सेयर बजारमा अवसरै अवसर



भविष्यमा केही कमाउने वा लगाएको बढाउने उदेश्यबाट आज गरिने त्याग नै लगानी हो । लगानी बर्तमान वा विगतसँग भन्दा पनि भविष्यसँग बढी जोडिएको हुन्छ । बर्तमान निश्चित भएपनि भविष्यमा के हुन्छ भन्ने बारे सामान्यत हामी जान्दैनौं । यसैले भविष्य अनिश्चित नै हुने गर्छ । यसैले लगानीमा जोखिम छ । चाहे त्यो सेयर बजारमा गरिने लगानी होस् वा घर जग्गा वा कुनै उद्योग व्यवसाय नै किन नहोस् ।

सेयर बजारमा चाहे एकहजार रुपैया लगानी गर्ने हुन वा एक लाख वा एक करोड वा एक अर्व सवैको अपेक्षा एउटै हुन्छ र त्यो हो कमाउनु वा लगाएको सम्पति बढाउनु । तर, यथार्थ सवैको अपेक्षा पुरा नहुन पनि सक्छ । किनकि यहाँ अनिश्चितता छ । यसैले सेयर बजार जोखिम लिएर नाफा कमाउने क्षेत्र हो । जोखिम र नाफाको सम्बन्ध प्राय सकारात्मक हुन्छ । जति बढी जोखिम त्यति नै बढी नाफाको सम्भावना पनि रहन्छ । कम जोखिम लिनेहरुले कमै नाफा हात पार्ने सम्भाबना रहन्छ । तर, लगानी गर्ने धेरैको चाहना सँधै एउटै हुन्छ । र, त्यो कम जोखिम लिएर बढी नाफा गर्ने ।

सेयर बजार लगानीको एउटा विकल्प हो । वाध्यता हैन । भएको पैसा लगानी गरेर बढाउन हामीसँग धेरै अन्य विकल्प हुन सक्छन् जस्तो घरजग्गा, बैंकको निक्षेप, सरकारी ऋणपत्र, सानो व्यवसाय, सुन चाँदीमा लगानी गर्ने आदि ।

अनि सेयर बजार विकल्पमात्र नभई अवसर पनि हो । यहाँ एउटा हैन दुइवटा हैन, तीनवटा पनि हैन, धेरै अवसरहरु छन् । जसको उपयोग धेरै पैसा हुनेले मात्र हैन, थोरै पैसा हुनेले पनि गर्न सक्छन् । अर्ब हुनेले मात्र हैन हजार बोकेर अर्बको सपना देख्नेले पनि उपयोग गर्न सक्छन् । यसको उपयोग धनी भनिएकाले पनि गर्न सक्छन् । गरीब भनिएकाले पनि गर्न सक्छन् । यो युवाले गर्न सक्छन् । यो विद्यार्थीले पनि गर्न सक्छन् । अनि यो तपाँइले गर्न सक्नुहुन्छ । मैले पनि गर्न सक्छु। जो कोहीले गर्न सक्छ ।

यहाँ क्षमताअनुसारको लगानीको अवसर छ । आज किनेर आजै बेच्न सक्ने अवसर छ। आज किनेर बर्षौबर्षसम्म राख्न सक्ने अवसर पनि छ । मन परे राख्ने नभए फाल्ने अवसर छ यहाँ । कम्पनी छानीछानी लगानी गर्ने अवसर छ । पैसा लाउने मात्र नभई पैसा बनाउने अवसर पनि छ यहाँ ।

सेयर बजारले तपाईं हामीलाई कामदार हैन मालिक बन्ने अवसर दिन्छ । चाहे आधा कित्ता होस् वा एक कित्ता। हजार कित्ता होस् वा लाख कित्ता लगानीअनुसार कम्पनीको स्वामित्व प्राप्त हुन्छ यहाँ । ठुला हुन या साना कम्पनी । देशि भित्रका हुन या देश बाहिरका । एक बर्षअघिको कम्पनी होस् या १०० बर्षअघिको कम्पनी जुनसुकै बेला कम्पनीको गाडीमा चढ्न सकिन्छ यहाँ। मालिकमात्र नभई संचालक बनेर अर्बौंको कम्पनी हाँक्न पाउने अवसर पनि छ यहाँ । त्यसैले पनि अवसरै अवसर छ सेयर बजारमा ।

सेयरबजारमा लगानीका अवसरमात्र हैन । यहाँ विकासका लागि पुँजी निर्माणको अवसर पनि छ । पैसाका थोपाथोपा मिलाएर पुँजीको समुद्र बनाउन सकिन्छ । एक हजार बोकेर एक छाक तरकारी किन्न नसकिने अवस्थामा तिनै एक हजारको संकलनले देशभर तरकारी पुरयाउने कम्पनी निर्माण गर्न सक्ने अवसर छ यहाँ । देशभित्रको मात्र नभई देश बाहिरको पैसा बटुल्न सक्ने पनि अवसर दिन्छ सेयर बजारले । त्यही भएर त मेचीदेखि महाकालीमात्र हैन विश्वभर छरिएका नेपालीले कम्पनीका नयाँ सेयर (आइपीओ) किनिरहेका छन् । आवेदन दिइरहका छन् ।

कम्पनीलाई छरिएको पुँजी संकलन गर्ने अवसर दिन्छ सेयर बजारले । पुँजी दैनिक हात मुख जोडन (गर्जो टार्न) उठाइँदैन । यसले उद्योग व्यवसायको स्थापना र विस्तार, बस्तु तथा सेवाको उत्पादन, रोजगारि सिर्जना, मानिसको जीवनस्तर सुधार गर्ने अवसर पनि दिने गर्छ । अनि यसले केही व्यक्ति वा समुहमा केन्द्रित आय लाभांशका रुपमा ठुलो समुहमा वितरण गर्न सक्ने अवसर पनि सँगसँगै दिइरहेको हुन्छ । कम्पनीले बाँडेका नाफा र बढेको सेयर मूल्यले हाम्रा खाचो मात्र टार्दैन । यसले हाम्रा आवश्यकता र चाहना पुरा गर्न पनि सघाइरहेको हुन्छ ।

अवसरै अवसर भएको सेयर बजारमा पैसा लगानी गरेर पैसा बनाउन कति सजिलो छ ? धेरै मानिसलाई लाग्छ सेयर बजारमा लगानी गर्नु कठिन, रहस्यमयी र जोखिमपुर्ण छ । यसैले यो औषत मानिसहरुले लगानी गरेर पैसा बनाउन सक्ने ठाँउ हैन । कतिपयलाई लाग्छ यसमा सफलता हात पार्न राम्रो डिग्रि, गणितको राम्रो ज्ञान हुनुपर्छ । बजार परिसूचक, कारोबार, भोल्युम, रेखाचित्र, चार्ट नियमित हेरिरहन पर्याप्त समय दिनुपर्छ । अनि कतिपय सेयर पन्डितहरुले सेयर बजारका अप्ठयारा कुराहरुको फेहरिस्ता लगाएर औषत मानिसको पहुँचभन्दा बाहिरको जस्तो बनाइ दिइरहेका पनि हुन्छन् सेयर बजारलाई । वास्तविकता के हो ?

यदि कठिन तरिकाले सोच्ने हो भने सेयर बजारमा पैसा बनाउन अति नै कठीन छ । सरल तरिका सोच्ने हो भने यो सरल पनि छ । छनौट तपाईं हाम्रो । कठिन रोज्ने या सरल । भिडमा छिर्ने या किनारामा लाग्ने । हरेक सेकेन्ड, मिनेट अनि घन्टाका उतारचढावबाट पैसा तान्न खोज्यौ भने सेयर बजार कठीन छ । अनि यीनै मिनेट घन्टाका रेखा चित्रलाई हेरेर एक छिन, एक दिन, एक महिनापछिको बजारको अनुमान लगाएर नाफाको अपेक्षा राख्यौ भने सेयर बजार झन कठिन छ। त्यस्तै छिनछिनमा सामाजिक सञ्जालमा दौडियौ भने सेयर बाजार बुझ्नै नसकिने अनकन्टार जंगलजस्तो पनि देखिन्छ । तर, सेयर बजारनै पेसा बनाएर संसारकै धनी सम्म बनेका वारेन वफेटका कुरा सुन्यौं भने सेयर बजारबाट पैसा बनाउन त्यति कठीन छैन । सरल छ ।

वारेन वफेट भन्छन् सेयर बजार सरल छ । तपाईंलाई जे थाहा छ वा बुझ्न सजिलो लाग्छ त्यसमा अडिग रहनुहोस् । लगानी निर्णयलाई कठिन हैन सरल बनाउनु होस् । जति सरल सोच्नु हुन्छ त्यति सरल छ। जति कठिन सोच्नु हुन्छ त्यति नै कठिन छ । कति पैसा लगानी गर्ने । कति समयका लागि लगानी गर्ने। के किन्ने वा के बेच्ने, कति समय राख्ने वा बेच्ने भन्ने बारेमा तपाँइ आफ्नो लगानी सल्लाहकार आफै बन्नुहोस् । किनकी, तपाईंको बारेमा तपाईंलाई जति अरु कसैलाइ थाहा छैन । जस्तो तपाईंको आम्दानी, तपाईंको बचत, जोखिम लिने क्षमता, आवश्यकता, लक्ष्य, लगानीका लागि दिनसक्ने समय आदि ।

ब्रोकर या रेडियो, टिभि या सामाजिक सञ्जालमा देखापर्ने पण्डितहरु कसैबाट सतर्क रहनुहोस् जसले कहिले पनि तपाईंको भलाइका लागि भन्दा पनि आफ्नो भलाइका लागि बढी काम गरिरहेका हुन्छन्। तपाईंको आय बढाउनभन्दा पनि उनीहरुको आय बढाउन बढी केन्द्रित भइरहेका हुन्छन् । तपाईंको फाइदाका लागि भन्दा पनि उनको फाइदाका लागि काम गरिरहेका हुन्छन् ।

वफेट भन्छन् ‘वित्तीयरुपमा केही राम्रा र व्यवसायिक सम्भावना बोकेका कम्पनी छान्नुहोस् र किनेर केही समय विर्सनुहोस् । दैनिक बजारका उतारचढाव हैन समय समयमा कम्पनीको प्रगति हेर्नुहोस् । पैसा तपाईंले बनाउनु हुन्छ । किनकी, यहाँ किनेर हरेक दिन सम्झिने र बजारतिर दौडिनेले भन्दा विर्सनेले बढी पैसा बनाएका छन् ।’ छनौट तपाईंको । अनि निर्णय तपाईंको किनकि पैसा तपाईंको।

(भट्टराई सेयर बजार विश्लेषक हुन् ।)


क्लिकमान्डु