संकटमा अर्थतन्त्रः अर्थमन्त्री ‘अर्थ न बर्थको’ भाषणमै मस्त, प्रधानमन्त्री कांग्रेसको चुनावी गणितमा व्यस्त



काठमाडौं । नेपालको अर्थतन्त्र निकै नै संकटमा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ४ महिनामा शोधानान्तर घाटा १ खर्ब ५० अर्ब पुगेको छ ।

एक महिनामा शोधानान्तर घाटा दोब्बरभन्दा बढेको छ । असोज मसान्तसम्म ७६ अर्ब १४ करोडले घाटामा थियो ।

अर्थमन्त्री जनार्दन शर्मा अर्थ अनर्थको भाषण गर्दै हिँडिरहेका छन् भने प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको चुनावी गणितमै व्यस्त छन् । देउवा प्रधानमन्त्री भएदेखि नै कांग्रेसको आन्तरिक अधिवेशनको अंकगणित मिलाउन व्यस्त देखिए ।

तर, अर्थतन्त्रका सूचकले भने स्थिती निकै नै डरलाग्दो अवस्था देखिएको छ ।

उच्च आयात तथा घट्दो रेमिट्यान्सले विदेशी सन्चिती घट्दै गएको देखिएको छ । २०७८ असार मसान्तमा १३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.० प्रतिशतले कमी आई २०७८ कात्तिक मसान्तमा १२४४ अर्ब ८५ करोड कायम भएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ कात्तिक मसान्तमा १०.९ प्रतिशतले कमी आई १० अर्ब ४७ करोड कायम भएको छ ।

आर्थिक वर्ष २०७८÷७९ को चार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.९ महिनाको वस्तु आयात र ७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

एक महिनामा नै ५१ करोड अमेरिकी डलरले विदेशी सन्चिती घटेको छ । असोज महिनाको तुलनामा कात्तिक महिनामा ५१ करोड डलर कम हो। असोजमा नेपालसँग १० अर्ब ९८ करोड बराबरको डलर सञ्चिति थियो ।

नेपाली मुद्रामा डलर सञ्चिति एकै महिनामा ७४ अर्ब ४७ करोड रुपैयाँले घटेको छ । असोजमा १३ खर्ब १९ अर्ब ३२ करोड रहेको डलरको सञ्चिति कात्तिकमा १२ खर्ब ४४ अर्ब ८५ करोड रुपैयाँमा झरेको छ ।

नेपाल राष्ट्र बैंकले ७ महिनाको वस्तु तथा सेवा आयात धान्ने विदेशी सन्चिती राख्नुपर्ने लक्ष्य राखेको हुन्छ ।

नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागमा लामो समत बिताएका अर्थविद् नरबहादुर थापा विदेशी सन्चितीको प्रयाप्तता ७ महिनाको नजिक पुग्नुलाई खतराको संकेत बढेको स्थितीको रुपमा हेर्नुपर्ने बताए ।

‘शोधानान्तर घाटा १ खर्ब ५० अर्ब रुपैयाँ हुनु तथा विदेशी सन्चिती राष्ट्र बैंकले राख्ने भनेको न्यूनतम लक्ष्यको नजिक पुग्दा अर्थतन्त्रमा गंभीर संकटतर्फ उन्मूख छ भन्ने संकेत गरेको छ,’ थापाले भने ।


पुष्प दुलाल