वामदेव गौतमले भने- एमसीसी फिर्ता लैजानु श्रेयकर



काठमाडौं । वामदेव गौतमले एमसीसी फिर्ता लैजानु श्रेयकर भएको बताएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै नेता गौतमले एमसीसी परियाजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सिर्जना हुने देखिएको बताएका छन् ।

‘नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद रहेको छ, नेपाल सरकारले र संसदले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ यस्तो अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकार समक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु ।’

उनले यो अवस्थालाई मध्यनजर गर्दैै एकपक्षीय रुपमा भए पनि मित्र राष्ट्र अमेरिकी सरकारीलाई एमसीसी परियोजना फिर्ता लगेर नेपालको हित प्रबर्द्धन गर्न अनुरोध समेत गरेका छन् ।

उनले नेपाल र अमेरिकाबीच सन् १९४७ देखिनै दौत्य सम्बन्ध कायम भएदेखि आजसम्म घनिष्ट मित्रतापूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै त्यसयता दुई मुलुकबीच कुनै पनि विवाद नआएको समेत बताएका छन् ।


क्लिकमान्डु