लयमा फर्किँदै घरजग्गा कारोबार, ७ अर्ब राजस्व संकलन



काठमाडौं । चाडपर्वका कारण खस्किएको घरजग्गा कारोबार विस्तारै लयमा फर्केको छ । असोज, कात्तिकमा चाडपर्वले गर्दा कारोबारमा निकै असर पुगेको थियो । जसले गर्दा कारोबार निकै कम भएको थियो ।

तर, चाडपर्वको माहोल सकिने वित्तिकै मंसिर महिनामा घरजग्गा कारोबार लयमा फर्केको छ । गत कात्तिक महिनामा कोभिडपछिकै कम घरजग्गा कारोबार भएको थियो । मासिक ६० हजारभन्दा बढीको हाराहारीका घरजग्गा कारोबार हुँदै आएकोमा कात्तिकमा भने चाडपर्वका कारण घरजग्गा कारोबार कम भएको भूमि, व्यवस्थापन तथा अभिलेख विभागले जनाएको थियो ।

विभागको तथ्याङ्क हेर्दा मंसिर महिनामा घरजग्गा कारोबार लयमा फर्किएको छ । मंसिर महिनामा देशभरको १ सय २६ वटा मालपोत कार्यालयबाट १ लाख ६९ हजार ८ सय सेवा प्रवाह भएकोमा ६९ हजार ४ सय १२ घरजग्गा किनेबेच भएको छ ।

मंसिरमा देशभरका मालपोत कार्यालयबाट ६९ हजार घरजग्गा लिखित पारित हुँदा ४४ सय ५५ नामसारी, ४४ सय ८२ संशोधन, ४१ हजार ७० रोक्का, २७ हजार ८५० फुकुवा र १ हजार ७ दाखिला खारेज गरेको विभागको तथ्याङ्कले देखाउँदछ ।

विभागकाअनुसार गत असोज र कात्तिकमा चाडपर्वमा सेवा प्रवाहमा समस्या हुँदा कारोबार कम भएको थियो । तर, मंसिर लगत्तै लयमा फर्केको विभागको भनाइ छ ।

मंसिरमा सबैभन्दा बढी मोरङ मालपोत कार्यालयबाट बढी घरजग्गा किनबेच भएको छ । सो मालपोत कार्यालयबाट ३ हजार ८७ घरजग्गा किनबेच भएको छ । त्यस्तै, इनरुवा सुनसरीबाट ३ हजार ४१, भद्रपुर झापाबाट २५ सय ८८, नेपालगञ्ज बाँकेबाट २४ सय ५४, भक्तपुरबाट २१ सय ४७, लगनखेलबाट २ हजार ४३, चितवनबाट १७ सय र काभ्रेपलाञ्चोकबाट १७ सय ३७ घरजग्गको किनबेच भएको छ ।

७ अर्ब राजस्व संकलन

कात्तिक महिनामा सेवा प्रवाहसँगै राजस्व संकलनमा गिरावट आएको थियो । जसमा विभागले देशभरबाट कत्तिकमा महिनामा साढे ५ अर्ब राजश्व संकलन गरेको थियो ।

यस्तै, मंसिरमा कारोबार उल्लेख्य भएसँगै ७ अर्ब ६ करोड ६५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । विभागले सेवा करवापत २६ करोड ४३ लाख, बागमतीवापत २३ करोड ३२ लाख, रजिष्ट्रेशन दस्तुरबाट ४ अर्ब २२ करोड ७९ लाख, पूँजीगत लाभ करवापत १ अर्ब ६७ करोड ८४ लाख रुपैयाँ र अन्य विभिन्न विधा सो राजस्व संकलन गरेको हो ।

राजस्वको आधा हिस्सा उपत्यकाको

देशभरको मालपोत कार्यालयबाट ७ अर्ब राजस्व संकलन भएको अवस्थामा उपत्यकाका मालपोत कार्यालयबाट मात्रै आधा हिस्सा रहेको छ ।

उपत्यकाका ८ वटा मालपोत कार्यालयबाट मात्रै मंसिर महिनामा ३ अर्ब ७ करोड ८६ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

उपत्यकाका मालपोत कार्यालयमध्ये सबैभन्दा बढी लगनखेल मालपोत कार्यालयबाट ६७ करोड ७६ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै, कलंकीबाट ५८ करोड ५२ लाख, डिल्लिबजारबाट ४६ करोड ६४ लाख, भक्तपुरबाट ४५ करोड ८८ लाख, चावहिलबाट ४५ करोड ३५ लाख, साँखुबाट १६ करोड ८३ लाख, मनमैजुबाट १५ करोड ४२ लाख र टोखाबाट ११ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

उपत्यकाबाहिर चितवन अगाडि

त्यसैगरी उपत्यकाबाहिर भने राजस्व संकलनमा चितवन अगाडि रहेको छ । मंसिर महिनामा चितवनबाट १९ करोेड ३१ लाख, कास्कीबाट १५ करोड ५८ लाख, विराटनगरबाट १३ करोड ६६ लाख, इनरुवा सुनसरीबाट १२ करोड ९७ लाख, रुपन्देहीबाट ११ करोड २४ लाख, पर्साबाट १० करोड ३४ लाख र मकवानपुरबाट १० करोड ४३ लाख रुपैयाँ राजस्व संकलन भएको तथ्याङ्कले देखाउँदछ ।


क्लिकमान्डु