मुगु बस दुर्घटनाः २० को मृत्यु भएको प्रारम्भिक विवरण
कर्णाली । नेपालगञ्जबाट मुगु सदरमुकामतर्फ जाँदै गरेको यात्रुबाहक बस छायाँनाथ रारा नगरपालिका ७ पिनाटपने खोलामा दुर्घटनामा परेको छ । भे १ ख ३१६७ नम्बरको बस आज दिउँसो एक बजेतिर दुर्घटना भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
बसमा ३९ यात्रु सवार थिए । प्रदेश प्रहरी प्रमुख डिआईजी गणेश बहादुर ऐरले सो घटनामा २० जनाको मृत्यु भएको प्रारम्भिक विवरण आएको बताए । मृतकको संख्या बढी हुन सक्ने उहाँले बताउनुभयो ।
घाइते १२ जनालाई उपचारका लागि समिट एअरको विमानमार्फत नेपालगञ्ज लगिएको छ भने बाँकी घाइतेको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर मुगुको ताल्चा विमानस्थलतर्फ पठाइएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।
सामान्य घाइतेको मुगु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेको उद्धारका लागि प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका साथै सबै सुरक्षा निकायका प्रमुखहरु खटिरहेको जनाइएको छ ।