हिमालयन जाभाका २२ वर्ष, जसले स्थापित गरायो ‘कफी कल्चर’



हिमालयन जाभाका सञ्चालक गगन प्रधान

झम्सिखेलको ब्रुशाला कफी सपमा छिर्दै गर्दा कफीको मिठो बास्ना आयो । ब्रुशाला हेर्दै लोभलाग्दो र चिटिक्क छ । मानौं कुनै कुचीकारले क्यानभासमा रंग पोतेजस्तो ।

एकातिर कफी पाकिरहेको छ । अर्कोतिर ग्राहकहरु किताबमा मस्त छन् । मीठो संगीतको धुन कानमा ठोक्किन आइपुग्छ । कफीसपको डिजाइन आमपसलभन्दा फरक छ । कफी सपले मोहनी लगाउँछ स्वरसम्राट नारायण गोपालको गीतले भने जस्तै ।

खासमा बु्रशाला एउटा कफी सप मात्रै होइन । हिमालयन जाभाका सञ्चालक गगन प्रधानको कार्यालय पनि हो । उनले आफ्नो कार्यालयका लागि भनेर छुट्टै कोठा सजाएका छैनन् । खासमा चमक धमक छैन, तर कार्यालय छ ।

सधै क्याजुल पोशाकमा देखिने गगनलाई यस्तै ‘नेचुरल’ मनपर्छ ।

‘मलाई यस्तै प्राकृतिक र अलि फरक खालको वातावरण मन पर्छ,’ ब्रुशालाको एक कुनामा गफिदै गगनले भने, ‘यो मेरो अफिस पनि हो ।’
त्यहाँ उनले आवश्यक पर्दा प्रयोग गर्न भनेर किचन पनि राखेका छन् ।

यो वरिष्टा स्कुल पनि हो । जहाँ केही युवा कफी कसरी बनाउने भनेर सिक्दैछन् । अर्कोतिर कफी बनाउने नयाँ र पुराना मेसिनहरु पनि छन् ।


कफी सपको यो इन्जिनियरिङले गगनको विगत २२ वर्षदेखिको कफीप्रतिको लगावलाई झल्काउँछ । उनले मुलुकमै पहिलो कफी सपमात्र खोलेनन्, पहिलो पटक कफी बनाउने प्रविधिदेखि तालिम शुरु गरे ।

शुरुमा धेरै पैसा थिएन । थोरै लगानीबाट शुरु भएको हिमालयन जाभा आज ३५ भन्दाबढी शाखामा बिस्तार भएको छ । देशभित्रमात्र होइन, विदेशमा पनि पुगेको छ ।

नेपालमा कफीको व्यवसाय स्थापित गराउने गगन आज ‘कफी नायक’ बन्न पुगेका छन् । अर्थात् कफीको हिरो ।

क्लिकमाण्डूले सम्वादको विषयमा बताउँदा उनको मुहारमा खुसीका आभा दौडिए ।

‘मलाई कफीको कुरा गर्न असाध्यै मज्जा लाग्छ,’ उनले भने ।

हाम्रो चाहना पनि त्यही थियो, हिमालयन जाभा र नेपालको कफी व्यवसाय ।

हिमालयन जाभाको शुरुवात


यो कुरा सन् १९९४ को थियो । त्यतिबेला गगन अष्ट्रेलियामा होटल म्यानेजमेन्ट पढ्दै थिए । पढाइ खर्च जुटाउन उनी होटल, रेष्टुराँमा काम गर्न थाले ।

नेपालबाट गएकालाई पढाइ र कामको चाँजोपाजो मिलाउने कुरा असाध्यै गाह्रो थियो । निद्रा माया मारेरै भए पनि गगनले होटल रेष्टुराँमा काम गरे । उनको मनमा सधै खेलिरहन्थ्यो, पढाइ सकेर कहिले नेपाल फर्किने होला ?

नेपाल फर्किए लगत्तै काठमाडौंको एक होटलमा उनले काम शुरु गरे । काममा खासै चित्त नबुझेपछि हप्ता दिनमै जागिर छोडिदिए । उनलाई लाग्थ्यो ‘सानो भए पनि आफ्नै व्यवसाय गर्नुपर्छ ।’

होटल खोल्नका लागि पर्याप्त पुँजी थिएन । अष्ट्रेलिया पढ्दादेखि नै कफीका पारखी गगन एउटा प्रश्नमा घोत्लिन थाले, ‘काठमाडौंमा कफी सप खोल्दा कस्तो होला ?’

सन् १९९९ तिर काठमाडौंमा कमै मात्र रेष्टुराँ र क्याफेहरु थिए । काठमाडौंको बजार हेर्दै जाँदा कतै पनि कफी सप पाएनन् उनले ।

‘सानो व्यवसाय, धेरै पुँजी पनि नचाहिने होटल व्यवस्थापन पढेको । ज्ञान र सीप पनि थियो,’ उनले २२ वर्षअघिको दिन सम्झिए, ‘सानो कफिसप खोल्छु भन्ने निधोमा पुगें ।’

होटल म्यानेजमेन्ट पढे पनि कफिसप सञ्चालनको ज्ञान थिएन । यसका लागि केही तालिम चाहिन्छ भन्ने लाग्यो । उनी कफीको तालिम लिन अमेरिका गए । त्यहाँ उनले कफी बनाउने कलादेखि यसको प्रविधिको बारेमा ज्ञान आर्जन गरे ।

अमेरिकाबाट फर्किदा कफी बनाउने मेसिनसहित केही अन्य सामग्री पनि साथमा ल्याए । मनमा आत्मविश्वास पनि थपेर आए ।

उनको उद्देश्य कफी सप खोल्नुनै थियो । सन् १९९९ नेभेम्बर २९ मा हेरिटेज प्लाजा कमलादीमा शुरु गरे- हिमालयन जाभा । हिमालयको देशमा हिमालय जाभा । खासमा नाम पनि उत्तिकै राम्रो ।

शुरुवाती दिनहरु सजिला थिएनन् । होटल म्यानेजमेन्टका विद्यार्थीको नाताले कुनै पनि योजनाको डिजाइन, प्रतिफलको समय र कसरी अगाडि बढने भन्ने जस्ता सैद्दान्तिक ज्ञान उनीसँग थियो । त्यसमाथि, अमेरिकामा कफीको तालिम ।

आत्मविश्वासी गगनको मनको कुनामा एउटा डर थियो । त्यो के भने काठमाडौंमा कफी पिउने प्रचलन नै थिएन । कफीबारे मानिसलाई थाहै थिएन ।

‘नेपालीलाई कफी पिउन मैले सिकाउँछु,’ उनले ठूलो आँट गरे । ५\६ जना कर्मचारीसहित उनले शुरु गरेका थिए हिमालयन जाभा ।
चाहना कफीसप खोलेर पैसा कमाउने मात्र थिएन । आफ्नो अनुभवलाई बाँड्न चाहन्थे उनी ।

‘मलाई कफी सपमात्रै खोल्नु थिएन,’ उनी भन्छन्, ‘मलाई अनुभव बाँड्नु थियो ।’

एउटा सफा, चिटिक्क परेको कफि सप । राम्रो डिजाइन र मेन्युको ‘फ्युजन’ भएको कफी सपको अनुभव बाँड्न चाहन्थे खासमा उनी ।
राम्रो ‘हस्पिटालिटी’ भएको सेवा कस्तो हुन्छ, त्यो देखाउनु थियो उनलाई ।

‘जीवनमा सजिलो भन्ने केही छैन,’ गगन भन्छन्, ‘म मानसिक, भौतिक, भावनात्मक र आर्थिकरुपमा यसका लागि तयार थिएँ ।’

लगानीभन्दा पनि मनको इच्छाले लतार्दै लग्यो उनलाई । इच्छा पूरा गर्न शुरुमा १५ लाख रुपैयाँ लगानी गरे ।

‘अष्ट्रेलिया बस्दा कमाएको केही पैसा कफी सपमा खन्याएँ,’ उनले भने ।

कफी सप त शुरु भयो तर ग्राहक आएनन् । अझ कति त नाममै झुक्किए । हिमालयन जाभा नाम सुन्दा नै अनौठो थियो ।

‘हाम्रो इन्ट्रेस्टिङ के भयो भने नाममै ठूलो खोट थियो,’ शुरुवाती दिनको रमाइला क्षण सम्झदै गगनले भने, ‘जाभा देखेपछि कतिले त कम्प्युटर इस्टिच्युट भन्थे ।’

‘कम्प्युटर इस्टिच्युटमा भर्ना हुन भनेर पसेको अर्कैपो रैछ,’ कति ग्राहकले भनेको उनी अझै पनि सम्झन्छन् ।

कतिपयलाई फर्निचर दोकान जस्तो पनि लाग्यो रे । त्यहाँको लेआउट, सोफाको इन्टेरियर डिजाइनले त्यस्तै भान पार्दोरहेछ ।

हुन पनि त्यस्तै थियो । हिमालय जाभाको डिजाइन लिभिङ रुमको बिस्तृत रुप जस्तो थियो । आनन्दले बस्न सकिने, ठूलाठूला सोफाहरु ।

ग्राहकका लागि सबैभन्दा अलमलको विषय थियो, मेन्यु । मेन्यु पल्टायो एस्प्रेसो, अमेरिकानो, क्यापिचिनो, लाट्टे, मोक्का, रिसेरो, ब्रानिचिनोआदिआदि । न चिया लेख्या छ, न कफी ।

कफी पिउन आएकाहरु पनि केही अर्डर गर्न सक्दैनथे । अर्डरै नगरी फर्केलान भन्ने डर । उनीहरुका लागि बिल्कुल नयाँ नाम थिए ती ।
यी कारणले हिमालयन जाभामा आएका ग्राहक अलमलमा पर्थे । जुनकुरा स्वभाविकै ठान्छन् गगन ।

समयक्रमसँगै फाट्टफुट ग्राहक आउन थाले । ग्राहक आएर मेन्यु पल्टाउँदै गर्दा गगन छेबैमा जान्थे । नमस्कार गर्थे । उनको मुस्कानै नै गज्जब थियो । उनी भन्थे ‘यी कफीका नाम हुन,’ अलमलमा परेका ग्राहकलाई औैंलाले देखाउँदै भन्थे, ‘यो यस्तो स्वादको कफी हो । खासमा कफी भनेका यी र यस्तै हुन् ।’

गगनसँग प्रशस्त समय थियो । उनी आफै पनि गफ गर्न मन पराउने । अझ आफ्नै पसलमा आएर बसेका ग्राहक उनको लागि भगवान सरह थिए ।

घन्टौं बिताएर भए पनि उनीहरुलाई कफीको स्वाद चखाउनु थियो । खासमा उनी दीर्घकालीन रणनीतिमा थिए । ग्राहकलाई कफीसँगको साइनो जोडिदिनु थियो ।

‘मैले एउटा ग्राहकलाई आधा घण्टा जति कफीको बारेमा जानकारी दिन्थे,’ गगन सम्झन्छन्, ‘कतिपय ग्राहक मलाई देखेर अचम्म पनि मान्थे ।’


‘कति रमाइलो मान्छे रहेछ, बालकलाई जस्तो सबै कुरा सिकाउने,’ कति ग्राहक भन्थे रे उनलाई । गगनको त्यही स्वभाव देखेर ग्राहकहरु फर्केर आउन थाले । शुरुमा जस्तो पछिपछि पनि त्यस्तै । स्वागत पाउन थाले ग्राहकले ।

गगनले हरेक ग्राहकलाई व्यक्तिगतरुपमा ‘डिल’ गर्दैं जाँदा दैनिक ५ देखि १० जना नियमित आउन थाले ।

हेरिटेज प्लाजा काठमाडौंमा सबैभन्दा राम्रो व्यवसायिक ठाउँ । मेलम्ची खानेपानीको अफिस, मार्केपोलो ट्राभल, विदेशी पनि त्यहाँ हुन्थे ।

कफीको ज्ञान भएका । विदेश बसेर फर्किएका नेपाली र काठमाडौंमा रहेका विदेशी ग्राहकका रुपमा आउन थाले ।

त्यहाँबाट अन्त कतै जान पाए हुन्थ्यो भन्ने गगनलाई लागिरहेको थियो ।

अष्ट्रेलिया मेकानिकल इन्जिनियर पढेका गगनका साथी आनन्द गुरुङ पनि कफी खान आइरहन्थे । उनै आनन्दले गगनलाई प्रस्ताव राखे, ‘मिलेर गरौं, मेरो घरमा ठूलो स्पेस छ ।’

गगनलाई पनि हेरिटेज प्लाजामा समस्या भइरहेको थियो । उनले ठाउँ खोज्नु र आनन्दले प्रस्ताव राख्नु ढुंगा खोज्दा देवता मिले जस्तै भयो ।

झन्डै ६ महिनापछि ठमेलस्थित आनन्दको घरमा हिमालयन जाभा सर्यो । जुन सबैका लागि हिमालयन जाभा भनेर चिनिने ठाउँ बन्यो ।

त्यहीदेखि शुरु भएको गगन र आनन्दको जोडीले हिमालयन जाभालाई आजको दिनसम्म नेम र फेम दुबै दिएर यहाँसम्म ल्याएका छन् ।

फुटबल हेर्ने ठाउँ
हिमालयन जाभा खोलेको डेढ दुई वर्ष बितिसकेको थियो । केही नयाँ आइडिया ल्याउन चाहन्थे गगन ।

मान्छेलाई कफी सपसम्म तान्ने सजिलो आइडिया थियो- ‘मुभी नाइट’ । अर्थात् हप्ताको एक दुई दिन कफी सपमा नयाँ–नयाँ फिल्म देखाउने । फिल्म हेर्ने निहुमा कफी खुवाउन सकियोस् ।

अरु बेला कफी पिउँदै बीबीसी, सीएनएनलगायतका च्यानल पनि हेर्न सकून् ।

उनको अर्को आइडिया पनि थियो, ‘कफी खान आएकालाई कफीको डकुमेन्ट्री देखाउने । कफीको बारेमा सबै कुरा त्यही बसेर जानकारी मिलोस् ।’

कफी सपमा टिभी देखाउने, हप्ताको १\२ दिन ‘मुभी नाइट’ गर्ने चलन विदेशमा प्रचलित थियो । गगनसँग त्यो अनुभव थियो ।

सोही क्रममा उनीहरु कफी सपमा राख्न एक सानो टिभी किन्न गए । टिभी किन्न गएको पसलमा कताकताबाट उनले चिनेकै दाइ भेटिए ।

‘दाई कफी सपमा राख्न एक सानो टिभी चाहिएको थियो,’ उनीहरुले भने ।

‘तिमीहरु चिनेको भाइ, मेरो टिभीको प्रचार पनि हुन्छ, बरु स्टलमेन्टमा दिन्छु । यो ५० इञ्चको लैजाऊ,’ पसले दाइले भने ।
‘ओहो ! ५० इञ्चको ?,’ एकछिन त अलमलमा परे ।

साहुजीले सम्झाए- टिभी हेर्ने यसमा हो ।

सानो टिभी किन्न गएका गगन ५० इञ्चको सार्प टिभी बोकेर फर्किए । टिभी कफी सपको एक कुनामा राखे ।

टिभीमा डकुमेन्ट्री, समाचार देखाउन थाले । हरेक मंगलबार बेलुका ‘मूभी नाइट’ गर्न थाले ।

सन् २००२ को मे-जुनमा कोरिया र जापानले संयुक्तरुपमा विश्वकप फुटबल आयोजना गरेका थिए । कुनै दिन एक ग्राहकले भने, ‘अहिले त विश्वकप चलिरहेको छ, यो समाचारभन्दा त फुटबल हेरौं न ।’

गगनका साथी बनिसकेका ती ग्राहकको आग्रहमा गगनले टिभीको च्यानल परिवर्तन गरे र फुटबल लगाए ।

सायद त्योबेला ५० इञ्चको टिभी विरलै भेटिन्थे ।

‘हिमालयन जाभामा ५० इञ्चको टिभी छ । त्यहाँ फुटबल पनि हेर्न पाइन्छ,’ एक कान दुई कान हुदै मैदान भयो । खासमा गगनले सोचेको पनि यही थियो ।

नेपालमा दिउँसो ४ पछि खेल शुरु हुन्थ्यो । फुटबल हेर्ने उपयुक्त समय पनि थियो । छिटोछिटो कार्यालय सकेर फुटबल हेर्न आउन थाले अरु पनि ।

जाभामा फूटबल हेर्नेको संख्या एक हप्ताभित्र १० जनाबाट सय पुग्यो । उनीहरु कफी पिउनलाई हिमालयन जाभा पुगेका थिएनन् । ९० मिनेटको खेल हेर्दैगर्दा केही न केही त अर्डर गर्नै पर्यो । मेन्यु हेर्थे तर, केही पनि थाहा छैन ।

नियमित आउने १० जनाले सँगै ल्याएका अरु सय साथीलाई सिकाए- ‘आइस टी, आइस कफी, क्यापिचिनो, अमेरिकानो, लाट्टे आदिआदि ।

‘झण्डै २ घण्टाको फुटबल हेर्दा एउटा न एउटा कफीको स्वाद उनीहरुले लिन्थे,’ गगन त्यो बेलाको माहोल सम्झन्छन्, ‘फुटबल हेर्न आएकाले कफी सप पनि मन पराए ।’

गगन आफै पनि ग्राहकसँग गफिदै बस्थे । त्यही न्यायो अनुभव ग्राहकले मन पराए ।

कफी सपमा ५० इञ्चको टिभी राख्नु र त्यहीबेला विश्वकप फुटबल शुरु हुनु । त्यो संयोग हिमालयन जाभालाई धेरै ग्राहकमाझ पुर्याउने माध्यम बन्यो ।
हिमालयन जाभा खुलेको साढे दुई वर्षसम्म नभएको व्यापार भयो ।

‘त्यो बेलासम्म सबैभन्दा धेरै ४ हजार ५०० सम्मको बिक्री भएको थियो,’ गगनले सम्झिए, ‘फुटबल शुरु भएपछि दैनिक बिक्री २२ हजारसम्म पुग्यो ।’

ती मानिसलाई कफी मन परे पनि नपरे पनि हिमालयन जाभा त्यहाँ रहेछ भन्ने थाहा भयो ।

फुटबल सकिएपछि पनि ती ग्राहक एक\दुई हप्तामा हिमालयन जाभा छिर्न थाले । उनीहरुलाई कफीको स्वाद परिसकेको थियो ।

विदेशमा बसेका नेपाली स्वदेश आउँदा हिमालयन जाभा जाऔं न भन्थे । मेन्यु हेरेपछि उनीहरु भन्थे, ‘यहाँ त अमेरिका वा अष्ट्रेलिया जस्तो पो रहेछ ।’

योजनाबिनै शाखा बिस्तार
फुटबलले जति हल्लाखल्ला भए पनि गेम सकिएपछि झन्डै पुरानै अवस्थामा पुगेको थियो व्यवसाय ।

‘दिनको अन्त्यमा गन्ने पैसाले सन्तुष्ट हुने ठाउँ थिएन,’ उनी सम्झन्छन्, ‘त्यही पसल कसरी टिकाइराख्ने भन्ने ध्याउन्न मात्रै थियो ।’

एकदिन गगनको काठमाडौं गेष्ट हाउसका सञ्चालक राजन शाक्यसँग भेट भयो । काठमाडौं गेष्ट हाउस विदेशी पर्यटक आउने चर्चित होटल थियो । चलेको र नाम कमाएको ।

‘तिम्रो कफी राम्रो लाग्यो,’ भेटमा शाक्यले भने, ‘काठमाडौं गेष्ट हाउसमा सानो ठाउँ दिन्छौं, त्यहाँ पनि राख न ।’

एउटै त राम्रोसँग चलेको छैन । अर्को पसल खोल्ने त सोच पनि थिएन ।

काठमाडौं गेष्ट हाउसभित्रै चलाउने अवसर आएपछि गगनले नाइ भन्न सकेनन् । विदेशी पाहुना धेरै आउने भएकाले कफी सप चल्न सक्ने धेरै सम्भावना थियो ।

सानो ठाउँ सानै मेसिन राखे र कफी बेच्न थाले । खासमा गगनले सोचे जस्तै भयो, विदेशी पर्यटकले कफी पिउन थाले ।

लिंकन स्कुलका प्रिन्सिपल पनि गगनका साथी थिए । सन् २००३ तिर एकदिन ब्याडमिन्टन खेल्दै थिए । त्यही बेला ती साथीले भने, ‘गगन हाम्रो स्कुलमा पनि कफी सप राखन ।’

‘स्कुलभित्र त के चल्ला र,’ गगनलाई लाग्यो, ‘स्कुल १० बजे शुरु भएर ४ बजे बन्द हुने हो । बरु स्कुल बाहिर राख्न सकिन्छ ।’

स्कुल बाहिर सटर लिए । ५ लाख रुपैयाँ लगानीमा रविभवनमा रहेको लिंकन स्कुल बाहिर सानो कफी सप खोले ।

योजनाबिनै कफी सप बिस्तार हुदै गयो ।

‘२००५ सम्म पनि व्यवसाय खासै राम्रो भइरहेको थिएन,’ गगन भन्छन्, ‘लिंकन स्कुलमा ५ हजार र काठमाडौं गेष्टहाउसमा ७\८ हजारको व्यापार थियो ।’

तर, बिस्तारै व्यवसाय बढ्दै गयो । मागअनुसार शाखा पनि बिस्तार गर्दै गए । जब हिमालयन जाभाले सबैको मन जित्यो त्यसपछि धमाधम शाखा बिस्तार भयो ।

कफी पिउन आउनेको लर्को लाग्न थाल्यो ।

त्यसरी, बनेको नेपाली कफी ब्रान्ड हिमालयन जाभाको फ्रेञ्चाइज मोडलको थप माग भयो ।

गगनले सन् २०१४ देखि फ्रेञ्चाइज शुरु गरे । अहिले झन्डै २० वटा हिमालयन जाभाको फ्रेञ्चाइज छन् । अहिले जति पनि शाखा बिस्तार भइरहेका छन् । ती सबै फ्रेञ्चाइजमा गइरहेको उनले बताए ।

फ्रेञ्चाइजसहित काठमाडौंमा ३४ वटा हिमालयन जाभा छ । त्यसबाहेक अमेरिका, क्यानडा, दार्जिलिङ, ल्हासामा पनि हिमालयन जाभा छ ।

‘अहिले माग थाम्न नसक्ने भएको छ,’ गगनले भने, लगानीमात्र गरेर हुँदैन ‘स्ट्यान्डर्ड मेन्टेन’ गर्न सक्ने हुनुपर्छ ।’

पैसा भएको भन्दा पनि ज्ञान र कफीलाई बुझ्न सक्ने हुनुपर्छ भन्ने उनको मान्यता छ ।

गगन नेपालमा मात्र होइन, नेपाली कफीलाई विश्वसामू चिनाउन चाहन्छन् । त्यसका लागि उनी विश्वका धेरै देश पुगेका पनि छन् ।

सन् २००८ सम्म विश्वका धेरै ठाउँ घुमे । अमेरिकाको कफी मेलामा हिमालयन जाभाको स्टलसमेत राखे ।

गगनसँज २२ वर्षअघि हिमालयन जाभा शुरु गर्दा ताकाको जस्तो जोश थियो, अहिले पनि त्यस्तै छ ।

झम्सिखेलको ब्रुशालामा गफिदै गरेका गगनसँग कफीप्रतिको रुचि कुनै पनि कमी आएको देखिदैन । उनी कफीमै रमाइलो गर्छन् ।

साधारण जीवन बिताउने उनी कफीको बारेमा अध्ययन र अनुसन्धान गरिरहन्छन् । त्यो उनको पहिल्यैदेखिको स्वभाव हो ।

अहिले पनि उनीसँग शुरुवाती दिनको जस्तै भावना छ । जोस र जाँगर पनि उत्तिकै छ । न त हिमालयन जाभा भन्ने घमण्ड छ, न त ठूलो मान्छे भए भन्ने ।

बरु उनी नयाँ नयाँ तरिकाले के के गर्न सकिन्छ भन्ने सोचिरहन्छन् । अझ विदेशमा चर्चित बनेका फरक ब्रान्डका कफी सप नेपालमा आउन सक्छन् ।

उनीहरु आए भने कसरी प्रतिष्पर्धा गर्ने भन्ने तयरीमा बस्नुपर्छ भन्ने मात्रै सोच छ उनको ।

झन्डै दुई दशकको अवधिमा उनले देशलाई हिमालयन जाभाबाट विश्वसामू राम्रो कफी पाइने मुलुक भनेर चिनाएका छन् । त्यतिबेला विश्वबजारमा नेपालको नाम नै आउँदैनथ्यो । अहिले नाम त आउन थालेको छ ।

विश्व प्रसिद्ध कफी सप नेपाल आए भने पनि हिमालयन जाभासँग कसरी प्रतिष्पर्धा गर्ने भन्ने सोच्न बाध्य हुने अवस्थामा गगनले पुर्याएका छन् ।

कफी मेशिनको आयात
गगनको उद्देश्य शुरुदेखि नै नेपाली ‘कफी कल्चर’को प्रबद्र्धन गर्नु थियो । त्यसका लागि उनले हिमालयन जाभाबाट शुरुवात गरे ।

तर, उनलाई लागिरहेको थियो मुलुकभर कफी व्यवसाय प्रबद्र्धन गर्ने हो भने त हिमालयन जाभा एक्लैले मात्र सक्दैन । एक्लै ठूलो लगानी गर्ने अवस्था पनि थिएन ।

उनलाई लाग्यो, ‘कफी कल्चर’ विकास गर्ने हो भने अरुलाई पनि आफू जस्तै उद्यमी बनाउनु पर्छ ।

‘युवा पुस्तालाई कसरी कफी व्यवसायमा ल्याउने भन्ने सोचिँरहेको थिएँ,’ गगनले भने, ‘त्यसका लागि उनीहरुलाई चाहिने क्षमता र प्रविधिको आवश्यकता थियो ।’

नयाँ व्यक्तिलाई यस व्यवसायमा ल्याउन गगनले सन् २००५ देखि कफी बनाउने मेशिन आयात गर्न थाले । नेपालमा त्यस्तो प्रविधि भित्रिसकेको थिएन । उनी आफैले पनि विदेशबाट मेशिन ल्याएका थिए ।

मेशिन त ल्याए तर माग त्यत्तिराम्रो हुन सकेन । सोधपुछ गर्ने र आँट नगर्ने धेरै थिए ।

‘दुई वर्षको अवधिमा ३ वटा मेसिन मात्रै बेचेँ,’ उनी सम्झन्छन्, ‘बिस्तारै माग बढ्दै गयो ।’

माग बढ्दै गएपछि आयात पनि बढाउँदै गए । जुन काम जारी छ ।

बरिष्टा तालिम
कफी बनाउने मेसिन र लगानीले मात्रै पनि भएन । सही तरिकाले कफीलाई न्याय गर्नुपर्छ । अर्थात् कफी बनाउने विधि सिक्नुपर्छ ।

कफीका विभिन्न प्रकार, स्वाद, सजावट हुन्छन् । त्यो नजान्दासम्म कफीलाई न्याय हुँदैन । त्यही पक्षलाई ध्यानमा राखेर गगनले मेसिन आयातसँगै युवालाई सीप सिकाउने तालिम पनि शुरु गरे सन् २००७ देखि ।

जसलाई ‘बरिष्टा ट्रेनिङ’ भनिन्छ । गाडी चलाउनेलाई ड्राइभर, रक्सी बनाउनेलाई बारम्यान भने जस्तै कफी बनाउनेलाई ‘बरिष्टा’ भनिन्छ ।

उनले त्यसरी शुरु गरेसँगै जाभा बरिष्टा स्कुल ६ वटा भइसकेका छन् । काठमाडौं सिभिल मल, ठमेल हिमालयन जाभा, बत्तिसपुतली, झम्सिखेल, चितवन, पोखरमा ट्रेनिङ सेन्टर छन् । ती ट्रेनिङ सेन्टर बिस्तारै बढाउने सोचमा छन् उनी ।

यसको माग धेरै छ । हिमालयन जाभाको ट्रेनिङ सेन्टरको राम्रो पक्ष भनेको १२ दिन जतिको ट्रेनिङ हुन्छ र हिमालयन जाभामा दुई तीन हप्ता काम गर्ने मौका पनि ।

जब उनले बरिष्टा स्कुल खोले अन्यले पनि उनको सिको गरे । खोल्नेको घुँइचो नै भयो । कतिले गगनसँगै तालिम लिएर पनि आफै तालिम सेन्टर चलाउन थाले ।

गगनको उद्देश्य पनि त्यही थियो । आफू जस्तै अरु पनि कफी व्यवसायमा आउन् । उनको विचारमा अहिले काठमाडौं उपत्यकामा मात्रै बरिष्टा स्कुल ३ सयभन्दा धेरै भइसकेका छन् ।

यसरी तालिमको माग बढ्नुमा स्वदेश मै कफी सप खोल्ने मात्र होइन विदेश जाने युवाको संख्या वृद्धि भएर पनि हो ।

अष्ट्रेलिया, अमेरिका, जापान वा अन्य ठाउँमा पढ्न जाने विद्यार्थीले यहाँ बरिष्टा ट्रेनिङ लिएर जान्छन् । त्यसरी तालिम लिएर गएपछि विदेशमा काम खोज्न सजिलो पनि हुन्छ ।

विदेश जाने डाक्टरका परिवार पनि तालिम लिएर गएको गगन बताउँछन् । भिसा लागेपछि तालिम लिन आउने धेरै छन् । तालिमको बिस्तार हुँदै जादा कफी सपको संख्या पनि हजारौं पुगेका छन् ।

कफी खेती
सन् १९९९ मा हिमालयन जाभा शुरु गर्दा नेपाली कफी नै प्रबर्द्धन गर्ने सोच थियो उनको । सोचलाई अठोटमा तब बदले जब सन् २००० मा भृकुटीमण्डपमा गार्मेन्ट एक्पोमा भाग लिए ।

उनले उक्त एक्पोमा एउटा स्टाल राखे । त्यहाँ कपडादेखि विभिन्न प्रकारका नेपाली उत्पादनको मेला थियो ।

मेलामा सहभागीले ल्याएको नेपाली उत्पादन उनलाई भव्य लाग्यो । सस्तोमा कति राम्रा कपडा पाइने ।

‘नेपाली उत्पादन देखेर वाह भन्न मन लाग्यो,’ उनी भन्छन्, ‘नेपालीले नेपाली कपडा नै किन नलगाएका होलान ?’

त्यो बेला नेपाली सामान भनेपछि मान्छेहरु नाक खुम्चाउँथे ।

उनले पनि त्यही स्टलमा नेपाली कफीको प्रबर्द्धन गरे । हिमालयन जाभाको पहिलो दिनदेखिको मिसन भनेको नेपाली नेपाली उत्पादनको प्रबद्र्धन गर्नु । जुन निरन्तर जारी छ ।

हिमालयन जाभामा नेपाली कफी प्रयोग गरिरहेका गगनले उत्पादनलाई प्रबद्र्धन गर्न आफै पनि कफी खेती गरिरहेका छन् ।

इलामको फिक्कलमा ४ वर्षअघि खेती शुरु गरे । त्यसबाट प्रतिफल आउन ५ वर्ष लाग्छ । यसमा ठूलो लगानी र लामो समय लाग्ने भएकाले मेहनत, धैर्यता चाहिने उनी बताउँछन् ।

‘कफी उत्पादन एउटा लामो प्रक्रिया हो,’ गगन भन्छन्, ‘सरकारले नै यसमा प्रविधि र सहुलियत दिएर किसानलाई प्रोसाहन गर्नुपर्छ ।’

के छ विचार गगन जस्तै बन्ने कि । फरक तरिकाले गगनभन्दा माथि पुग्ने । इच्छा तपाईंको ।