भालुपहाडमा पहिरो गएपछि सिद्धार्थ राजमार्ग अवरुद्ध



काठमाडौं । गए राति गएको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । राति झण्डै साढे ३ बजे तिर सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने भालुपहाडमा १५ मिटर माथिदेखि गएको पहिरोले राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी स्याङ्जाले बताएको छ ।

अहिले सडक विभाग पोखराबाट डोजर ल्याई एकतर्फी बाटो सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि स्याङ्जा प्रहरीले जानकारी दिएको छ । तर, पहिरो ठूलो भएकाले एकतर्फी रुपमा पनि बाटो सञ्चालन गर्न समेत कठिनाइ रहेको स्याङ्जा प्रहरीले जनाएको छ ।

हाल त्यो पहिरो हटाउने काम भइरहेको स्याङ्जा प्रहरीका एक जवानले बताए । उनकाअनुसार पहिरो हटाउन कामका लागि सडक विभाग पोखराले डोजर पठाएको छ । अहिले डोजरले पहिरो पन्छाउने काम गरिरहेको पनि उनले बताए ।

स्याङ्जा प्रहरीकाअनुसार पहिरो हटाउन अझैं २ घण्टाभन्दा बढी समय लाग्ने भएको छ । पहिरोमा ढुङ्गाको ठूलो पहाडनै सडकमा आएर बसेको छ । यस्तो ढुङ्गा फुटाएर पन्छाउन पर्ने हुनाले पहिरो हटाउन समय लाग्ने प्रहरीको भनाइ छ ।

अहिले यस खण्डमा बाटो ठप्प अवस्थामा नै रहेको पनि स्याङ्जा प्रहरीले जानकारी दिएको छ । एकतर्फी बाटो समेत खुलाउन नसकिएको प्रहरीको भनाइ छ ।


क्लिकमान्डु