सेयर बजार अरुको सम्पत्ति हडपेर अकुत पैसा कमाउने क्षेत्र होः प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले छिटो पैसा कमाउनको लागि सेयर बजार र घरजग्गामा लगानी गर्ने प्रवृति बढेको बताएका छन् ।

प्रचण्डले महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदनमा अकुत सम्पत्ति आर्जन गर्न सेयर बजार र घरजग्गा किनबेचमा लगानी हुने गरेको उल्लेख गरेका छन् ।

देशमको पूँजी उत्पादन क्षेत्रबाट वित्त क्षेत्रमा पलायन भएको भन्दै सेयर बजारको बारेमा आफ्नो पुरातनवादी शैलीलाई निरन्तरता दिएका छन् ।

’उत्पादनमूलक क्षेत्रबाट वित्त क्षेत्रमा पुँजी पलायन हुनाले समाजमा बेरोजगारीका साथै विभिन्न प्रकारका संकट उत्पन्न भएका छन्। वित्त क्षेत्रमा पुँजी पलायन हुनुको मुख्य कारण पुँजीपतिहरूको छोटो समयमा धेरैभन्दा धेरै नाफा कमाउने अतृप्त भोक नै हो,’ प्रचण्डले पेश गरेको प्रतिवेदनमा भनिएको छ ।

उनले उत्पादनका क्षेत्रमा लगानी गर्दा समय धेरै, मिहिनेत पनि धेरै गर्नुपर्ने, मजदुर आन्दोलनको सामना गर्नुपर्ने, नाफा पनि कम आउने कारणले नै पुँजीपतिहरूले अरूको सम्पत्ति हडपेर छोटो समयमा अकुत सम्पत्ति आर्जन गर्न पुँजीलाई सेयर बजार, मुद्रा बजार, धितोपत्र खरिद बिक्री तथा घरजग्गा किनबेचमा लगानी गर्न थालेको बताएका छन् ।

उत्पादन क्षेत्रमा लगानी गरेर नाफा कमाउने पहिलेको मुद्रा–माल–मुद्राको स्थान अब लगानी गरेर सिधै मुद्रै कमाउने प्रक्रियाले लिएको उनले उल्लेख गरेका छन् ।


क्लिकमान्डु