समस्याको चाङमा सेयर बजारः रवीन्द्र भट्टराईको लेख



आवश्यकता, चाहना र समस्या । यी तीनैको आशय एउटै हुन सक्दैन ।

आवश्यकता,चाहना र समस्या, सबैलाई एउटै वास्केटमा राखेर हेर्न थाल्यौं भने सेयर बजारको विकास सम्भव छैन । उदाहरणका लागि सेयर किन्न ऋण पाउनु पर्छ वा मागेजति पाउनु पर्छ भन्नु आवश्कता या चाहना वा समस्या के हो छुट्याउनु पर्छ । जोखिम उठाउने क्षमता हुनेले ऋण पाएन वा मागेजति नपाउनु सेयर बजारका लागि यो कुनै समस्या हैन । यो चाहना मात्र हो । तर, नियमन निकायबाट बारम्बार परिवर्तन भईरहने नीति र त्यसले सेयर बजारमा सिर्जना गर्ने अस्थिरता चाहीँ समस्या हुनसक्छ ।

बजारको विकास र लगानीकर्ताको आत्मविश्वासका लगि नीतिगत स्थिरता आवश्यकता हो । यस्तै सेयर बजार बढोस् भन्ने लगानीकर्ताको अपेक्षा एउटा चाहना मात्र हो । तर, नितिगत निर्णय गर्ने निकायमा बस्ने वा नितिगत निर्णयलाई प्रभाव राख्ने हरुले आफ्नो वा पार्टीको वा झुण्डहरुको स्वार्थ अुनुरुप सेयर बजारको व्याख्या गर्ने प्रवृत्ति सेयर बजारको भविष्य र त्यहाँ लगानी गर्ने लगानीकर्ताको लगानीको सुरक्षाका लागि समस्या हो ।

सेयर बजारमा छिर्न चाहने सम्भावित लगानीकर्तादेखि छिरिसकेका लगानीकर्तासँग केही समय भलाकुसारी गर्यौं वा सामाजिक सञ्जालमा केही मिनेटमात्र भौतारियौँ वा सेयर बजार सम्बन्धी निकाय वा संस्थामा चाहार्यौं भने एउटा हैन, दुइवटा हैन, तीन वटा पनि हैन गन्नै नसकिने समस्याहरुका चाँडै पाइन्छ ।

सेयर बजारको वास्तविक विकासका लागि सर्वप्रथम समस्याको समाधानमा केन्द्रित हुनुपर्छ । त्यसपछि बजारको आवश्यकता अनि चाहना । तर, यहाँ चाहनालाई समस्या देख्ने प्रवृत्ति हावी छ । अर्बौं ऋण लिन खोज्नेहरुको चाहनालाई मात्र समस्याको सुचिमा राखेर हेर्यौं भने सेयर बजारका वास्तविक समस्याहरु ओझेलमा पर्ने छन् ।

लगानीकर्ताका समस्याहरु बुझ्ने क्रममा केहि मर्चेन्ट बैंक (सेयर रजिष्ट्रार, क्यापिटल), सेयर ब्रोकर, निक्षेप सदस्य (डीपी) कहाँ पुगेर समस्यालाई नजिकबाट नियाल्न चाहेँ । त्यहाँ मैले लगानीकर्ता के चाहन्छन् भनेर खोज्ने प्रयास भने गरिँन । उनीहरु कस्ता समस्या लिएर आउछन् र सेवा प्रदान गर्नेहरु कसरी प्रस्तुत हुन्छन् भन्ने मेरो उद्देश्य थियो । जसका लागि उनीहरुसँग सोधेर वा कुरा गरेरभन्दा पनि हेरेरमात्र समस्या थाहा पाउने मेरो प्रयास थियो ।

अहिले भौतिक सेयर वा सेयरका प्रमाणपत्र नै किनबेच वा आदान प्रदान हुन्न । तर, पनि सबै लगानीकर्ताले आफुसँग भएको सेयर अझैपनि अभौतिक (डिम्याट) गराइसकेका भने छैनन् । बिक्री गर्नुअघि वा अन्य कागजी झन्झटबाट मुक्त हुन भएका भौतिक सेयर प्रमाणपत्रलाई प्रक्रिया पुर्याएर अभौतिक (डिम्याट) गर्नु लगानीकर्ताको कर्तव्य हो । सेयर बजारमा तत्काल कुल सेयर संख्या कति छ ? र, त्यसमध्ये कति सेयर डिम्याट भयो र लगानीकर्ताबाट कति डिम्याटमा आउन बाँकी छ त्यसको वास्तविक तथ्यांक सिडिएस कम्पनीको वेवपेजमा हेर्न सकिँदैन ।

न त डिम्याट खाता भएका वास्तविक खातावालाको संख्या नै सिडिएस कम्पनीले दिन सकेको छ । डिम्याट खाताको संख्याले सेयर बजारमा आवद्ध लगानीकर्ताको संख्यालाई प्रतिनिधित्व गर्दैन । वास्तविक तथ्यांक नदिने वा लुकाउने वा बजारमा अन्योल सिर्जना गराउने सिडिएस कम्पनीको नियत देखिन्छ । यसबाट के प्रष्ट हुन्छ भने यसको व्यवस्थापनमा समस्या छ ।

सेयर डिम्याट गर्दा लगानीकर्ताले कुनै पैसा तिर्नु पर्दैन । तर, कतिपय मर्जमा गएका वा नाम परिवर्तन भएका वा किनिएका कम्पनीको सेयर डिम्याट गराउने क्रममा सेयर डिम्याट गराउन आउने लगानीकर्ताबाट कम्पनीले तोकेका सेयर रजिस्टार (मर्चेन्ट बैंक वा क्यापिटल)हरुले पैसा कमाउने माध्यम बनाएको पाइयो । उदाहरणका लागि म कुनै क्यापिटलमा पुगेँ त्यहाँ लगानीकर्ता डिम्याट गर्न सेयर प्रमाणपत्र बोकेर आए । उक्त कम्पनीको नाम परिवर्तन भएको थियो । ती लगानीकर्ता आफुसँग भएको सेयर डिम्याट गर्नुअघि आफ्नो नाममा भएको कुल सेयर संख्या एकिन गर्न चाहन्थे । उनले क्यापिटलका कर्मचारीलाई भएको सेयर दिँदै आफ्नो खातामा कति सेयर छ हेरिदिन अनुरोध गरेँ ।

क्यापिटलका कर्मचारीले लगानीकर्ताको परिचय पत्र हेरि सेयरधनी उनै भएको प्रमाणीत गरे । कर्मचारिले उनको हातको प्रमाणपत्र गन्दै कम्पनीको रेकर्डमा हेरेर तपाईंको सेयर प्रमाणपत्र पुग्दैन भनी जवाफ फर्काए । लगानीकर्ताले भर्ने मसँग भएको प्रमाणपत्र यत्ति हो । घरमा कुनै प्रमाण पत्र छैन । कर्मचारीले पुन दोहोर्याएर भने ’हेरेर आउनु होस वा हराएको हुनुपर्छ ।

तर लगानीकर्ताले कुनै प्रमाणपत्र लिन बाँकी छ कि भनेर छापिएका बोनस वा हकप्रद सेयरका प्रमाण पत्र पल्टाउने वा हेर्नतिर लागेनन । लगानीकर्ताले मसँग छैन भनी यहीँ छ कि भनी बारम्बार दवाव दिएपछि छेवैमा बसेको अर्को कर्मचारीले भित्र छ कि हेर्देउ न त भने । उनी भित्र गएर निकैबेर पछि सेयर प्रमाणपत्रको बन्डल बोकेर आए ।

वास्तवमा ती लगानीकर्ताले कम्पनीबाट बोनस सेयर प्रमाणपत्र लिन छुटाएका रहेछन् । र, कम्पनीमै रहेछ । यति हुँदा पनि ति कर्मचारीले लगानीकर्तासँग माफी मागेनन् । लगानीकर्ता प्रमाणपत्र लिएर त्यहाँबाट निस्के ।

यस्तै प्रसंगमा अर्को क्यापिटलमा पनि अर्कै लगानीकर्ताको समस्यासँग जम्काभेट भयो । एक अपरिचित लगानीकर्ताले आफुसँग भएको कुनै कम्पनीको सेयर प्रमाणपत्र दिँदै खातामा भएको सेयर संख्या हेर्न अनुरोध गरे । कर्मचारीले तपार्इंको सेयर प्रमाणपत्र पुग्दैन भने र दोहोर्याइरहे । ती लगानीकर्ताले प्रमाणपत्र नहराएको र भएको यति नै हो भएको भन्दै जिद्धि कसे । क्यापिटलका कर्मचाारीले अन्य कुनै उपाय नलाई सीधै प्रमाणपत्र हराएको सुचना निकाल्न ५०० रुपैयाँ तिर्नुपर्छ भनी पैसा तिर्न अनुरोध गरे ।

लगानीकर्ता मानेन् र यहीँ हुनसक्छ भन्दै हेरिदिन अड्डी कसे । तर, कर्मचारीले हेर्ने प्रयाससम्म गरिरहेका थिएनन् । र, भन्दै थिए हराएको निवेदन दिनुहोस् र तीन महिनापछि आउनुहोस् । ती कर्मचारीसँग केही नलागेपछि उनले म्यानेजरसँग कुरा गर्छु भनेपछि एकपटक हेर्छु है त भनेर सेयर प्रमाणपत्र हेर्न लागे । वास्तवमा लगानीकर्ताले बोनस सेयर प्रमाणपत्र लगेकै रहेनछन् । प्रमाणपत्र कम्पनीमै रहेछ । यहाँपनि ती कर्मचारीले आफ्नो गलत अडानप्रति लगानीकर्तासँग माफी मागेनन् ।

दुइवटै मर्चेन्टमा भएका यी उस्तै प्रकारका समस्याको जम्काभेटको वास्तविकता के हो भनि बुझ्नेक्रममा थाहा भयो कि डिम्याट गर्न बाँकी सेयरका लागि लगानीकर्तालाई प्रमाणपत्र नपुगेको भन्ने र प्रमाणपत्र हराएको सुचनाका नाममा सेयर रजिस्टारले पैसा कमाउने माध्यम बनाएका रहेछन् ।

यस्तै अर्को समस्यासँग पनि मेरो साक्षातकार भयो । लगानीकर्ता कृषि विकास बैंकको सेयर प्रमाणपत्र बोकेर सम्बन्धित क्यापिटल पुगेका थिए । उनले कर्मचारीलाई प्रमाणपत्र दिँदै सोधे बैंकबाट यसको पैसा आउँछ रे, मैले त लगेको छैन कति आउछ ? कर्मचारीले सोधे कहिल्यै लानु भएको छ कि छैन ?

लगानीकर्ताः छैन । ल्याप्स त भएको छैन नि ।

कर्मचारीः ५ बर्षअघिको त ल्याप्स हुन्छ । पाउनु हुन्न ।

लगानीकताः ला ! अनि ५ वर्षको चाँही पाइन्छ ?

कर्मचारीः पाइन्छ ।

कृषि बिकास बैकका धेरै सेयरधनीले अझै पनि सेयर डिम्याट गराएका छैनन् । र, पुरानो लाभांश लिएका पनि छैनन् भन्ने मेरो अनुमान हो । के यी कर्मचारीले भने जस्तो ५ बर्षसम्म पनि नलिएको नगद लाभांश ल्याप्स हुने हो ? के यिनले सेयरधनीलाई सही सुचना दिइरहेका छन ?

जति बर्ष भए पनि नलगेको लाभांश कानुनत ल्याप्स हुँदैन । अनि यी कर्मचारीले सही सुचना दिइरहेका पनि छैनन् । यो मात्र हैन धेरै ठाँउमा यसरी नै लगानीकर्ता पाइला-पाइलामा गलत सुचनाको सिकार भइरहनु परेको छ ।

डिम्याट शुरु हुनुअघिको र अझै पनि डिम्याट नगराएका सेयरधनीको लाभांश सीधै बैंक खातामा जाँदैन । यदि कुनै लागानीकर्ताले ५ बर्षसम्म पनि नगद लाभांश नलिए उक्त लाभांश लगानीकर्ता संरक्षण कोषमा जाने कानुनी व्यवस्था छ । तर, उक्त लाभांश कोषमा गए पनि लगानीकर्ताले पाउँदै नपाउने वा ल्याप्स हुने भन्ने हुदैन । कोषमा गए पनि आफुले पाउनु पर्ने लाभांश पाउँ भनि कम्पनीमार्फत दावी गर्न सकिन्छ । जस्का लागि सम्बन्धित कम्पनी वा कम्पनीले तोकको सेयर रजिस्टार कहाँ निवेदन दिनुपर्ने लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा संचालन कार्यविधि, २०७३ ले व्यवस्था गरेको छ ।

त्यसपछि कोषबाट लागानीकर्ताको लाभांश कम्पनीले फिर्ता लिने र सम्बन्धित लगानीकर्तालाई दिने व्यवस्ता छ । तर, यहाँ वास्तविक सुचना नदिने वा काम गर्नका गारोका कारण सुचना लुकाएर लगानीकर्तालाई ठग्ने प्रवृत्ति बढ्दो छ । यी सेयर बजारका वास्तविक समस्याका केही प्रतिनिधि उदाहरण मात्र हुन् । यस प्रकारको प्रवृत्ति केवल सेयर रजिस्टारकहाँ मात्र नभई सेयर ब्रोकर, सिडिएस कम्पनी, निक्षेप सदस्य, नेपाल स्टक एक्सचेन्ज र धितोपत्र बोर्डजस्तो नियामक स्वयंमा पनि छ । को लड्दै छ सेयर बजारको लगानीकर्ताका यस्ता समस्याका बारेमा ?

(भट्टराइ सेयर विश्लेषक हुन । विश्लेषक भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर र क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्रयाजुएट र सेयर बजारका बारेमा क्यानेडियन सेक्युरिटिज कोर्ससमेत गरेका छन्। उनले सेयरबाट करोडपति, सेयर मन्त्र, नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयरको प्राविधिक विश्लेषण जस्ता कितावहरु लेखेका छन् ।)


क्लिकमान्डु