प्रचण्डको अभिव्यक्तिपछि लगानीकर्ता पुगे माधव नेपाल भेट्न, के भने नेपालले ?



काठमाडौं । नेपाल पुँजीबजार लगानीकर्ता संघले नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाललाई भेटेका छन् ।

गत शनिवार सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेयर बजार विरोधी अभिव्यक्ति दिएपछि बजारमा पहिरो गएको छ ।

अध्यक्ष प्रचण्डले सबै प्रदेशको प्रदेश सम्मेलनलाई एकैसाथ उद्घाटन गर्दै पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा लगानी हुनु सामराज्यवादको विकसित रुप भएको दाबी गरेका थिए । उनको त्यो भनाईले बजारलाई प्रभाव पारेको भन्दै चर्को आलोचना भएको छ ।

प्रचण्डको आलोचना भइरहेको बेला संघले सत्ता साझेदार दल नेकपा एसका अध्यक्षलाई भेटेका हुन् । भेटमा अध्यक्ष नेपालले बजारको विषयमा प्रचण्डले जानेर हो वा अन्जानमा बोलेको हो त्यस विषयमा आफूले कुरा गर्ने बताएका छन् ।

नेपाललाई उदृत गर्दै संघकी अध्यक्ष राधा पोखरेलले भनिन् ‘उहाँले के बोल्नु भएको रहेछ, जानेर बोल्नु भएको हो की अन्जानमा बोल्नु भएको रहेछ म बुझ्छु, सेयर लगानीकर्ताको अहितमा हुने कुनै खाले पनि पनि हुनुहुँदैन । यो विषयमा म प्रचण्डसँग गम्भिर रुपमा छलफल गर्ने छु ।’

पोखरेलका अनुसार अध्यक्ष नेपालले बजारको विषयमा आफू गम्भिर रुपमा लाग्ने र अहिले लगानीकर्ताले भोगिरहेको समस्या समाधान गर्न प्रयत्न गर्ने बताए ।

भेटमा संघले अहिले सरकारको नीति र केही व्यक्तिको भनाईको कारण पनि बजारमा गिरावट आएको जानकारी गराएको छ । नेता नेपालले नीतिगत रुपमा केही कमजोरी भएको खण्डमा त्यसलाई सुधार गर्न आफुले सदैव प्रयत्न गर्ने बताएका छन् ।

भेटमा संघले राष्ट्र बैंकले मौद्रिक नीतिबाट लागू भएको ४/१२ को सिमा खारेज गर्नुपर्ने, धितोपत्र बोर्ड र नेप्सेमा तत्काल अध्यक्ष र सिइओ नियुक्त गर्न, बैंकका सहायक कम्पनीलाई ब्रोकरको लाईसेन्स दिन, ब्रोकर मार्फत मार्जिन सेवा तत्काल सुरु गर्न, बजारको हितमा हुने अभिव्यक्ति दिन सुझाव दिएको छ ।


क्लिकमान्डु