हिरासतमा रहेका इच्छाराज तामाङलाई सिभिल बैंकको अध्यक्षबाट राजीनामा दिन सुझाव र दबाब




काठमाडौं । सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई पदबाट राजीनामा दिन राष्ट्र बैंक र सिभिल बैंककै अधिकारीहरुले सुझाव दिएका छन् ।

सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड र सिभिल होम्समा अर्बौं घोटाला गरेको अभियोगमा गत असोज १८ गते अध्यक्ष तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पक्राउ गरेको थियो । उनी पक्राउ परेपछि दिनानुदिन उजुरी थपिएका थपियै छन् ।

सीआइबीका अनुसार हालसम्म उनीमाथि ७ अर्ब रुपैयाँभन्दा बढी अनियमितता गरेको उजुरी परेको छ ।

पक्राउपरेदेखि तामाङ सीआइबीको हिरासतमै छन् । उक्त प्रकरणमा तामाङसहित १२ जनालाई सीआइबीले पक्राउ गरेको थियो ।
प्रहरी हिरासतमा रहेका तामाङलाई बैंकका सञ्चालकहरु र राष्ट्र बैंकका अधिकारीहरुले पदबाट राजीनामा दिन सुझाव दिएका हुन् ।

‘अध्यक्ष तामाङ पक्राउ परेपछि सिभिल बैंकका केही सञ्चालकज्यूहरु के गर्ने भनेर सल्लाह सुझाव लिन राष्ट्र बैंकमा आउनु भएको थियो,’ राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले क्लिकमाण्डूसँग भने ‘यस विषयमा राष्ट्र बैंकले केही बोल्न मिल्दैन, तामाङजीले आफै बुझेर राजीनामा दिँदा राम्रो हुन्छ भन्ने सुझाव दिएका छौं ।’

बैंकका केही सञ्चालकहरु अध्यक्ष तामाङलाई पदमुक्त गराएर नयाँ अध्यक्ष चयन गर्ने अनौपचारिक प्रस्ताव लिएर राष्ट्र बैंक पुगेका थिए ।

यति ठूलो घोटाला प्रकरणमा मुछिएपछि तामाङले आफंले बुझेर बैंकका अध्यक्ष पदबाट राजीनामा दिँदा उपयुक्त हुने मात्र नभइ बैंकको छविमा समेत आँच नपुग्ने सञ्चालक र राष्ट्र बैंकका अधिकारीहरुको बुझाइ छ ।

तामाङ पक्राउपरेसँगै सिभिल बैंकको छविमा गम्भिर आँच आएको निष्कर्ष निकाल्दै केही सञ्चालकहरुले उनको राजीनामा मागेका हुन् ।
सिभिल को-अपरेटभ, सिभिल होम्स र बैंक फरक पाटो भएका कारण तामाङले राजीनामा दिँदा बैंकको छवि राम्रो हुने र निक्षेपकर्ता समेत त्रसित हुन् नपर्ने सञ्चालकको बुझाइ रहेको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा बैंकको सञ्चालक पदमुक्त हुनका लागि आर्थिक अनियमितता तथा फौजदारी अभियोग प्रमाणित भएमा, बैंकिङ कसुरको अभियोग लागेको हुनुपर्छ । साथै लगातार सञ्चालक समितिको तीन वटा बैठकमा बिनाजानकारी वा बिनाकारण अनुपस्थित भएमा पनि सञ्चालक समितिले स्पष्टिकरण सोधेर पदमुक्त गर्न सक्ने व्यवस्था रहेको छ ।

तर. अहिले तामाङ ठगी आरोपमा हिरासतमा रहेकाले अभियुक्त मात्रै हुन्, अरोपित होइनन् । जसकारण उनले राजीनामा नै गर्नुपर्ने कानूनी बाध्यता छैन ।

तामाङ प्रहरी हिरासतमा रहेकाले बैंक सञ्चालक समितिको बैठकमा उपस्थित हुन नसक्नुको कारण पनि खुलेको छ ।

हिरासतमा रहेको व्यक्तिले सीधै राजीनामा पठाउन नमिल्ने कानूनी व्यवस्था छ । हिरासतमा रहेको व्यक्तिले वकिलको रोहबरमा न्यायाधीश समक्ष राजीनामा दिनुपर्ने हुन्छ । स्रोतका अनुसार अध्यक्ष तामाङले अहिले राजीनामा दिने वा नदिने भन्ने विषयमा आफ्नो वकिलसँग परामर्श गरिरहेका छन् ।

तामाङ पक्राउ परेको केही दिनमै उनको अनुपस्थितीमा पनि बैंक सञ्चालक समितिको बैठक बसेर कसरी अघिबढ्ने भन्ने विषयमा छलफल भएको र उक्त छलफलमा अधिकांश सञ्चालकहरुले तामाङले राजीनामा दिनु उपयुक्त भएको ठहर गरेका थिए । यस्तो निष्कर्षसहित सञ्चालकहरु राष्ट्र बैंकमा सुझाव लिन पुगेको थिए । यसरी सुझाव लिन पुगेका सञ्चालकहरुलाई राष्ट्र बैंकले आफूले केही गर्न नमिल्ने तर तामाङले आफै बुझेर राजीनामा दिनु नै सबैभन्दा उपयुक्त विकल्प हुने सुझाव दिएको थियो ।

असोज १८ मा पक्राउ परेका तामाङको दशैं प्रहरी हिरासतमा बितेको छ । अदालतले बुधबार पुनः १० दिनको लागि म्याद थपेसँगै तामाङको तिहार पनि हिरासतमै बित्ने भएको छ ।

रसियाबाट इन्जिनियरिङ गरेर नेपाल फर्किएका तामाङले घर जग्गाको व्यवसाय गरेको थिए । पछि सहकारीमा समेत हात हालेका तामाङ निकै सफल भएका थिए । घर जग्गाको व्यवसायले उनी छोटो समयमा नै अर्बपति समेत बन्न सफल भएका थिए । व्यवसायमा उल्लेख्य सफलता हासिल भएपछि तामाङको अग्रसरतामा सिभिल बैंक खुलेको थियो ।

नेकपा एमालेबाट सांसद् समेत बन्न सफल भएका तामाङ सत्ता र पैसाको उन्मादसँगै उच्च महत्वकाङक्षाले अधोगतितर्फ धकेलिए । सहकारीका बचतकर्ता र हाउजिङको मोटो रकम हिनामिना गरेका तामाङले सत्ता र शक्तिको दुरुपयोग गर्दैै सर्वसाधारणको बचत तथा बुकिङ बापतको रकम फिर्ता गर्न अटेर गर्दै आएका थिए ।

घरजग्गाको व्यवसायले रातारात अर्बपति बनेका तामाङ समयमा नै उचित व्यवस्थापन गर्न नसक्दा प्रहरी हिरासतको चिसो छिँडीमा पैसा हिसाबकिताब गर्दै बस्नु पर्ने अवस्थामा आइपुगेका छन् । हिरासतबाट निस्केर तत्कालै व्यवहार नमिलाउने हो भने तामाङ फेरी व्यवसायमा माथि उठ्न सक्ने सम्भावना रहँदैन ।

व्यवहार मिलाउनका लागि उनले सिभिल बैंकमा रहेको सेयरका साथै विभिन्न ठाँउमा रहेको स्थिर सम्पत्ति बिक्री गर्नुपर्ने हुन्छ । व्यवहार मिलाएपनि तामाङको छवि पहिलेको जस्तो उच्च कदको हुने सम्भावना भने छैन ।


क्लिकमान्डु