अवार्डले एनएमबिलाई थप जिम्मेवार बनाएको छ



आजका दिनमा एनएमबि बैंक सबैको बैंक बन्न सफल भएको छ । बैंकको बोर्डमा विदेशी प्रतिनिधित्व, कर्मचारी सञ्चय कोषलगायतका सबै क्षेत्रका संस्थाहरुको प्रतिनिधित्व छ ।

नेपालको बैंकिङ इतिहासमा केही चमत्कार गर्ने बैंक पनि आए । तर एनएमबि बैंकले जहिले पनि मुलुकको समृद्धिका लागि काम गरिरहेको छ । त्यति मात्रै होइन हामीले दीगो बैंकिङका लागि पनि काम गरिरहेका छौं । भावी पुस्ताका लागि पनि काम गर्नुपर्छ भन्ने सोच राखेका छौं । साथै, नेपालका लागि मात्रै नभई विश्वका लागि पनि काम गर्नुपर्छ भन्ने मान्यता राखेका छौं ।

बैंकले जलविद्युत् क्षेत्रको विकासमा ठूलो योगदान गरेको छ । एसएमई तथा कृषि क्षेत्रमा पनि ठूलो लगानी गरेका छौं । साथै, बैंकले मुलुकलाई आत्मनिर्भर बनाउनका लागि काम गरिरहेका छौं ।

समस्या उत्पन्न भएको समयमा समाधान पनि खोजेका छौं । नेपालमा तरलता अभाव भएको समयमा विदेशबाट पैसा ल्याउने बैंक हाम्रो मात्रै थियो । आजका दिनमा सबैभन्दा धेरे पैसा ल्याउने बैंक बन्न सफल भएका छौं ।

आजका दिनमा दक्षिण एसियाको बैंकिङ क्षेत्र निकै राम्रो छ । चीन र भारतमा पनि राम्रा बैंक छन् । यति हुँदा हुँदै पनि ती सबै बैंकलाई उछिन्दै एनएमबि बैंकले बैंक अफ दि इयर–२०२१ एशियाको अवार्ड प्राप्त गरेको छ ।

विगतलाई हेर्ने हो यो अवार्ड पाउने बैंकहरुमा एग्रिकल्चल बैंक अफ चाइना, डिबीएस सिंगापुर र वुरी बैंक कोरियाले पाएको थियो । यी बैंकहरु संसारका शीर्ष बैंकमध्येमा पर्छन् । त्यस्ता बैंकहरुसँग प्रतिष्पर्धा गरेर आज एनएमबि बैंकले यो अवार्ड पाएको छ ।

यो अवार्डले हामीलाई थप जिम्मेवार बनाएको छ । हाम्रो दिगो बैंकिङको एजेन्डा देखाउने मात्रै नभइ कार्यान्वयनमा काम गरिरहेका छौं । आजका दिनमा हामीहरुले ४५ वटाभन्दा बढी हाइड्रो प्रोजेक्टमा काम गरेका छौं । मुलुकलाई सिमेन्ट उद्योगमा आत्मनिर्भर बनाउनुमा एनएमबि बैंकको पनि उत्तिकै भूमिका छ । यी र यस्तै कारणले एनएमबिलाई एशियाको शीर्ष बैंक बनाउन सफल भएको छ ।

यो अवार्डले नेपाली बैंक पनि अफसोर मार्केटमा पनि जान सक्छ भन्ने अवसर देखाएको छ ।

आज हामीले पाएको अवार्ड समग्र नेपाली बैंकका लागि राम्रो हो । हाम्रो मुलुकको क्रेडिट रेटिङ नभए पनि बैंकले प्राप्त गरेको यो अवार्ड अन्तर्राष्ट्रिय फाइनान्सको क्षेत्रका लागि सकारात्मक विषय हो ।

हामीले समग्र बैंकिङ क्षेत्र साथसाथै गयौ भने राम्रो हुन्छ । हामीसँग अन्तर्राष्ट्रिय क्षेत्रमा जानका लागि अपार सम्भावना छन् । आजका दिनमा हामीसँग कैयन अवसरहरु छन् । कैयन बैंकहरु नेपालमा लगानीका लागि तयार छन् तर हामी तयार छैनौं । जसका केही कारणहरु पनि छन् ।

हामीले नेपालको सबैभन्दा कन्भिनियन्ट बैंक बन्न चाहन्छौं । ग्राहकहरुको बैंकिङ अनुभवलाई गुणस्तरीय बनाउन चाहन्छौं । यो अवार्डपछि हाम्रो जिम्मेवारी बढेको छ । एशियाको टप बैंकको अवार्ड पाउँदा हामीप्रति अपेक्षाहरु पनि स्वभाविकरुपमा बढ्छन् । यसका लागि हामीले गर्न सक्ने कामहरु पक्कै पनि गर्नेछौं । एनएमबि बैंकलाई गर्व गर्न लायक बैंक बनाउँछौं । साथै एनएमबि बैंकले सदैव समृद्ध नेपाल निर्माणका लागि काम गर्ने प्रतिबद्धता पनि जनाउँछौं ।

(बुधबार बैंक अफ दि इयर–२०२१ एशिया अवार्ड प्राप्त गरेको जानकारी दिन आयोजित सीइओ केसीले व्यक्त गरेको विचार)


क्लिकमान्डु