अर्थमन्त्रीलाई बैंकका सीइओको प्रश्नः मन्त्रीज्यू पैसा सकियो के गर्ने ?



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई छलफलमा डाके । अर्थमन्त्रीले बैंकरसँग छलफल गर्नुको उद्देश्य थियो बैंकहरुमा ऋण दिनको पैसा सकिएको विषय ।

अर्थमन्त्रीले तरलताको विषयमा बोलाएको छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी तथा डेपुटी गभर्नर बमबहादुर मिश्र सहभागी थिए ।

छलफलको शुरुमा राष्ट्र बैंकको तर्फबाट अहिलेको अर्थतन्त्रको विषयमा कार्यपत्र प्रस्तुत भयो ।

बैंकरहरुले ऋण दिने पैसा सकिएको र यसमा अर्थमन्त्रालयले सहजिकरण गर्नुपर्ने बताएका थिए ।

बैठकमा अधिकांश बैंकका प्रमुख कार्यकारी अधिकृत सहभागी थिए भने केही बैंकबाट डेपुटी सीइओ सहभागी थिए ।

अर्थमन्त्रीसँगको छलफलमा राष्ट्र बैंकको तर्फबाट कार्यपत्र प्रस्तुत भएपनि गभर्नर महाप्रसाद अधिकारीले भने केही बोलेनन् ।

बैकर्स संघका नवनिर्वाचित अध्यक्ष अनिल उपाध्यायले तरलता अभावको कारण ऋण दिन समस्या भएको बताएका थिए ।

बैठकमा सहभागी भएकी मेगा बैंककी डेपुटी सीइओ रविना देशराज श्रेष्ठले पनि बैंकमा ऋण दिने पैसा पूर्णरुपमा सकिएको बताइन् ।

हिमालयन बैंकका सीइओ अशोक राणाले एफपीओ जारी गर्दा प्रिमियम रकममा कर लगाउनुपर्ने महालेखा परीक्षक कार्यालयको दिएको प्रतिवेदनले समस्या परेको भन्दै यसमा सहजिकरण गर्नुपर्ने बताएका थिए ।
बैठकमा कुरा सुनेका अर्थमन्त्री शर्माले बैंकहरुले प्रवाह गरे अनुसारको कर्जाको प्रभाव आर्थिक वृद्धिदरमा नदेखिएको बताएका थिए ।

बैंकहरुले उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्न र सो क्षेत्रमा जाने कर्जालाई नरोक्न अर्थमन्त्री शर्माले बैंकरलाई निर्देशन दिए ।


क्लिकमान्डु