नागढुङ्गा सुरुङमार्ग: बलम्बुमा मुआब्जाको रकम निर्धारण हुँदै



काठमाडौं । नागढुङ्गा सुरुङमार्गमा रहेको बलम्बुमा रहेको जग्गाको मुआब्जा रकम निर्धारण हुने भएको छ ।

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख नरेशमान शाक्यका अनुसार बलम्बुमा निर्माण हुने फ्लाइओभरका लागि आवश्यक जग्गा अधिग्रहणमा मुआब्जा रकम निर्धारण समस्या कात्तिक २६ गते (शुक्रबार) जिल्ला प्रशासन कार्यलयमा छलफल गरेर टुङ्ग्याइने बताए ।

सीडीयो कार्यालयबाट शुक्रबार दिउँसो ३ बजे बैठकका लागि बोलाइएको शाक्यले जानकारी दिए ।

सडक विकासमा नयाँ आयाम थप्ने सुरुङमार्ग र फ्लाइओभर निर्माणका लागि जग्गा प्राप्ति मुख्य अवरोधका रुपमा रहेको थियो । अरु विवाद रहेका जग्गामा मात्रै जग्गा अधिग्रहणका लागि रकम निर्धारण बाँकी रहेको आयोजनाले जनाएको छ ।

जग्गा प्राप्त भइसकेको ठाउँबाट फ्लाइओभरको निर्माण शुरु गरिएको छ । बलम्बुमा पहुँच सडकबाट फ्लाइओभर शुरु भएको प्रमुख शाक्यले बताए ।

‘अबको बैठकले बाँकी कुरा टुङ्गाएमा अरु ठाउँमा पनि निर्माण अघि बढाइनेछ,’ शाक्यले भने ।

सुरुङ खनेपछि पानीको अभाव हुने भन्दै स्थानीयबासीले खानेपानीको व्यवस्थापनको माग गरेका थिए । त्यहाँको खानेपानी समस्या समाधानका लागि ट्याङ्की निर्माण अन्तिम चरणमा पुगेको शाक्यले बताए ।

केही दिनमा घर–घरमा लाने पाइपको काम शुरु हुने पनि जानकारी दिएका छन् ।

‘त्यसका लागि आयोजनाले बजेट छुट्टाइसकेको छ भने नगरपालिकासँगको समन्वयमा पाइप विछ्याइने छ,’ शाक्यले भने, ‘अहिले धादिङ जिल्लास्थित केही जग्गाको अख्तियारमा मुद्दा रहेकाले छानबीनको क्रममा रहेको छ ।

श्रेष्ठले काठमाडौं जिल्लामा पनि केही जग्गा प्राप्ति गर्न बाँकी रहेको बताए ।

भोलि बस्ने भनेको बैठकले निर्णय गरेमा छिटपुट बाँकी विषय पनि टुङ्गो लगाउने शाक्यको भनाइ छ ।

‘चाडपर्वका कारण छलफल भएको थिएन, चाडपर्व सकिएकाले अब सबै खाले समस्याका लागि छलफल हुनेछ,’ शाक्यले भने ।

नागढुङ्गा सुरुङमार्गको काम भने अहिले तीव्रगतिमा भइरहेको शाक्यको भनाइ छ । शाक्यका अनुसार हालसम्म आइपुग्दा कुल ५४९९ मिटरमध्ये १७६२ मिटर सुरुङ खन्ने काम सकिएको छ ।


क्लिकमान्डु