हाइड्रो-मेकानिकलको काममा प्रश्न, साहस ऊर्जाका दुई प्राविधिकको निधन



काठमाडौं । निजी क्षेत्रले प्रवर्द्धन गरिरहेका जलविद्युत् आयोजनाको काममा गुणस्तरलाई ख्याल गरिदैन भन्ने कुराको उदाहरण बनेको छ सोलुखोला दुधकोसी जलविद्युत् आयोजना ।

साहस ऊर्जाले प्रवद्र्धन गरेको सो आयोजनाको पाइप परीक्षणका क्रममा सोमबार भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

सरकारबाट आयोजना लिँदा २५ वर्षपछि सरकारलाई नै फिर्ता गर्नुपर्ने प्रावधानका कारण गुणस्तरहित काम भएको आरोप बेला बेलामा लाग्दै आएको छ ।

सोही आरोपलाई पुष्टि हुने खालको दुर्घटना सोमबार भएको छ ।

आयोजनामा ६०० मिटरको उचाइबाट प्रतिसेकेण्ड १७ घनमिटर पानी तीव्र गतिले पेनस्टक पाइपमा खसाउँदा त्यसभित्रको चापका कारण विस्फोट भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । आयोजनामा प्रयोग गरिएका हाइड्रो–मेकानिकलतर्फको काममा यो दुर्घटनाले प्रश्न खडा गरेको छ ।

यसबारेमा साहस ऊर्जाका कुनै पनि अधिकारी बोल्न तयार छैनन्् । तर दुर्घटनाका कारण दुई प्राविधिको निधन भएको छ । पानी परीक्षणका क्रममा पाइप विस्फोट भई इन्जिनियर सुवासराज रेग्मी र कर्मचारी अर्जुन थापाको निधन भएको हो ।

ती मध्ये रेग्मी इञ्जिनियर हुन भने थापा कर्मचारी हुन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले पनि सोलुखुम्बुमा निर्माणाधीन एक आयोजनाको पाइप परीक्षणमा क्रममा दुर्घटनामा परी निधन भएका प्राविधिकप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छिन् ।

साहस ऊर्जाले प्रवद्र्धन गरिरहेको सो आयोजना ८६ मेगावाट क्षमताको हो । सोलुखोला दुधकोसी जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छ ।

मन्त्री भुसालले दुई युवा तथा प्रतिभाशाली प्राविधिकको असमायिक निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताएकी छिन् ।

पेनस्टक पाइपको हाइड्रोलिक परीक्षणका क्रममा पाइप फुट्दा उक्त दुर्घटना हुन पुगेको हो । प्रवद्र्धक कम्पनीका अनुसार पाइपको ज्वाइनमा परीक्षण गर्न पानी पठाउँदा दुर्घटना भएको हो ।

सो आयोजनाको हाइड्रो–मेकानिकलको ठेकेदार माछापुच्छ्रे मेटल एण्ड मेसिनरी वक्र्स प्रालि हो । यस्तै परमार्शदातामा नेपालको हाइड्रो–कन्सल्ट इन्जिनियरिङ लिमिटेड र फिचनर जीएमबीएच एण्ड कम्पनीको ज्वाइन्ट भेञ्चर हो ।


क्लिकमान्डु