हिरासतबाटै इच्छाराज तामाङले भने- सिभिल बैंकको अध्यक्षबाट राजीनामा दिन्छु



काठमाडौं । सहकारीका बचतकर्ता र हाउजिका बुकिकर्ताको अर्बौं ठगी गरेको अभियोगमा पक्राउ परी प्रहरी हिरासतमा रहेका इच्छाराज तामाङले सिभिल बैंकको अध्यक्षबाट राजीनामा दिने घोषणा गरेका छन् ।

सिभिल कोअपरेटिभ र सिभिल होम्स प्रयोग गरेर तामाङले सर्वसाधारणको ७ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको आरोप लागेको छ । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी)ले गत असोज १८ गते पक्राउ गरी हिरासतमा राखेको छ ।

केही दिनअघि आफूलाई हिरासतमै भेट्न पुगेका बैंकका केही सञ्चालकहरु समक्ष तामाङले अध्यक्षबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

‘अब कसरी अघिबढ्ने भन्ने विषयमा छलफल गर्न हामी केही सञ्चालकहरु इच्छाजीलाई भेट्न हिरासतमै पुगेका थियौं,’ एक सञ्चालकले क्लिकमाण्डुसँग भने, ‘उहाँले अब अध्यक्षबाट राजीनामा दिएर मार्गप्रसस्त गर्छु भन्नु भएको छ ।’

प्रहरी हिरासतमा भएको व्यक्तिले न्यायधीशको रोहबरमा राजीनामा दिनुपर्ने हुन्छ । अध्यक्ष तामाङले आफ्ना निजी वकिलसँग यस विषयमा छलफल गरिरहेका छन् ।

तामाङ पक्राउ परेको केही दिनमै उनको अनुपस्थितीमा पनि बैंक सञ्चालक समितिको बैठक बसेर कसरी अघिबढ्ने भन्ने विषयमा छलफल भएको र उक्त छलफलमा अधिकांश सञ्चालकहरुले तामाङले राजीनामा दिनु उपयुक्त भएको ठहर गरेका थिए । यस्तो निष्कर्षसहित सञ्चालकहरु राष्ट्र बैंकमा सुझाव लिन पुगेको थिए । यसरी सुझाव लिन पुगेका सञ्चालकहरुलाई राष्ट्र बैंकले आफूले केही गर्न नमिल्ने तर तामाङले आफै बुझेर राजीनामा दिनु नै सबैभन्दा उपयुक्त विकल्प हुने सुझाव दिएको थियो ।

‘अध्यक्ष तामाङ पक्राउ परेपछि सिभिल बैंकका केही सञ्चालकज्यूहरु के गर्ने भनेर सल्लाह सुझाव लिन राष्ट्र बैंकमा आउनु भएको थियो,’ राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले क्लिकमाण्डूसँग भने ‘यस विषयमा राष्ट्र बैंकले केही बोल्न मिल्दैन, तामाङजीले आफै बुझेर राजीनामा दिँदा राम्रो हुन्छ भन्ने सुझाव दिएका छौं ।’

यति ठूलो घोटाला प्रकरणमा मुछिएपछि तामाङले आफंले बुझेर बैंकका अध्यक्ष पदबाट राजीनामा दिँदा उपयुक्त हुने मात्र नभइ बैंकको छविमा समेत आँच नपुग्ने सञ्चालक र राष्ट्र बैंकका अधिकारीहरुको बुझाइ छ ।

रसियाबाट इन्जिनियरिङ गरेर नेपाल फर्किएका तामाङले घर जग्गाको व्यवसाय गरेको थिए । पछि सहकारीमा समेत हात हालेका तामाङ निकै सफल भएका थिए । घर जग्गाको व्यवसायले उनी छोटो समयमा नै अर्बपति समेत बन्न सफल भएका थिए । व्यवसायमा उल्लेख्य सफलता हासिल भएपछि तामाङको अग्रसरतामा सिभिल बैंक खुलेको थियो ।

नेकपा एमालेबाट सांसद् समेत बन्न सफल भएका तामाङ सत्ता र पैसाको उन्मादसँगै उच्च महत्वकाङक्षाले अधोगतितर्फ धकेलिए । सहकारीका बचतकर्ता र हाउजिङको मोटो रकम हिनामिना गरेका तामाङले सत्ता र शक्तिको दुरुपयोग गर्दै सर्वसाधारणको बचत तथा बुकिङ बापतको रकम फिर्ता गर्न अटेर गर्दै आएका थिए ।


घरजग्गाको व्यवसायले रातारात अर्बपति बनेका तामाङ समयमा नै उचित व्यवस्थापन गर्न नसक्दा प्रहरी हिरासतको चिसो छिँडीमा पैसा हिसाबकिताब गर्दै बस्नु पर्ने अवस्थामा आइपुगेका छन् । हिरासतबाट निस्केर तत्कालै व्यवहार नमिलाउने हो भने तामाङ फेरी व्यवसायमा माथि उठ्न सक्ने सम्भावना रहँदैन ।

व्यवहार मिलाउनका लागि उनले सिभिल बैंकमा रहेको सेयरका साथै विभिन्न ठाँउमा रहेको स्थिर सम्पत्ति बिक्री गर्नुपर्ने हुन्छ । व्यवहार मिलाएपनि तामाङको छवि पहिलेको जस्तो उच्च कदको हुने सम्भावना भने छैन ।

तामाङसँग कति छ सिभिल बैंकको सेयर ?

सिभिल बैंकमा इच्छाराज तामाङको २९ लाख ४५ हजार ७०० कित्ता र उनकी श्रीमति सिर्जना शाक्यको १ लाख ९५ हजार १ सय २२ कित्ता गरी कूल ३१ लाख ४० हजार ८ सय २२ कित्ता सेयर छ । यसबाहेक तामाङका आफन्तको नाममा केही लाख कित्ता सेयर रहेको सिभिल बैंकको उच्च स्रोतले जानकारी दियो ।
व्यवहार मिलाउन गाह्रो परेपछि केही वर्षअघि तामाङले श्रीमति सिर्जनाका नाममा भएको १७ लाख ५३ हजार ५ सय ९४ कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँका दरले १७ करोड ५३ लाख ५९ हजार ४ सय रुपैयाँमा कर्मचारी सञ्चय कोषलाई बिक्री गरेका थिए ।

श्रीमान बैंकको अध्यक्ष भएका बेला श्रीमतीले सेयर बेच्न नपाउने कानुनी व्यवस्था छल्न तामाङले श्रीमति सिर्जना शाक्यसँग नक्कली सम्बन्धबिच्छेद समेत गर्न भ्याएका थिए । कागजीरुपमा सम्बन्धबिच्छेद गरीका तामाङ दम्पती एउटै घरमा बस्दै आएका छन् ।

‘अन्य सम्पत्तिमा लफडा छ भनेको बेला बिक्दैन, अब तामाङजीले बैंकको सेयर बिक्री गरेर व्यवहार मिलाउनुपर्ने देखिन्छ,’ स्रोतले भन्यो ।

बैंकमा रहेको संस्थापक सेयर बिक्री गर्दा तामाङलाई ३१/३२ करोड रुपैयाँ आउँछ । जुन रकमले उनको व्यवहार मिलाउन ठूलो टेवा मिल्छ ।


क्लिकमान्डु