सरकारले गरिबलाई सम्झेर प्रतिपरिवार १० हजार राहत दिन लागेको छ: अर्थमन्त्री



पोखरा । अर्थमन्त्री जनार्दन शर्माले सरकारले गरिबलाई सम्झेर प्रतिपरिवार १० हजार दिन लागेको बताएका छन् । पोखरामा प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री शर्माले अनियमितताको विषयमा कुनै पार्टी वा नेताको मुख नहेरी त्यसको सशक्त भण्डाफोर गर्न आग्रह गरे ।

‘गलत क्रियाकलापका विरुद्ध आफ्नो अर्को हेर्ने होइन, त्यसको विरोधमा कलम चलाउनुस् । मैले कुनै गल्ती गरेँ भने मेरो पनि भण्डाफोर गर्नुस् ।’ उनले भने, ‘सत्यलाई स्थापित गर्ने र गलतको विरोध गर्ने दायित्व पत्रकारहरुको काँधमा छ ।’


देशमा आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि सरकारले काम गरिरहेको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले उत्पादन र रोजगारी सृजनाको पक्षमा समेत कलम चलाउन आग्रह गरे ।

सरकारले पहिलो पटक गरिबहरुलाई सम्झेर अतिविपन्न परिवारहरुलाई मासिक १० हजार राहत दिने, राजनीतिक आन्दोलनका शहीद परिवारलाई मासिक ३ हजार भत्ता दिने, दीर्घरोगीहरुलाई मासिक ५ हजारका दरले उपचार खर्च दिने, घाइते तथा अपाङ्गता भएकाहरुको व्यवस्थापन, दलित आवासलगायतका लोकहितकारी निर्णय गरेको उनले जानकारी दिए ।

सरकार सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको भन्दै मन्त्री शर्माले कतिपय प्रदेशहरुमा आम संचार प्रतिष्ठान गठन सम्बन्धी विधेयहरु पत्रकारमैत्री नभएको गुनासो सुनिएकाले त्यसलाई सच्याउनुपर्नेमा जोड दिए ।

मन्त्री शर्माले पत्रकारहरुको क्षमता अभिबृद्धि गर्न तालिम संचालन गर्नको लागि आवश्यक परे सरकारको तर्फबाट सहयोग हुने विश्वास दिलाउनुभयो । उहाँले अनुसन्धानमुखी र खोजमूलक पत्रकारिताको विकास गर्नुपर्ने बताए ।


क्लिकमान्डु