हिमालयन रि मा शंकर ग्रुपको धेरै लगानी, गोल्छादेखि सिरोहियासम्मको सेयर



काठमाडौं । १० अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको हिमालयन रि इन्स्योरेन्स कम्पनीमा संस्थापकले ७ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

कम्पनीमा शंकर ग्रुपको कम्पनीको सबैभन्दा बढी लगानी छ । कम्पनीमा महासंघ अध्यक्ष शेखर गोल्छाको कम्पनीदेखि,परिसंघका निवर्तमान अध्यक्ष शतिष मोरको कम्पनीको पनि लगानी छ । व्यक्तिगत रुपमा कान्तिपुर मिडिया ग्रुपका कैलाश सिरोहियादेखि लिएर महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकासम्मको लगानी छ ।

कम्पनीका अनुसार उक्त इन्स्योरेन्समा सबैभन्दा बढी लगानी एम्बर प्रोभेस्टमेन्टको समग्र लगानीको ९.६९ प्रतिशत अर्थात ६७ करोड ८५ लाख रुपैयाँको लगानी छ ।

उक्त कम्पनीमा नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको ५०/५० करोड अर्थात ७.१४ प्रतिशत लगानी रहेको छ ।

यस्तै इन्फिनिटी होल्डिङ्सको ६.४३ प्रतिशत अर्थात ४५ करोड, जगदम्बा मोटर्सको ४.५७ प्रतिशत अर्थात ३२ करोड, गणपति बनस्पतिको ३.२१ प्रतिशत अर्थात २२ करोड ५० लाख, जगदम्बा स्टिलको ३.१४ प्रतिशत अर्थात २२ करोड सेयर स्वामित्व रहेको छ । जगदम्बा मोटर्स तथा जगदम्बा स्टिल शंकर ग्रुपको कम्पनी हो । शंकर ग्रुपले कम्पनी मार्फत सबैभन्दा बढी लगानी हिमालयन रिमा गरेको छ ।

यस्तै विकास दुर्गाको २२ करोडको अर्थात ३.१४ प्रतिशत रहेको छ भने हंसराज हुलासचन्द एण्ड कम्पनीको २० करोड अर्थात २.८६ प्रतिशत, सफारोन सिके इन्भेष्टमेन्ट २.८६ प्रतिशत अर्थात २० करोड, आरएमसी कन्स्ट्रक्सन एण्ड इन्भेष्टमेटको २.१४ प्रतिशत अर्थात १५ करोड तथा शशिकान्त अग्रवालको २.१४ प्रतिशत अर्थात १५ करोड रुपैयाँ लगानी छ ।

बाँकी कम्पनीको १.९३ प्रतिशत अर्थात १३ लाख ५० हजार र ११ कम्पनी तथा व्यक्तिको १.४३ प्रतिशत अर्थात १० करोड रुपैयाँ लगानी रहेको छ । कम्पनीमा पशुपति मुरारकाको १.०४ प्रतिशत अर्थात ७ करोड २५ लाख र सिरिश कुमार मुरारकाको पनि १.०४ प्रतिशत अर्थात ७ करोड २५ लाख रुपैयाँको लगानी छ ।

१० अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले सर्वसाधारणको लागि ३ अर्ब रुपैयाँको साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि ३ करोड कित्ता आइपीओ निष्काशन गर्नेछ । शुक्रबार सम्पन्न पहिलो बार्षिक साधारणसभाले आइपीओ ल्याउने प्रस्ताव पारित गरेको छ । हिमालयन रिइन्स्योरेन्स नेपालको दोस्रो पुनर्बीमा कम्पनी हो ।


क्लिकमान्डु