पाँच महिनामा वैदेशिक लगानी प्रतिवद्धता ३० अर्ब, ४१ प्रतिशतले वृद्धि



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)को प्रतिवद्धतामा ४१ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिको तुलनामा एफडीआईमा वृद्धि भएको हो ।

वैदेशिक लगानीको स्वीकृति गर्ने निकाय उद्योग विभागको चालु आर्थिक वर्ष २०७८/८९ को साउनदेखि मंसिर (२४गते) सम्मको तथ्यांकअनुसार २९ अर्ब ८५ करोड २ लाख रुपैयाँको एफडीआईको प्रतिवद्धता आएको छ ।

यो गतवर्षको सोही अवधिको तुलनामा ४०.७७ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा २१ अर्ब २० करोड ३९ लाख ६० हजार रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता आएको थियो ।

चालु आवको पाँच महिनामा १२ वटा देशबाट १२० वटा परियोजनामा लगानी गर्ने प्रतिवद्धता आएको छ । जसमा ७ हजार ७ सय ३८ जनालाई रोगारीको दिने उल्लेख छ ।

यस अवधिमा सबैभन्दा धेरै चीनबाट १०१ परियोजना संचालन गर्ने प्रतिवद्धता आएको छ । जसमा २३ अर्ब ५ करोड ४० लाख रुपैयाँको लगानी र ६ हजार ६ सय १५ जनालाई रोजगारीको दिने प्रतिवद्धता छ ।

चीनपछि सबैभन्दा धेरै स्पेनमा लगानीको प्रतिवद्धता आएको छ । स्पेनबाट ४ अर्ब ८५ करोडको लगानीको प्रतिवद्धता छ । त्यस्तै सिंगापुरबाट १ अर्बको लगानीको प्रतिवद्धता आएको छ ।

लगानीका प्रतिवद्धता आएका अन्य देशहरुमा फ्रान्स, भारत, इटाली, जापान, स्वीटजरल्याण्ड, नेदरल्याण्डस्, बेलायत, अमेरिका र भेतनाम छन् ।

गत वर्षका सोही अवधिमा ११ देशले ११५ उद्योग स्थापना गर्ने र त्यसमा ३ हजार ३ सय ६१ रोजगारी दिने प्रतिवद्धता जनाइएको थियो ।

गत वर्ष पनि सबैभन्दा धेरै चीनबाट ९८ परियोजनामा १७ अर्ब ५७ करोडभन्दा धेरैको लगानी गर्ने प्रतिवद्धता जनाइएको थियो ।

चालु आवको मंसिर महिनामा मात्रै ५ अर्ब ५ करोडको एफडीआई आएको छ । यो महिना सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा ५ करोड लगानीको एउटा कम्पनी दर्ता भएको छ । उत्पादनमूलक, सेवा र पर्यटन उद्योगमा एकएक उद्योग स्थापनाको लागि दर्ता भएका छन् ।

यो वर्ष सबैभन्दा धेरै सेवा क्षेत्रमा लगानीका प्रतिवद्धता आएको छ । सेवा क्षेत्रमा १५ अर्ब ९५ करोडको लगानीमा ३५ वटा उद्योग स्थापना गर्ने प्रतिवद्धता छ । त्यसपछि पर्यटन क्षेत्रमा ९ अर्ब ५५ करोड, उत्पादनमूलक क्षेत्रमा ३ अर्बका लगानी ५५ वटा परियोजना स्थापना गर्ने प्रतिवद्धता आएको छ ।

चालु आवको पाँच महिनामा आएको प्रत्यक्ष लगानीको प्रतिवद्धता झन्डै गत वर्षभरी आएको लगानी बराबर छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा मुलुकमा ३० अर्ब ७० करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता आएको थियो । उक्त वर्ष १८ वटा देशबाट १८२ परियोजनामा लगानी गर्ने प्रतिवद्धता आएको थियो । गत वर्ष सबैभन्दा धेरै चीनबाट २२ अर्ब ३४ करोडको लगानीको प्रतिवद्धता आएको थियो ।

पछिल्ला वर्षमा विश्वभर फैलिएको कोरोना संक्रमणले आर्थिक अवस्था कमजोर भएको छ । लगानी विस्तारमा अवरोध आएको छ । कोरोना संक्रमणका कारण पछिल्ला वर्षमा वैदेशिक लगानी प्रतिवद्धता घटेको थियो ।

तर, चालु आर्थिक वर्ष लागेसँगै जनजीवन सामान्य भएको छ । यसले स्वदेशी र विदेशी लगानीको प्रतिवद्धतामा सुधार भएको छ ।


क्लिकमान्डु