उपभोक्ता ठगिनबाट रोक्ने जिम्मेवार पाएको विभाग एक महिनादेखि नेतृत्वविहीन



काठमाडौं । बजारमा भएका कालोबजारी रोक्न जिम्मेवारी पाएका वाणिज्य, आपूर्ति तथा संरक्षण विभाग एक महिनादेखि नेतृत्वविहीन रहेको छ ।

बजारमा उपभोक्ता संरक्षण ऐन २०७५ विपरित कारोबार गर्ने व्यवसायीलाई अनुगमन गरी उपभोक्तालाई ठगिनबाट जोगाउने र कालोबजारी रोक्ने जिम्मेवारी पाएको निकाय दशैं अघिबाटै नेतृत्वविहीन भएको हो ।

विभागले दैनिक रुपमा उपभोक्ताको गुनासोलगायत अन्य नियमित अनुगमन गर्दै आएका छन् । तर, विभागमा एक महिनाभन्दा अघिबाट विभागीय प्रमुख (महानिर्देशक) पद रिक्त अवस्थामा रहेको छ ।

यसअघि विभागीय प्रमुखको रुपमा प्रकाश पौडेल थिए । उनले गत असोज १७ गतेबाट विभागीय प्रमुखबाट हटेको थियो । साथै, निवर्तमान महानिर्देशक प्रकाश पौडेल कात्तिक १ गतेदेखि राजस्व अनुसन्धान विभागको प्रमुख पदमा हाजिर भइसकेका छन् ।

तर, विभागमा भने हालसम्म कुनै पनि महानिर्देशक आउन सकेको छैन । उपभोक्ताको हितमा काम गर्ने जिम्मेवारी पाएको उक्त विभागको काम चलाउने जिम्मा सोही विभागको निर्देशक डमरुप्रसाद निरौलाले लिएका छन् ।

विशेषगरी चाडपर्वको समयमै बजारमा अनियन्त्रित कारोबार गर्ने भएकाले सरकारले थप कर्मचारी परिचालन गरी अनुगमनको व्यवस्था गर्दै आएको छ । तर, सोही समयमा महानिर्देशक नहुँदा काम निकै प्रभाव परेको विभागका कर्मचारीहरू बताउँछन् ।

‘विभागका अधिकांश कार्यहरू महानिर्देशकको निर्देशनमा कार्य अगाडि बढ्छ । हाल दैनिक रुपमा भइरहेको अनुगमन भए पनि महानिर्देशकले गर्नुपर्ने कार्यमा निकै प्रभाव परेको छ,’ विभागका एक कर्मचारीले भने ।

हाल बजारमा अधिकांश खाद्यान्नलगायत सम्पूर्ण सामग्रीको मूल्य वृद्धि भएको छ । साथै, अनुगमनबाट चित्त नबुझेको अवस्थामा दैनिक रुपमा गुनासो प्राप्त हुन्छ । उक्त कार्यको सम्पूर्ण जिम्मेवारी विभागको हुन्छ । करिब एक महिनादेखि महानिर्देशक नहुँदा काम कारबाहीको कार्यमा निकै प्रभावित भएको ती कर्मचारीको भनाइ छ ।

तर, महानिर्देशक नभएपनि दैनिक रुपमा हुने अनुगमन भने भइरहेको उनले बताए ।

‘महानिर्देशक नभएको अवस्थामा पनि विभागले निरन्तर अनुगमन गरिरहेको छ । त्यसमा खासै असर परेको छैन । अन्य महानिर्देशकले गर्नुपर्ने कार्यमा भने असर परेको छ,’ ती कर्मचारीले भने ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकार उपभोक्ताप्रति गैरजिम्मेवार भएको बताए । उनकाअनुसार लामो समयदेखि विभागीय प्रमुख खाली हुँदा उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार अनियन्त्रित कारोबार गर्ने व्यवसायीहरूलाई पक्राउ गरी थुनचेक गर्ने काम विभागीय प्रमुखलाई हुन्छ । तर, मुख्य चाडपर्वमै विभागीय प्रमुख नहुँदा कालोबजारी मौलाएको छ ।

‘निमित्तको भरमा मुख्य चाडपर्व दशैं, तिहार, छठमा पनि बढी मूल्य, कार्टेलिङ, व्यापारीको मनोमानी तथा कालोबजारी भएको बेलामा बजार नियन्त्रण गर्नुपर्ने निकायमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गैरजिम्मेवारी काम गरेको छ,’ उनले भने ।

उनकाअनुसार उक्त कार्य निकै खेदजनक रहेको बताए । उपभोक्ताकर्मीहरूले विभागमा महानिर्देशकको नियुक्तिका लागि यसअघि नै सुझाव दिइसकेको छ ।

बजारमा चिनी, खाद्यान्न, तरकारीलगायत अन्य वस्तुमा उच्च रुपमा मुल्यवृद्धि भएको अवस्थमा महानिर्देशक नियुक्त गरेर उपभोक्ता हितको लागि सक्रिय भएर अनुगमन गर्नुपर्ने उनले सुझाए ।


क्लिकमान्डु