हिम इलेक्ट्रोनिक्सको व्यापार एकवर्षमा २ अर्बले बढ्यो



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको कम्पनी हिम इलेक्ट्रोनिक्सको व्यापार एकवर्षमा २ अर्बले बढेको छ ।

सामसङ होम एप्लाइन्सको नेपालको लागि आधिकारिक बिक्रेता हिम इलेक्ट्रोनिक्समा शेखर गोल्छाको व्यक्तिगत रुपमा ७५ प्रतिशत सेयर हिस्सा छ । बाँकी सेयर भने शेखरको परिवारको रहेको छ ।

कम्पनीले गत आर्थिक वर्षमा ६ अर्ब ८१ करोड रुपैयाँको व्यापार गरेको छ । यो लेखापरिक्षण हुनु अगाडिको हो । कम्पनीले अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ७० करोड रुपैयाँको व्यापार गरेको थियो ।

कोभिडको कारण सन् २०२० मा व्यापार प्रभावित भएपनि सन् २०२१ मा भने कारोबार बढेको हो । सन् २०१९ को भन्दा २०२० मा भने कोभिडको कारण हिम इलेक्ट्रोनिक्सको व्यापार घटेको थियो । सन् २०१९ मा हिम इलेक्ट्रोनिक्सले ५ अर्ब ९ करोडको व्यापार गरेको थियो ।

४ अर्ब १४ करोड रुपैयाँ ऋणको रेटिङ


हिम इलेक्ट्रोनिक्सले ४ अर्ब १४ करोड रुपैयाँ ऋणको लागि रेटिङ गराएको छ । कम्पनीले १ अर्ब ७३ करोड फण्डबेस अल्पकालको लागि र २ अर्ब ४१ करोड नन फण्डबेस अल्पकालका लागि कर्जाको रेटिङ गराएको हो ।


क्लिकमान्डु