दशैंमा दिइन्छ दुःखी बनाउने आशीर्वाद, पैसातिर लागे बिग्रिन्छ कि !



सुखका लागि दिइने आशिर्वाद नै ‘दुःखी होऊ’ भन्ने जस्ता छन् । नवविवाहित छोरी-ज्वाइँ वा छोरा-बुहारीलाई आफन्तजनले ‘राम्ररी गरी खानू’ भनेर आशिर्वाद दिन्छन् । हिन्दु धर्मावलम्बीहरुले दशैंमा टीका लगाएर पनि त्यस्तै आशिर्वाद दिन्छन् ।

दशैंमा मेरी हजुरआमाले टीका लगाएर जमरा लगाइदिँदा ‘राम्रो जागिर खानू, जागिर खाएर ठूलो मान्छे बन्नू’ भन्ने जस्ता पैसाका लागि काम गर्नुपर्ने प्रकृतिका आशिर्वाद दिने गर्नुहुन्छ । गरी खानु, राम्ररी गरी खानु वा जागिर खानु भनेको ‘पैसाका लागि कडा मेहेनत गर है’ भनेको हो । काममा आफै मात्रले कडा मेहेनत गर्दा सुखी हुन सकिदैँन । सुखी हुनका लागि कि पैसालाई काम लगाउनु पर्छ कि त अरुलाई काम लगाउन सक्नुपर्छ ।

मैले दाइका नवविवाहित छोरी-ज्वाइँलाई टीका लगाएर सोधेँ- ‘मसँग आशिर्वादका तीनवटा विकल्प छन्, जुन रोज्नुहुन्छ, त्यही दिन्छु- राम्ररी गरी खानू, अरुलाई काम लगाएर खानू वा पैसालाई काम लगाएर खानू ।’

उनीहरुले हास्दै भने- ‘पैसालाई काम लगाएर खान सके नै सुखी भइएला ।’

पैसातिर लागे बिग्रिन्छ कि !
एक दिन सेयर तालिम केन्द्र एसआरसिएसमा छोरासहित आएका एक ब्यक्तिले भने- ‘पत्रपत्रिकामा पनि आइरहन्छ, यो के रहेछ भनेर छोरालाई लिएर आएको ।’

पक्कै पनि, हाम्रो समाज र संस्कृतिले पैसा, लगानी र ब्यवसायको कुरा सिकाउनु भनेको छोराछोरीलाई बिगार्नु हो भनेर बुझेको छ । केही समय अघिसम्म उखानै थियो- छोरो बिग्रे कमर्श पढेर, छोरी बिग्रे नर्स पढेर ।

उनका छोरा भर्खर एसएलसी दिएर बसेका रहेछन् । परीक्षाको नतिजा आउनु अघि छोरालाई ब्यस्त राख्न चाहेकेको बारे पनि उनले बताए । मैले सेयर बजार तालिम लिने ठाँउ र लगानीको बारेमा बताएपछि उनले मुख बिगार्दै भने- ‘ए ! त्यसो पो हो ? अहिलेदेखि पैसाको कुरा गर्दा छोरो बिग्रिने पो हो कि !’

पैसाको कुरा गर्दा बिग्रिने भन्दा पनि पैसाको ब्यवस्थापन गर्न नजान्दा बिग्रिने हो । सुरुबाटै पैसाको कुरा गरियो भने छोराछोरीले पैसाको राम्रो ब्यवस्थापन गर्न सिक्छन् । पैसाको राम्ररी ब्यवस्थापन गर्न नजानेर धनीका छोराछोरी बढी कुलतमा फसेका उदाहरण छन् । र, समाजले उनीहरुप्रतिको अलग्गै सोचाइ बनाएको छ । समाज भन्छ- बाबुआमाले मागेजति पैसा दिन्छन्, बाबुआमाले कमाएकै छ वा बाबुआमाले कमाएको त्यत्रो सम्पत्ति उडाउने अरु को छ र !

यो पैसा धेरै भएर समाजे गरेको नकारात्मक टिप्पणीभन्दा पनि पैसाको ब्यवस्थापन गर्न छोराछोरीलाई समयमै नसिकाएको कारण आएको परिणामप्रतिको टिप्पणी हो ।

छोराछोरीलाई पैसा र लगानीका बारेमा चाँढो नसिकाउनु भनेको बाबुआमाले छोराछोरीका लागि लामो समय दुःख र मेहेनत गर्नु हो, आफू छोराछोरीको एटिएम मेसिन बन्नु हो र छोराछोरीलाई बढीभन्दा बढी बाबुआमामा निर्भर बनाउनु हो ।

पक्कै पनि, हाम्रो समाज र संस्कृतिले पैसा, लगानी र ब्यवसायको कुरा सिकाउनु भनेको छोराछोरीलाई बिगार्नु हो भनेर बुझेको छ । केही समय अघिसम्म उखानै थियो- छोरो बिग्रे कमर्श पढेर, छोरी बिग्रे नर्स पढेर ।

तर, छोराछोरीलाई पैसा र लगानीका बारेमा चाँढो नसिकाउनु भनेको बाबुआमाले छोराछोरीका लागि लामो समय दुःख र मेहेनत गर्नु हो, आफू छोराछोरीको एटिएम मेसिन बन्नु हो र छोराछोरीलाई बढीभन्दा बढी बाबुआमामा निर्भर बनाउनु हो ।

मैले २४ बर्ष पुगेपछि बाबुआमाबाट पैसा लिन छाडें । आफैं कमाउन सुरु गरें । त्यतिन्जेलसम्म बाबुआमाले मेरा लागि कडा मेहेनत (काम) गर्नुभयो । तर, ब्यापार-ब्यवसाय, पैसा र पैसालाई काम लगाउने कुरा म १६ बर्ष पुग्नुअघि नै सिकाएको भए सायद मेरा लागि उहाँहरुले ८ बर्ष बढी काम गर्नु पर्दैन थियो होला । सेयर बिश्लेषक भट्टराईको ‘सेयरबाट करोडपति’ पुस्तकबाट ।