प्रदेश १ मा फस्टायो घरजग्गाको कारोबार



काठमाडौं । प्रदेश १ मा घरजग्गाको कारोबार निकै फस्टाएको छ । नेपाल राष्ट्र बैंकले उक्त प्रदेशमा गरेको आर्थिक गतिविधिको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हाे ।

प्रतिवेदनमा उल्लेख भए अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष घरजग्गा रजिष्ट्रेशन संख्या ३६.४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ५८.२ प्रतिशतले घटेको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा घरजग्गा रजिष्ट्रेशन बापतको राजस्व ६८.८ प्रतिशतले वृद्धि भई ५ अर्ब ९९ करोड रुपैयाँ परिचालन भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो राजस्व ३८.७ प्रतिशतले वृद्धि भई ३ अर्ब ५५ करोड रुपैयाँ परिचालन भएको थियो । यो अवधिमा घर-भवन नक्सा पास संख्या ३.६ प्रतिशतले बढको छ । जुन अघिल्लो आर्थिक वर्षमा यस्तो संख्या २०.७ प्रतिशतले घटेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

अघिल्लो आर्थिक वर्षमा कोभिड–१९ महामारीका कारण सरकारले गरेको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण घरजग्गा कारोबार रकममा पनि कमी आएको थियो । त्यसको असर प्रदेश १ मा मात्रै नभएर अन्य प्रदेशमा पनि परेको थियो । अहिले कारोना महामारी न्यून भएको र बन्दाबन्दी पनि नभएको कारणले गर्दा घरजग्गाको कारोबार सुधारोन्मुख देखिएको छ ।

अध्ययन प्रतिवेदन अनुसार यो अवधिमा आर्थिक गतिविधि बढेसँगै घरजग्गा कारोबार संख्यामा सुधार आएको हो । कोरोना संक्रमण नबढ्ने हो भने आगामी दिनमा यो क्रम अझै बढ्दै देखिएको छ । आव २०७५/०७६ को तुलामा आव २०७६/०७७ मा घरजग्गाको दर्ता तथा घर र भवनको स्थायी नक्सा पासमा केही कमी आएको भएपनि आव २०७७/०७८ मा यो क्रम बढेको अध्ययनले देखाएको छ ।


क्लिकमान्डु