काठमाडौं आए ८ सय च्याङ्ग्रा, मूल्य प्रतिकेजी १३ सय रुपैयाँ



काठमाडौं । निजी क्षेत्रले दशैंतिहारलक्षित च्याङ्ग्रा काठमाडौंमा भित्र्याएको छ । बजारमा च्याङ्ग्राको माग उच्च भएसँगै विभिन्न स्थानबाट खरिद गरेर ८ सय च्याङ्ग्रा काठमाडौं भित्र्याएको हो ।

नेपाल चौपाया संघका अध्यक्ष सन्तोष खत्रीले उपत्यकाबासीका लागि निजी क्षेत्रले विभिन्न स्थानमा बिक्री गरिरहेको बताए । उनकाअनुसार यो वर्ष मुस्ताङ, जोमसोममै च्याङ्ग्राको अभाव भई मूल्य महंगो भएको छ । जसले गर्दा बजारमा आपूर्ति गर्न असहज भएको हो ।

सरकार र निजी क्षेत्रले हरेक वर्ष विभिन्न स्थानको कृषकसँग खसीबोका, भेडा र च्याङ्ग्रा खरिद गरी काठमाडौं भित्र्याउने प्रचलन रहिआएको छ । हरेक दशैंमा करिब ५० हजारको हाराहारीमा खसीबोका खपत हुन्छ भने ७ देखि ८ हजारको हाराहारीमा च्याङ्ग्रा खपत हुने गर्दछ । सोहीअनुसार काठमाडौंमा खसीबोका र च्याङ्ग्रा भित्रिने गर्दछ ।

तर, यो वर्ष हिमाली क्षेत्रमै च्याङ्ग्रा अभाव भएपछि निजी कम्पनीले थोरै मात्रामा मात्रै ल्याउन सफल भएको बताए । हाल व्यवसायीहरूले कृषकसँग प्रतिवटा च्याङ्ग्रा ४० हजारसम्म तिरेर खरिद गरी काठमाडौं भित्र्याएको उनको भनाइ छ ।

हाल ८ सय भित्र्एिको च्याङ्ग्रा कलंकी र भक्तपुरमा च्याङ्ग्रा बिक्रीका लागि राखेका छन् । जसमा २ सय कलंकी र भक्तपुरमा ६ सय जति बिक्रीको लागि राखेको उनले जानकारी दिए । व्यवसायीहरूले उक्त आयातित जिउँदो च्याङ्ग्राको मूल्य प्रतिकेजी १२ सय ५० देखि १३ सय रुपैयाँ तोकेको उनले बताए ।


क्लिकमान्डु