फ्रान्स र इयुका राजदूतसँग उर्जामन्त्रीको छुट्टाछुट्टै माग



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि फ्रान्सका राजदूत जिल बुरबाओले भेटवार्ता गरेकी छिन् ।

मन्त्रालयमा भएको भेटमा नेपाल–फ्रान्सबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भएको छ ।

भेटमा ऊर्जामन्त्री भुसालले ऊर्जा सञ्चिति तथा ‘हाइड्रो इनर्जी’सँग सम्बन्धी प्रविधिबारे चासो राख्दै नेपालमा उपलब्ध ऊर्जालाई व्यवस्थित गर्न चाहेको बताइन् ।

उनले जलविद्युत् खपत गर्ने फ्रान्सका उद्योगहरूलाई नेपालमा स्थापनाका लागि आवश्यक सहयोग उपलब्ध गराउने विश्वास दिलाउँदै त्यसका लागि पहल गर्न आग्रह गरिन् ।

नेपालले जलवायु परिवर्तनको मार खेप्नु परेको यथार्थ बताउँदै मन्त्री भुसालले अन्तर्राष्ट्रिय मञ्चमा नेपालजस्ता मुलुकका मुद्दालाई सक्रियतापूर्वक उठाउनुपर्नेमा जोड दिइन् ।

नेपाल–फ्रान्सबीच रहदै आएको आपसी सम्बन्ध आगामी दिनमा अझ विस्तार हुने विश्वास व्यक्त गर्दै मन्त्री भुसालले फ्रान्सले नेपाललाई उपलब्ध गराउँदै आएको आर्थिक एवं सामाजिक क्षेत्रको सहयोग निरन्तर हुने विश्वस व्यक्त गरिन् ।

भेटमा फ्रान्सका राजदूत बुरबाओले ऊर्जा क्षेत्रमा फ्रान्सले विकास गरेको नयाँ प्रविधि नेपालमा भित्र्याउनका लागि आफ्नो देशका निजी कम्पनी इच्छुक रहेको बताउँदै त्यसका लागि सहयोग गर्न आग्रह गरे ।

उनले वैकल्पिक ऊर्जा एवं ऊर्जा सञ्चितिका सम्बन्धमा फ्रान्समा विकास भएका प्रविधि नेपाल ल्याउन चाहेको बताए ।

यस्तै मन्त्री भुसालले नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्रेजसँग भेटवार्ता गरेकी छिन् ।

मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय एवं बहुपक्षीय चासोका विषयमा छलफल भएको थियो ।

त्यस अवसरमा मन्त्री भुसालले राजनीतिक स्थायित्वसँग आर्थिक विकासमा नेपाल अगाडि बढेको बताउँदै त्यसका लागि युरोपेली सङ्घले सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।

जलवायु परिवर्तनका विषयमा सामूहिक ऐक्यबद्धता व्यक्त गर्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले युरोपेली सङ्घ र सदस्य मुलुकले चासो दिनुपर्ने उनको भनाइ छ ।

भेटमा अवसरमा राजदूत डेप्रेजले जलवायु परिवर्तनको असरसँग जुध्न सामूहिक पहल मुख्य भएको उल्लेख गर्दै त्यस विषयमा नेपालको पक्षमा ऐक्यबद्धता व्यक्त गरिन् ।

युरोपेली सङ्घ र सदस्य मुलुकको वैकल्पिक ऊर्जाका क्षेत्रमा विशेष चासो रहेको र त्यसको प्रवद्र्धनमा आफूहरु नेपाल सरकारसँग सहकार्य गर्न तयार रहेको बताइन् ।


क्लिकमान्डु