इच्छाराज तामाङ पक्राउ पर्दा राष्ट्र बैंकका अधिकारी तनावमा



काठमाडौं । ठगी आरोपमा व्यवसायी इच्छाराज तामाङ असोज १८ गते पक्राउ परे । तामाङ अहिलेपनि प्रहरी हिरासतमै छन् । ७३ करोड रुपैयाँ ठगी आरोपमा पक्राउ परेका तामाङले ४ अर्ब रुपैयाँ जति सहकारीको निक्षेपकर्ताको पैसा नदिएको उजुरी परेको छ ।

इञ्जिनियर समेत रहेका तामाङमाथि घरजग्गा व्यवसायसँगै सिभिल सहकारी चलाएर सहकारीको निक्षेपकर्ताको पैसा दुरुपयोग गरेको आरोप छ । राष्ट्र बैंकले लाइसेन्स दिने खुकुलो नीतिका कारण तामाङको पहलमै सिभिल बैंक खुलेको थियो ।

कुनैबेला सिभिल बैंकमा सबैभन्दा ठूलो सेयरधनी रहेका तामाङ अहिलेपनि बैंकको सञ्चालक समितिका अध्यक्ष हुन् । तामाङ पक्राउ पर्दा सिभिल बैंकको निक्षेप लिन निक्षेपकर्ता लाइनमा बस्ने हुन् कि भन्ने डर सिभिल बैंकका अधिकारीलाई थियो ।

यस्तै चिन्ता राष्ट्र बैंकका अधिकारीलाई पनि थियो । किनभने यसअघि बैंकबारे आमसञ्चारमाध्यममा नकारात्मक समाचार आउँदा निक्षेपकर्ताहरु पैसा झिक्न बैंकमा लाइन लागेका दृष्टान्तले राष्ट्र बैंकका अधिकारीहरुलाई चिन्तित बनाउनु स्वभाविक थियो ।

नियमन तथा सुपरिवेक्षण विभागका अधिकारीहरु तामाङ पक्राउ परेको अर्कोदिनदेखि नै सिभिलमा कति रकम निक्षेप निस्कने हो भन्ने तनावमा भएको सुनाउँछन् ।

‘तामाङ पक्राउ परेर निक्षेपकर्ता सिभिलमा लाइन लाग्न गएको भए त्यो व्यवस्थापन गर्न केन्द्रीय बैंकलाई पनि चुनौती हुन्थ्यो । समस्या नै नभएका बैंकमा अध्यक्ष पक्राउ पर्दैमा निक्षेपकर्ता आउने हुन् कि भन्ने डर थियो,’ राष्ट्र बैंकका नियमन विभागका एक अधिकारीले सुनाए ।

तामाङ सिभिलको अध्यक्ष भएपनि उनी पक्राउ पर्दा बैंकलाई असर भने परेन । किनभने बैंकको सञ्चालन प्रमुख कार्यकारी अधिकृत (सीइओ)को नेतृत्वमा व्यवस्थापनले गर्छ । बैंक व्यवस्थापनले राष्ट्र बैंकले जारी गरेका नीति निर्देशनको अक्षरसः पालना गर्दै बैंक सञ्चालन गर्ने भएकाले सञ्चालक समितिका अध्यक्ष वा सदस्यहरु पक्राउ पर्दैमा संस्थालाई खासै असर गर्दैन । असर गर्छ त बैंकको ब्राण्ड र इमेजलाई ।

अहिले सिभिल बैंकको ब्राण्ड र इमेजलाई इच्छाराजका कारण केही असर परे पनि निक्षेपकर्ताको निक्षेपमा कत्ति पनि असर पर्दैन ।

‘तामाङ पक्राउ परे पनि निक्षेपकर्ताले राष्ट्र बैंकले लाइसेन्स दिएको संस्थाको नियमन र सुपरिवेक्षण गर्छ भन्ने कुरा बुझेका कारण त्यसो हुन पाएन,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘यो भनेको राष्ट्र बैंकप्रतिको विश्वास हो ।’

बरु तामाङ पक्राउपछि सिभिल बैंकको निक्षेप बढेको छ । असोजको तेस्रो साता ९३ अर्ब ३६ करोड रुपैयाँ निक्षेप रहेकोमा असोज मसान्तमा आइपुग्दा १ अर्ब २३ करोडले बढेर ९४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु