभागिता रहेको थियो ।


क्लिकमान्डु