दिल्लीमा ७ उडान थप्दै नेपाल एयरलाइन्स, २० महिनापछि मुम्बई र बैंग्लोरमा उडान शुरु हुँदै



काठमाडौं । नेपाल एयरलाइन्सले भारतको नयाँ दिल्लीमा सातामा ७ वटा उडान थप्ने भएको छ ।

कोरोना महामारीपछि उडान बन्द भएको केही समयपछि हाल दैनिक एउटा उडान हुँदै आएको थियो । अब भने दैनिक २ वटा उडान हुने नेपाल वायुसेवा निगमले जानकारी दिएको छ ।

नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले अब दैनिक २ वटा उडान गर्ने गरी हाल भइरहेका सातामा ७ वटा उडानलाई १४ वटा बनाउन लागिएको जानकारी दिए ।

‘हाल काठमाडौं–दिल्ली–काठमाडौंमा दैनिक एउटा मात्रै उडान थियो, अब दैनिक २ वटा उडान हुन्छ,’ अधिकारीले भने ।

दुबईमा पनि उडान थपिँदै
अधिकारीका अनुसार अब दुबईमा पनि सातामा ७ वटा उडान भइरहेकोमा थप २ वटा उडान थप्दै सातामा ९ वटा उडान शुरु हुनेछ ।

‘दुबईको हकमा हाल सातामा ७ वटा उडान छन् अब डिसेम्बर ५ तारिखदेखि २ उडान थप गरी सातामा ९ वटा उडान गर्नेछौं,’ अधिकारीले भने ।

२० महिनापछि भारतको मुम्बई र बैंग्लोरमा उडान
कोरोना महामारीका कारण सरकारले लागू गरेको लकडाउनका कारण २०७६ चैतदेखि स्थगित उडान फेरि शुरु हुने भएका छन् ।
सन् २०२० मार्च २१ तारिखदेखि भारतको बैंग्लोरमा नेपाल एयरलाइन्सको उडान हुन सकेको थिए ।

अधिकारीका अनुसार डिसेम्बर १७ तारिखदेखि मुम्बईमा हरेक शुक्रबार र सोमबार नेपाल एयरलाइन्सको उडान हुनेछ भने बैंग्लोरमा डिसेम्बर १८ तारिखदेखि हरेक शनिबार र मंगलबार उडान हुनेछ ।

अब यी गन्तव्यका लागि छिट्टै टिकटको बुकिङ पनि खुला गरिनेछ ।

काठमाडौं–बैंग्लोर–काठमाडौंको उडान धार्मिक पर्यटनका दृष्टिले पनि राम्रो मानिन्छ । नेपाल एयरलाइन्सको बैंग्लोरकी स्टेसन म्यानेजर रितादेवी राईका अनुसार नेपालबाट बैंग्लोर र बैंग्लोरबाट नेपाल आउने धार्मिक पर्यटकको संख्या ठूलो रहेको बताइन् ।


कमलकुमार बस्नेत