माग भएका कुनैपनि सम्पदाको पुननिर्माण छुटेको छैन : प्रमुख शाक्य



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले माग भएका कुनैपनि सम्पदाको पुननिर्माणकाे काम नछुटेको दाबी गरेका छन् ।

उनले काठमाडौँ महानगरभित्र पुननिर्माण गर्नु पर्ने सबैजसो सम्पदा पुननिर्माण भएका र केही निर्माण भइ सकेको बताए । यस्तै केही निर्माणका क्रममा रहेको र केही सम्पदा स्थानीय विवादका कारण अगाडि बढ्न नसकेको दाबी गरे । कतिपय सम्पदा गुठी संस्थान र पुरातत्व विभागको स्वामित्वमा भएका कारण प्रक्रियामा जान सकेका उनको भनाई छ । अन्य सम्पदामा महानगरले आफ्नै लगानीमा पुननिर्माण गरिरहेको जानकारी गराए ।

‘अहिले शिलान्यास भएका कुनै पनि काम रकम नभएर निर्माण रोकिँदैन’ उनले भने ‘त्यसका लागि महानगरले योजनाअनुसारको रकम विनियोजन गरिसकेको छ ।’
शुक्रबार वडा नम्बर २१ लगनटोलमा रहेको कीर्तिपुण्य महाविहार, च्वाकँ वही आँगछें शिलान्यास भएको छ ।
शिलान्यास गर्दै शाक्यले पुननिर्माण गरिएका सम्पदा आउँदा सय बर्षसम्म सामान्य मर्मत गरे पुग्ने बताए ।

पुननिर्मित सम्पदाको गुणस्तरका विषयमा ध्यान दिएको भन्दै प्रमुख शाक्यले बितेको कार्यकालमा तत्काल प्रभाव देखिने र दिगो कालसम्म रहिरहने योजनालाई प्राथमिकता दिएर सञ्चालन गरेको बताए ।

कार्यक्रममा बाग्मती प्रदेश सभाका सदस्य डा. अजयक्रान्ति शाक्यले, काठमाडौँ महानगरले अन्तरसरकार समन्वयबाट पूर्वाधार निर्माण र सम्पदा पुननिर्माणमा उल्लेखनीय काम गरेको आफूलाई महसुस भएको बताए ।

करिब १ करोड ५४ लाख रुपैयाँ लागतमा निर्माणका लागि करिब १ करोड ५ लाख रुपैयाँ कबोल गरेर समन्द्री कन्स्ट्रसनले महाविहारको निर्माण गर्ने छ । हनुमान ढोका दरबार संरक्षण कार्यक्रमबाट कार्यान्वयन भएको पुननिर्माण २०७९ कात्तिक १० गतेभित्र सम्पन्न गर्नुपर्नेछ । ३ तले भवनको हरेक तला करीव ६३० बर्गफुटको हुनेछ ।


क्लिकमान्डु