कात्तिक लागेपछि बैंकबाट २५ अर्ब निक्षेप गायब, कर्जा दिन बैंकले बन्द गरे



काठमाडौं । कात्तिक लागेपछि बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ निक्षेप गायब भएको छ । असोज मसान्तसम्ममा बैंकहरुमा ४२ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप थियो । बैंकहरुले कात्तिक १ ब्याजदर बढाएपनि बैंकमा निक्षेप बढ्नुको सट्टा घटेको देखिएको हो ।

कात्तिक १ देखि २ गतेसम्म बैंकहरुले बढाएको ब्याजदरमा निक्षेप उठाउन पाएका थिए । २ गते राती आएको निर्देशन अनुसार ३ गतेदेखि ब्याजदर घटाउनुपर्ने थियो । यद्यपी केही बैंकले भने ३ गतेपनि बढेको ब्याजदरमा नै पैसा उठाका थिए ।

नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक ३ सम्ममा बैंकहरुको निक्षेप ४२ खर्ब ४३ अर्ब रुपैयाँ रहेको छ । यसरी हेर्दा ब्याजदर बढाएको बेला बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ गायब भएको हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्दा कात्तिक लागेपछि बैंकहरुमा कर्जा प्रवाह ठप्प जस्तै देखिएको छ । असोज मसान्तमा बैंकहरुले ३९ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा दिएका थिए । कात्तिक ३ मा आइपुग्दा कर्जा ३९ खर्ब ९६ अर्ब रुपैयाँमा झरेको छ ।

बैंकहरुको कर्जा निक्षेप अनुपात(सीडी रेसियो) ९० प्रतिशत नजिक रहेको हुँदा बैंकहरु कर्जा दिन नसक्ने स्थितीमा पुगेका हुन् । कात्तिक ३ सम्ममा बैंकहरुको कर्जा निक्षेप अनुपात ८८.९२ प्रतिशत पुगेको छ ।

बैंकहरुबीच सो दिन एक आपसमा ४.९२ प्रतिशतमा अन्तर बैंक कारोबार भएको थियो ।


क्लिकमान्डु