विदेशी अनुदान प्रतिवद्धता ११ अर्ब रुपैयाँले घट्यो



काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को मंसिर २५ गतेसम्म ५ अर्ब ८१ करोड २० लाख रुपैयाँ वैदेशिक सहायता प्रतिवद्धता आएको छ । यो गत आवको तुलनामा ११ अर्ब १३ करोड ३० लाख रुपैयाँ कम हो ।

अर्थ मन्त्रालयका अनुसार गत आव २०७७/७८ मंसिर २५ गतेसम्म विभिन्न शीर्षकमा १६ अर्ब ९४ करोड ५० लाख रुपैयाँ वैदेशिक अनुदान प्रतिवद्धता आएको थियो ।

अर्थविद् डा. जितेन्द्र उपाध्ययका अनुसार कोभिड-१९ ले गर्दा विश्व अर्थतन्त्रमा नै नकारात्मक प्रभाव परेकाले वैदेशिक सहायता प्रतिवद्धतामा कमी आएको हो ।

अहिले दाता देशहरु नै समस्यामा परेकाले वैदेशिक लगानी प्रतिवद्धतामा कमी आएको उनको भनाइ छ ।

‘कोभिड–१९ ले गर्दा प्रत्येक देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको छ, आफ्नै देशको अर्थतन्त्रको अवस्था नाजुक भएकाले हाम्रो देशमा दिने गरेको ऋण वा सहायत प्रतिवद्धतामा कमी आएको हो,’ उपाध्यायले क्लिकमाण्डूसँग भने ।

अहिलेको सरकार दाताहरुकै फेबरको भएकाले सरकारका कारण सहायता प्रतिवद्धतामा कमी नआउने उपाध्यय बताउँछन् ।

‘सरकार परिवर्तनले तत्कालिन समयका लागि कुनै फरक पारेको छैन् । अहिलेको सरकार हामीलाई सहयोग गर्ने देशहरुकै फेबरमा छ । सहायता प्रतिवद्धतामा कमी आउनुको कारण मुख्य त दाताहरुको आफ्नै समस्या हो,’ उनले भने ।

यसैगरी गत वर्षको तुलनामा वैदेशिक प्रतिवद्धता घट्नुमा अरु कारण नभएर गत वर्ष कोभिड रोकथामका लागि बढी अनुदान आएकोले यो वर्षको सोही अवधिमा कम जस्तो देखिएको अर्थ मन्त्रालयको भनाइ छ ।

अर्थ मन्त्रालयका प्रवक्ता रितेश शाक्यका अनुसार अनुदान रकम केही सम्झौताको चरणमा भएकाले केही महिना भित्र नै अनुदान प्रतिवद्धता बढ्ने छ ।

‘अहिले अनुदान प्रतिवद्धता सम्झौता पाइपलाइनमा छ । अहिले फर्मेसनमा नभएको मात्र हो । हामीसँग ठूलै रकम छ । एक दुई महिनामा नै रिजल्ट आउँछ,’ उनले भने ।

वैदेशिक ऋण र अनुदानको तुलना गर्न नसकिने भएकाले विदेशी दाताको समय तालिका अनुसार ऋण वा सहायता उपलब्ध हुने हुँदा यो वर्ष गत वर्ष कै हाराहारीमा अनुदान रकम आउछ वा आउँदैन एकिन गर्न नसकिने शाक्यको भनाइ छ ।

‘ऋण वा अनुदान कति आयो भनेर तुलना गर्ने हाम्रो अभ्यास छैन् । ऋण र अनुदानको तुलना गर्न पनि छकिँदैन । यो भनेको समय तालिका अनुसार एउटै महिनामा धेरै पनि हुनसक्छ,’ उनले भने, ‘कहिलेकाहीँ बीचमा ग्यापजस्तो पनि हुन्छ ।’

चालु आर्थिक वर्षको मंसिर २५ गतेसम्म वातावरण शीर्षकमा ३ अर्ब ३३ करोड ९० लाख रुपैयाँ प्रतिवद्धता आएको छ । यो रकम गण्डकी नदी आसपासका जोखिममा परेका समुदाय र जलवायु परिवर्तन सुधार आयोजनाका लागि सम्झौता भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोभिड नियन्त्रणका लागि ५९ करोड ६० लाख रुपैयाँ सहायता प्रतिवद्धता भएको छ । गत वर्षको सोहि अवधिमा यो शीर्षकमा १ अर्ब ३२ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिवद्धता आएको थियो ।

मन्त्रालयका अनुसार १ अर्ब ८७ करोड ९० लाख रुपैयाँ दिगो र सीपमूलक जनशक्ति विकासका लागि वैदेशिक सहायता प्रतिवद्धता सम्झौता भएको छ ।

गत बर्षको मंसिर २५ गतेसम्ममा शिक्षा, ऊर्जा, कोभिड नियन्त्रण, कृषि, वन तथा वातावरण शीर्षकमा सहायता प्रतिवद्धता आएको थियो । गत आवको अन्त्यसम्ममा २७ अर्ब ३८ करोड ६० लाख रुपैयाँ वैदेशिक लागानी प्रतिवद्धता आएको थियो ।


क्लिकमान्डु