व्यवसाय विस्तारमा नेपाल लाइफ आक्रामक, अभिकर्तालाई नगदसहित जिन्सी इन्सेन्टिभ



काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यवसाय विस्तारका लागि अभिकर्तालाई विभिन्न खालका टाग्रेट दिएको छ ।

कम्पनीले पौष महिनाभरिका लागि अभिकर्तालाई टाग्रेट दिएको हो । कम्पनीले पौष १ गतेदेखि पौष ३० गतेसम्म टाग्रेट पुरा गर्ने अभिकर्तालाई नगदसहित जिन्सी इन्सेन्टिभ दिने जनाएको छ ।

कम्पनीमा कार्यरत अभिकर्ताहरुले आफ्नो अभिकर्ता कोडमा आर्जन गरेको प्रथम बीमाशुल्कको आधारमा इन्सेन्टिभ दिने भएको हो ।

१० हजार रुपैयाँसम्म प्रथम बीमाशुल्क संकलन गर्ने अभिकर्ताले नेपाल लाइफ अभिकर्ता व्याच, ४५ हजार रुपैयाँसम्म प्रथम बीमाशुल्क संकलन गर्ने अभिकर्ताले एक थान भ्याकुम फ्ल्याक्स पाउनेछन् ।

७५ हजार रुपैयाँसम्म प्रथम बीमाशुल्क संकलन गर्ने अभिकर्ताले २ हजार २५० रुपैयाँ नगद, एक लाख १० हजार रुपैयाँसम्म प्रथम बीमाशुल्क संकलन गर्ने अभिकर्ताले ३ हजार ३ सय रुपैयाँ र एक लाख ५० हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गर्ने अभिकर्ताले ४ हजार ५ सय रुपैयाँसम्म नगद पाउने कम्पनीले जानकारी दिएको छ ।

एक लाख ५० हजार रुपैयाँभन्दा माथि प्रत्येक थप एक लाख रुपैयाँ प्रथम बीमाशुल्कमा थप ३ हजार रुपैयाँ नगद इन्सेन्टिभ दिइने कम्पनीको भनाइ छ । कम्पनीले ५ लाख रुपैयाँ वा सोभन्दा बढी प्रथम बीमाशुल्क दिने अभिकर्ताहरुलाई एक थान लेदर ब्याग दिने छ ।

१० लाख रुपैयाँ वा सो भन्दा बढी प्रथम बीमाशुल्क संकलन गर्ने अभिकर्ताहरुलाई लोटरी समावेश गरी १ जना विजेता अभिकर्तालाई एक थान हिरो स्प्लेण्डर मोटरसाइकल उपलब्ध गराउने छ ।

पौष महिनामा हुने अभिकर्ता तालिममा ५ जना नयाँ अधिकर्ता सहभागिता गराई कम्तिमा ३ जना अभिकर्ताहरुर्ला सक्रिय गराई ती अभिकर्ताहरुबाट ५० हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गराउने व्यवसाय संयोजकहरुलाई एक थान भ्याकुम फ्लेक्स दिने कम्पनीले बताएको छ ।

एजेन्सी म्यानेजरका लागि समेत कम्पनीले टाग्रेट दिएको छ । पौष महिनाभरि नियुक्त भएका अथवा नविकरण भएका एजेन्सी म्यानेजरलाई समेत कम्पनीले इन्सेन्टिभ दिने भएको छ ।


क्लिकमान्डु