बोर्डको अध्यक्षमा ११ जना दाबेदार, कसले मार्ला बाजी (नामावलीसहित)



काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्नका लागि ११ जनाको आवेदन परेको छ । बिहीबार ४ बजेसम्म ११ जनाको आवेदन परेको अर्थमन्त्रालयले जानकारी गराएको छ ।

मन्त्रालयका अनुसार अनिल पौडेल, नेपाल नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट, कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्य, धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी, उप-कार्यकारी निर्देशक डा. नवराज अधिकारीले आवेदन दिएका छन् ।

यस्तै नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पूर्वमहाप्रबन्धक सिताराम थपलिया, बीमा समितिका पूर्वअध्यक्ष चिरन्जीवी चापागाई, सेयर बजारका जानकार डा. केशवप्रसाद श्रेष्ठ, जीवन अमगाई, रमेश हमाल र अम्बिका शर्मा लामिछानेले पनि आवेदन दिएका छन् ।

अर्थमन्त्रालयले कात्तिक ११ गते बोर्डको अध्यक्ष नियुक्तिका लागि भन्दै १५ दिन अवधिभित्र शिलबन्दी आवेदन दिन माग गरेको थियो । अन्तिम दिनसम्म ११ जनाको आवेदन परेको हो ।

धितोपत्र बोर्डको यसअघिका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका सीइओ चन्द्रसिंह साउद सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएका थिए । उक्त प्रकरणमा परेपछि साउदले राजीनामा दिएका छन् भने ढुंगानालाई सरकारले नै बर्खास्त गरेको छ ।

सरकारले निलम्बन गरेपछि ढुंगाना आफू निर्दोष रहेको पुष्टि गर्न भन्दै सर्वोच्च अदालत पुगेका छन् । अदालतमा पछिल्लो समय देखिएको यो समस्याका कारण उक्त मुद्दामा बहस हुन सकेको छैन । ढुंगानाको मुद्दा किनारा नलाग्दै सरकारले अर्को अध्यक्ष नियुक्तिको प्रकृया अगाडि बढाएको छ । बोर्डमा आउने नयाँ नेतृत्वले करिब २ वर्ष मात्रै काम गर्न पाउनेछन् ।


क्लिकमान्डु