कोरियन सरकारको सहयोगमा सरकारले विकास निर्माण सम्बधी शिक्षालय स्थापना गर्ने



काठमाडौं । कोरियन सरकारको अनुदानमा सरकारले प्रदेश २ मा विकास निर्माणसँग सम्बन्धित संस्थान स्थापना गर्ने भएको छ ।

कोरिया सरकारले विकास र निर्माण क्षेत्रमा गरेको प्रगतिलाई आत्मसाथ गर्दै सरकारले ‘इस्टाब्लिष्ट अफ पोलिटेक्निक इस्टिच्युट फर कन्सटक्सन वर्कफोर्स डेभलपमेट’ संस्थान स्थापना गर्न लागेको हो । यो संस्थान सीटीभीटी मोडलको हुने बताइएको छ ।

उक्त सम्झौतापत्रमा बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव मधुसुधन मरासिनी र नेपालका लागि कोरियन राजदूत पार्क चोङ–सुकले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार उक्त संस्थान स्थापना गर्न कोरियान सरकारले अनुदान स्वरुप १ अर्ब ३ करोड रुपैयाँ उपलब्ध गराउने छ । उक्त आयोजनाका लागि अनुदान रकम कोइकामार्फत ७ वर्षभित्रमा कोरिया सरकारले उपलब्ध गराउने सम्झौता भएको मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

कार्यक्रममा बोल्दै अर्थसचिव मरासिनीले यो सम्झौताले प्रदेश २ को विकासमा सहयोग पुग्ने बताए ।

‘प्रदेश २ मानव विकास सुचकाङ्कमा कमजोर छ । यो सम्झौताले प्रदेश २ को विकासमा सहयोग पुग्छ,’ उनले भने, ‘प्रदेश २ बाट वैदेशिक रोजगारीमा जाने जनशक्ति धेरै छ । यो संस्थान स्थापनापछि त्यहाँको जनशक्ति सीप सिकेर त्यही परिचालन हुने हुँदा यो सम्झौता महत्वपूर्ण छ ।’

त्यस्तै यो संस्थानमा सबै प्रदेशबाट प्रशिक्षार्थीहरु सहभागी हुन सक्छन् । सम्झौताले निर्माण क्षेत्रमा सक्षम जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


क्लिकमान्डु