काभ्रेमा ‘स्मार्ट लकडाउन’: चाडपर्वमा भीडभाड नगर्न आग्रह



काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आजदेखि जिल्लाभित्र अनिश्चितकालीन ‘स्मार्ट लकडाउन’ थप गर्दै चाडपर्वमा भीडभाड नगर्न आदेश जारी गरेको छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसिएमसी)को बैठकले समुदायमा सङ्क्रमणदर घटिरहेको तथा साप्ताहिकरूपमा मृत्युदर घटेको अवस्थामा काभ्रेमा ‘एल्लो-जोन’मा परेकाले स्मार्ट लकडाउन केही खुकुलो पार्दै निषेधाज्ञालाई थपिएको जनाएको छ ।

निषेधाज्ञा गए राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि भनिएको छ । चाडपर्वमा बजारमा भीडभाड नगर्न, हिँडडुल गर्दा तथा भेला, क्लब, पार्टी प्यालेस, स्वीमिङ पुल, ब्यूटीपार्लर, जिमखाना आदि सञ्चालन गर्दा स्वास्थ्य-सुरक्षा एवं सामाजिक दूरी कायम गर्नुपर्ने, हाट, मेला, जात्रा महोत्सवमा भीडभाड कम गर्ने तथा निर्धारित जनस्वास्थ्यका मापदण्ड अपनाउन जारी आदेशमा उल्लेख गरिएको छ ।

साथै गोष्ठी, सेमिनार, समीक्षा, प्रशिक्षणजस्ता क्रियाकलाप सकेसम्म भर्चुअल माध्यमबाट सञ्चालन गर्नुपर्ने, सार्वनजिक यातायातका साधानमा कूल सिट क्षमताभन्दा बढी यात्रु नबोक्न, विकास-निर्माणका सामग्री ढुवानी जिल्लाभित्र साँझ ७ देखि बिहान ६ बजेसम्म तथा जिल्ला बाहिर राति ९ देखि बिहान ५ बजेसम्म मात्रै गर्ने आदेश जारी गरिएको छ । आदेश अवज्ञा गर्ने जो–कोहीलाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८, सङ्क्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार सजाय हुने जनाइएको छ ।

यसैबीच जिल्लाको चार गाउँपालिका कोरोना सङ्क्रमणमुक्त भएका छन् भने पछिल्लो केही दिनदेखि सङ्क्रमणमुक्त हुनेको सङ्ख्या भने बढिरहेको केन्द्रको तथ्याङ्कले देखाएको छ ।

कोरोना सङ्क्रमणमुक्त हुनेमा चौँरीदेउराली, रोशी, महाभारत र खानीखोला गाउँपालिका छन् । तेमालमा एक, मण्डनदेउपुर नगरमा दुई र बेथानचोक गाउँपालिकामा तीन सङ्क्रमित रहेका छन् । केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा चारमा कोरोना सङ्क्रमण देखिएको छ भने १७ सङ्क्रमणमुक्त भएका हुन् ।

जिल्लामा हाल ८९ सक्रिय सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा २८, पाँचखालमा १४, धुलिखेलमा १८, पनौतीमा १०, बेथानचोक र नमोबुद्ध नगरमा ११ रहेको केन्द्रले जनायो । जिल्लामा हालसम्म १४ हजार ६७८ मा सङ्क्रमण देखिएकामा १९२ को मृत्यु भएको छ ।

हालसम्मका कूल सङ्क्रमितमध्ये ९८ प्रतिशत अर्थात् १४ हजार ३७९ सङ्क्रमणमुक्त भइसकेका छन् । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।


क्लिकमान्डु