कात्तिक मसान्तसम्म २ खर्ब ५ अर्ब सहुलियतपूर्ण कर्जा प्रवाह



काठमाडौं । सहुलियतपूर्ण कार्जा कार्यविधि २०७५, लागु भएयता चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म २ खर्ब ५ अर्ब २ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ४ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार कात्तिक मसान्तसम्ममा १ लाख ३३ हजार ९३० ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको हो ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५५ हजार ११६ ऋणीलाई १ खर्ब ३० अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ७६ हजार २० महिला उद्यमीलाई ७१ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७८ कात्तिक मसान्तमा मात्र १ खर्ब २० अर्ब ११ करोड रुपैयाँ लगानीमा रहेको छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ७ सय ९४ ऋणीको ३ अर्ब ६४ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ ।

त्यस्तै “व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ कात्तिक मसान्तसम्ममा १ अर्ब ७ करोड रुपैयाँ स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु