कहाँ बस्ने, हाउजिङ कि अपार्टमेन्ट ?



काठमाडौं । सबैको इच्छा हुन्छ सहरमा चार आना जग्गा होस्, त्यसमा चिटिक्कको घर ।

सबैको यस्तै चाहनाले सहरमा भिडभाडमात्र बढेको छैन, जग्गाको भाउ आकासिएको छ । त्यही महंगो जग्गा पनि नपाउने अवस्था भइसकेको छ ।

अवस्था कस्तो भइसक्यो भने सामान्य व्यक्तिले सहरमा जग्गा किनेर घर बनाउनै नसक्ने भइसकेको छ । तर, यसको विकल्प पनि आउन थालेका छन् ।

सहरमा जग्गाको मूल्य आकासिएपछि पछिल्ला दिनमा व्यवस्थित बसोबासका निम्ति अपार्टमेन्ट र हाउजिङको आकर्षण बढ्दै गएको छ ।

घर बनाउनका लागि झन्झट मान्ने र आरामदायी बसोबास चाहनेका लागि अपार्टमेन्ट र हाउजिङ उपयुक्त छ । सहरमा जग्गाको बढ्दो समस्याले अपार्टमेन्ट र हाउजिङमा आकर्षण बढी भएको सिई कन्स्ट्रक्सनका अध्यक्ष विजयकुमार राजभण्डारी बताउँछन् ।

उनकाअनुसार सहर केन्द्रित अधिकांश क्षेत्रका जग्गाको मूल्य अकासिदा मानिसको आकर्षण अपार्टमेन्ट र हाउजिङमा देखिएको हो । सहरमा अपार्टमेन्ट र हाउजिङको आकर्षण बढ्दै गएपछि डेभलपर कम्पनीहरूले विभिन्न स्थानमा हाउजिङ र अपार्टमेन्ट बनाउने कार्यलाई पनि तीव्रता दिएका छन् ।

डेभलपर कम्पनीले उपत्यकासहित पोखरा, भैरहवा, लुम्बिनी, विराटनगरलगायतका स्थानमा अपार्टमेन्ट र हाउजिङ निर्माण गरिरहेका छन् । अपार्टमेन्ट र हाउजिङको आफ्नै विशेषता र सुविधाले गर्दा सबैको मन पराएका पनि छन् ।

अपार्टमेन्ट र हाउजिङ निर्माण गर्दा दिशाले धेरै फरक पार्ने राजभण्डारीको बुझाइ छ ।

‘रिङरोडभित्रको अपार्टमेन्टको मूल्य धेरै भएकाले रिङरोडबाहिरको अपार्टमेन्ट सस्तो हुन्छ । तर, हाउजिङको मूल्य भने बढी हुन्छ,’ उनले भने ।

आफ्नै बाउन्ड्री होस् भन्नेलाई हाउजिङ उपयुक्त
अधिकांश मानिसको आफ्नै घर होस् भन्ने इच्छा हुन्छ । तर, जग्गाको समस्या, लोकेशन र बनाउन झन्झटलगायतका समस्याले गर्दा घर निर्माण गर्न निकै कठिन छ । त्यसमा पनि उपत्यकाका रिङरोडभित्र घर बनाउनका लागि सामान्य मानिसको लागि सपनामा मात्रै सीमित बन्न पुगेको छ ।

महंगो जग्गाका कारण रिङरोडमा घर बनाउन असम्भव भएपछि रिङरोडबाहिर पनि घर निर्माण कार्यको तीव्र बढेको छ । विभिन्न डेभलपर कम्पनीले सर्वसाधारण केन्द्रित हाउजिङ परियोजना ल्याएको देखिन्छ । तर, डेभलपरहरूले रिङरोडभित्र जग्गा लिएर हाउजिङ बनाउन सक्ने अवस्था छैन ।

सिई कन्स्ट्रक्सनका अध्यक्ष राजभण्डारीले आफ्नै घरमा बस्ने रहर पूरा गर्न हाउजिङ उपयुक्त हुने बताउँछन् । उनकाअनुसार ठूलो क्षेत्रमा बन्ने, आफ्नै बाउन्ड्री हुने, सिंगल घरमा बस्ने रहर हुन व्यक्तिले हाउजिङ उपयुक्त हुन्छ ।

त्यससँगै, हाउजिङमा सामूदायिक साझा क्षेत्र, हरियाली क्षेत्र, उपयुक्त पार्किङ, बाटो, सेमिनार हलको व्यवस्था हुन्छ । निर्माण कम्पनीले नै सम्पूर्ण व्यवस्था मिलाउने भएकाले त्यहाँ बस्ने व्यक्तिले कुनै पनि सेवा सुविधाको चिन्ता लिन नपर्ने हुँदा छुट्टै घर निर्माण गर्नेभन्दा हाउजिङ बस्दा सहज हुने उनको दाबी छ ।

‘सबै मानिसको सहरमा घर बनाउने इच्छा हुन्छ । तर, पायक पर्ने स्थानमा आफ्नो बजेटको सीमितताका कारण निर्माण गर्न सकेको हुँदैन,’ उनले भने, ‘त्यसैले, मानिसले आफूलाई पायक पर्ने स्थानको छेउछाउमा बनेको हाउजिङमा बस्दा आफ्नै घरको आरामदायी मिल्नेछ ।’

हाउजिङ सामान्यतया सिंगल घर, एउटै डिजाइन र एउटै रंगमा बनाइने प्रवृत्ति रहेको छ । त्यसैले, हाउजिङमा विशेषगरी विदेशी, सरकारी जागिरे, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्ने व्यक्ति र कर्पोरेट कार्यालयमा काम गर्ने व्यक्तिको आकर्षण बढी छ ।

‘सहरमा बस्न मन लाग्ने र पुँजी भएको व्यक्ति अपार्टमेन्टमा बस्न सक्नेछन्,’ उनले भने । अपार्टमेन्ट पनि व्यक्तिगत रुपमा लिन सक्ने भएकाले सहज तरिकाले अपार्टमेन्टको उपयोग गर्न सकिन्छ ।

साथै, अपार्टमेन्टमा सबैलाई समान सुविधा प्रदान हुने र सुरक्षित हुने भएकाले पनि यो नयाँ पुस्तको रोजाइमा पर्न थालेको छ ।

सानो परिवार भएका र एक बेडदेखि तीन बेडसम्मले पुग्ने परिवारका लागि हाउजिङभन्दा अपार्टमेन्ट उपयुक्त हुने राजभण्डारीको भनाइ छ ।

अपार्टमेन्टमा आफूलाई आवश्यक सम्पूर्ण सेवा सुविधाको व्यवस्थासहित उपयुक्त पार्किङ लिफ्ट, धारा, पानी, बत्तीको व्यवस्था हुन्छ ।

बिना कुनै झन्झट अपार्टमेन्टको बसाइ सहज र छुट्टै आनन्द हुने भएकाले यसमा बस्नु छुट्टै अनुभव हुने उनी बताउँछन् । पछिल्लो समय अपार्टमेन्टमा धेरैजसो व्यवसायी, एकल परिवार, विदेशी नागरिकहरुको अकर्षण बढ्दो छ ।

अपार्टमेन्ट
हाउजिङका फाइदा कैयन हुन सक्छन् । जस्तै अपार्टमेन्ट हाउजिङभन्दा सस्तो हुनसक्छ । साथै राम्रो लोकेसन र सुरक्षाका दृष्टिले पनि उपयुक्त हुनसक्छ । क्लबहाउस, स्वीमिङ पुल, जीमका साथै विभिन्न प्रकारका सुविधा पाउन सक्नुहुन्छ । त्यसका साथै राम्रो भेन्टिलेसन तथा सनलाइटको सुविधा पनि हुनसक्छ ।

यदि अपार्टमेन्टका कमजोरी हेर्ने हो भने डिप्रिसिएसन कम हुन्छ । तपाईंले सुविधा प्रयोग गरे पनि वा नगरे पनि ममर्त खर्चका रुपमा पैसा पक्कै पनि खर्च हुन्छ । साथै, तपाईंसँग सम्पत्तिमाथिको नियन्त्रण पनि कमजोर हुन्छ ।

हाउजिङ
हाउजिङ स्वतन्त्र घर जस्तै हो । यसमा तपाईंको पूर्णरुपमा स्वामित्व रहन्छ । आफूलाई मनपर्ने गरी भौतिक संरचना थप गर्न सक्नुहुन्छ । साथै, तपाईंको घरसँगै जग्गाको मूल्य पनि बढिरहेको हुन्छ । जसले भविष्यमा बिक्री गर्नुपर्दा राम्रो आम्दानी हुन सक्छ । साथै अपार्टमेन्टका तुलनामा घरमा धेरै स्पेस प्राप्त गर्न सकिन्छ ।

तर हाउजिङ अपार्टमेन्टको तुलनामा खर्च बढी हुन्छ भने आफूलाई मन पर्ने ठाउँमा जग्गा उलब्ध नहुन सक्छ । सुरक्षा पनि अपार्टमेन्टमा जस्तो उपलब्ध नहुन सक्छ ।


अरिष्मा मोक्तान