जावलाखेल ग्रुपले ‘हेवार्डस् ५०००’ स्ट्रोङ बियर पुसदेखि बजारमा ल्याउँदै



काठमाडौं । जावलाखेल ग्रुप अफ कम्पनीले ‘बडवाइजर’सँगै अब सोही कम्पनी अन्तर्गतको हेवार्डस् ५००० नामक स्ट्रोङ बियरको उत्पादन शुरु गर्ने भएको छ ।

डेढ दर्जन ब्राण्डमा विभिन्न प्रकारका मदिरा उत्पादन गर्दै आएको यो समूहले दक्षिण एसियामा सबैभन्दा बढी बिक्री हुने स्ट्रोङ बियर ‘हेवार्डस् ५०००’ नेपाली बजारमा पुसदेखि उपलब्ध गराउने गरी उत्पादनको काम शुरु गरिसकेको छ ।

यसअघि यो बियर चौधरी ग्रुपले उत्पादन गर्दै आएको थियो । चौधरी ग्रुपले उत्पादन बन्द गरेपछि जावलाखेल ग्रुप अफ कम्पनीले बियर उत्पादन शुरु गर्ने भएको हो ।

कम्पनीले अन्तर्राष्ट्रियस्तरमा सबैभन्दा बढी बिक्री हुने बडवाइजरको उत्पादन शुरु गरेको केही समयपछि नै सोही कम्पनी अन्तर्गतको हेवार्डस् ५००० स्ट्रोङ बियर पनि उत्पादन गर्न लागेको कम्पनीका कार्यकारी निर्देशक सशिन जोशीले जानकारी दिए ।

यसका लागि छुट्टै प्लान्ट भने बनाउन नपर्ने तर प्रोसेसिङ भने बडवाइजरको भन्दा फरक पर्ने उनको भनाइ छ ।

उनका अनुसार बडवाइजरको प्रोटोकल अनुसारनै हेवार्डस् ५००० बियर उत्पादन हुने बताए । तर बियर उत्पादनका लागि लाग्ने समय भने फरक पर्ने उनको भनाइ छ ।

‘कुनै बियर उत्पादनका लागि २ साताको समय लाग्छ भने कुनै बियरमा ३ देखि ५ सातासम्म लाग्छ । साथै, कुनै बियरमा शतप्रतिशत नै माल्ट हुन्छ भने कुनै बियरमा माल्ट र राइस पनि मिसिएको हुन्छ । तर यो बियरमा ७० प्रतिशत माल्ट हुन्छ । यो बियरमा कुनै पनि फेल्वर भने मिलाउँदैनौं,’ जोशीले भने ।

उनका अनुसार हेवार्डस् ५००० बियरमा ७.५ प्रतिशत अल्कोहल हुन्छ । तर बडवाइजरको तुलनामा भने केही सस्तो पर्नेछ । हाल बडवाइजर बियर उत्पादन भइरहेको फ्याक्ट्रीमै यो बियर उत्पादन हुने जोशीले बताए ।


क्लिकमान्डु