नाडा चुनावः गाडी बिक्रेता विभाजित, चौधरी र थापालाई कस्को समर्थन ?



काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) यतिबेला चुनावी महोलले तातेको छ ।

नाडाको आगामी कार्यसमितिको नेतृत्वका लागि नाडाका पूर्वउपाध्यक्ष ध्रुव थापा र वर्तमान कार्यसमितिका उपाध्यक्ष करण चौधरी चुनावी माहोलमा होमिएका छन् । उनीहरुले प्यानल समेत घोषणा गरिसकेका छन् ।

दुबै पक्षले आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहँदा कसले कस्लाई समर्थन गर्छन् भन्ने विषय चाखलाग्दो बनेको छ ।

हाल ध्रुव थापा समूहले सार्वजनिक गरेको टीम र करण चौधरी समूहले बनाएको टीम हेर्दा ठूला ब्राण्ड बिक्री गर्नेहरुको साथ चौधरीलाई देखिएको छ भने केही तटस्थपनि देखिएका छन् ।

कस्लाई कस्को साथ
नाडाका वर्तमान कार्यसमितिका अध्यक्ष कृष्ण दुलाल चौधरीको समर्थनमा खुलिसकेका छन् ।

करण चौधरीको टीमबाट टाटा मोटर्सको नेपालको आधिकारिक बिक्रेता सिप्रदीका सीइओ राजनबाबु श्रेष्ठ चुनाव लड्दैछन् । सिप्रदीका भाइस प्रेसिडेन्ट तथा नाडाका पूर्वअध्यक्ष शम्भु दाहाल चौधरीको पक्षमा खुलिसकेका छन् ।

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको समर्थन चौधरीलाई छ । ढकालका छोरा निशान ढकाल चौधरीको टीमबाट चुनाव लड्दैछन् । ढकाल अशोक लेल्याण्ड गाडी बिक्री गर्ने कम्पनी आइएमई मोटर्सका निर्देशक हुन् ।

हिरो ब्राण्डको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङका प्रबन्ध निर्देशक अभिक ज्योतिको समर्थन पनि चौधरीको टीमलाई छ ।

नाडाका वर्तमान कार्यसमितिका महासचिव सुनिल रिजाल र सचिव अनुप बराल, प्रकाश कपुरीहरु पनि चौधरीको टीमबाट चुनाव लड्दैछन् । त्यसैगरी यामाहा नेपालका प्रबन्ध निर्देशक मिलनबाबु मल्ल पनि चौधरीको टीमबाट चुनाव लड्दैछन् ।

त्यसैगरी महिन्द्र गाडीको बिक्रेता अग्नी इन्कर्पोरेटेड प्रालिका सेल्स जनरल म्यानेजर बरदान बस्नेत पनि चौधरीको टीममा छन् ।

त्यस्तै, अर्का उम्मेद्वार ध्रुव थापालाई नाडाका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठको समर्थन छ ।
अञ्जन श्रेष्ठको कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाइ ब्राण्डका गाडी बिक्री गर्दै आएको छ । श्रेष्ठका भाई निराकार श्रेष्ठ थापाको टीमबाट चुनाव लड्दैछन् । उनको कम्पनीले हालै विद्युतीय सवारी साधन पनि बिक्री गर्दै आएको छ ।

यस्तै पछिल्लो समयमा दुई पांग्रे सवारी साधनमा आक्रामक व्यापार गरिरहेको टीभीएस ब्राण्डको आधिकारिक बिक्रेता जगदम्बा अटोमोबाइल्सका उपाध्यक्ष दीपक अग्रवालले पनि थापाको टीमबाट चुनाव उठ्दैछन् । त्यस्तै, फोर्ड गाडीको बिक्रेता आकाश गोल्छा पनि थापाको टीममा छन् ।

पछिल्लो समय विद्युतीय सवारी साधनमा आक्रामक व्यापार गरिरहेको बीवाईडी कम्पनीकी यमुना श्रेष्ठ थापाको प्यानलबाट चुनाव लड्दैछिन् ।

शेखर गोल्छा र सौरभ ज्योति तटस्थ
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा हालसम्म कुनै पनि समूहमा खुलेका छैनन् । नाडाका पूर्वअध्यक्ष समेत रहेका गोल्छाको कम्पनीले हंसराज एण्ड हुलास चन्द कम्पनी बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हो । कम्पनीको मुलुकभर ठूलो संख्यामा डिलरको नेटवर्क छ ।

यस्तै, होन्डा मोटरसाइकलको बिक्रेता स्याकर कम्पनीका प्रबन्ध निर्देशक तथा नाडाका पूर्वअध्यक्ष समेत रहेको सौरभ ज्योतिले पनि कसैलाई समर्थन गरिसकेका छैनन् ।

नाडाका पूर्वअध्यक्षद्वय गोल्छा र ज्योतिको समर्थन जुन समूहले पाउँछ निर्वाचनमा उसको पल्ला भारी हुने निश्चित छ ।


क्लिकमान्डु