नाडामा रातारात कस्ले थप्यो २२४७ मतदाता ?



काठमाडौं । नेपाल अटोमोवाइल्स डिलर एसोशिएसन (नाडा) मा अस्वाभाविकरुपमा मतदाता थपिएको छ । रातारात साढे ३ सय प्रतिशतले मतदाताको संख्या थपिएपछि नाडाका पूराना सदस्यहरु आश्चर्यचकित परेका छन् ।

यसअघि २०७६ साल पुस १५ गते भएको नाडाको निर्वाचनमा जम्मा ९६९ जना मतदाता थिए । उक्त निर्वाचनले कृष्ण दुलाललाई अध्यक्षमा निर्वाचित गरेको थियो ।

तर, यो निर्वाचनमा मतदाताको संख्या ३२१६ जना पुर्याइएको छ । निर्वाचन यही मंसिर २३ गते हुँदैछ । आगामी निर्वाचनमा अध्यक्ष पदका लागि करण चौधरी र ध्रुव थापाले प्यानलनै खडा गरेर उम्मेद्वारी घोषणा गरिसकेका छन् ।

‘नाडामा चुवानी प्रयोजनका लागि जथाभावीरुपमा सदस्यता वितरण गरिएको छ,’ एक पूर्वअध्यक्षले भने, ‘यहीले संस्था भद्रगोलमात्रै बनाउँदैन, नाडाको गरिमामा समेत गम्भीर आँच पुर्याउँछ ।’

कम्पनी दर्ताको प्रमाणपत्र र प्यान नम्बर भएपछि साइकलको हावा भर्ने ठाउँलाई समेत नाडाको सदस्य बनाएको आरोप लागेको छ । नाडाको सदस्य बन्न जम्मा ३५ सय रुपैयाँ लाग्छ ।

‘साइकलको हावा भर्ने पसलेलाई पनि नाडाको सदस्य बनाइएको छ,’ ती पूर्वअध्यक्षले भने, ‘अहिलेको नेतृत्वले संगठनको आकार ठूलो बनाएको देखाउन गर्नै नहुने काम गरेको छ ।’

नेपाल उद्योग वाणिज्य महासंघको एसोसियटतर्फका मतदाता मुस्किलले हजारको संख्यामा छन् । तर, नाडामा भने रातारात २२४७ नयाँ मतदाता थपेर कूल मतदाताको संख्या ३२१६ पुर्याइएको छ ।

‘पहिला त धेरै मतदातालाई चिनिन्थ्यो,’ पदाधिकारीका एक उम्मेद्वारले भने, ‘यो साल त कसैले कसैलाई चिन्न सक्ने अवस्था छैन ।’

पछिल्लो समय नाडा नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व जन्माउने बलियो संस्थाको रुपमा स्थापित भएको छ । सवारीसाधन व्यापारीहरुको संस्था भएकाले नाडाको नेतृत्व ग्ल्यामरको विषय पनि बन्दै गएको छ ।

तर, यसरी अन्धाधुन्ध सदस्य थप्ने हो भने संस्थाको गरिमा नै संकटमा पर्ने भन्दै नाडालाई मायाँ गर्ने पूराना सदस्यहरुले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

नाडाका अध्यक्ष कृष्ण दुलालले भने जथाभावी सदस्यता वितरण नभएको दाबी गरे । पहिले ठूला व्यवसायी हावी भएको नाडामा अहिले साना व्यवसायीहरुले पनि स्थान पाएको उनको जिकिर छ । दुलालका अनुसार हाल नेपालभर अटो मोबाइल क्षेत्रमा ठूला र साना गरी १० हजार व्यवसायी छन् ।

‘७ वटा प्रदेशमा कार्यसमिति गठन भएका छन् संघीय ससंरचनाअनुसार नाडाको विधान परिवर्तन गरी कार्यसमिति तथा सदस्यता थप गरेका हौं, जसका कारण सदस्यहरुको संख्या ह्वात्तै बढेको देखिएको हो,’ उनले भने ।

विधान संशोधनपछि प्रदेशको अध्यक्ष स्वतः केन्द्रको कार्यसमितिमा हुने व्यवस्था समेत गरिएको छ ।

नाडा २०३२ सालमा स्थापना भएको हो । ४६ वर्षसम्म जम्मा ९९६ सदस्य संख्या पुगेको नाडामा दुलाल अध्यक्ष भएको २ वर्षमै २२४७ ले बढेर सदस्यको संख्या ३२१६ पुगेको छ । जुन अस्वभाविक हो ।


क्लिकमान्डु