आशीष रायले युनिलिभर नेपाल छाड्दा १ करोड फाइदा, प्रवन्ध निर्देशकको तलब ४ करोड



काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको प्रवन्ध निर्देशकबाट आशीष रायले पद छाड्दा कम्पनीलाई १ करोड रकम फाइदा भएको छ ।

आशीष रायलाई युनिलिभरले ५ करोड हाराहारीमा तलब भत्ता दिएको थियो । आशीष रायपछि कम्पनीमा प्रवन्ध निर्देशक बन्न आएका अम्लान मुखर्जीको तलब भत्ता भने ४ करोडभन्दा कम छ ।

युनिलिभर नेपालले गत आर्थिक वर्षमा प्रवन्ध निर्देशक अम्लान मुखर्जीलाई ३ करोड ८१ लाख रुपैयाँ तलब भत्ता दिएको छ । ९ करोड २० लाख चुक्ता पूँजी भएको युनिलिभर नेपालले प्रवन्ध निर्देशकलाई गतवर्ष अघिल्ला वर्षका तुलनामा ३६ लाखले तलब भत्ता बढी दिएको हो ।

आर्थिक वर्ष २०७६/७७ मा भन्दा गत आर्थिक वर्ष २०७७/७८ मा युनिलिभरको नाफा बढेको हुँदा प्रवन्ध निर्देशकले पाउने बोनस बढेपछि तलब भत्ता बढेको हो ।

यसरी दिने तलबमा करिब ३६ प्रतिशतभन्दा आयकर तिनुपर्छ ।

९ करोड २० लाख चुक्ता पूँजी भएको युनिलिभरमा ८० प्रतिशत सेयर स्वामित्व हिन्दुस्थान लिभरको छ ।

युनिभिलर नेपालमा प्रवन्ध निर्देशकको जिम्मेवारी हिन्दुस्थान लिभरले नै पठाउने गर्छ । युनिलिभर नेपाल सेयर बजारमा सूचिकृत कम्पनीमा सबैभन्दा बढी लाभांश दिने तथा सबैभन्दा बढी सेयर मूल्य भएको कम्पनी हो । युनिलिभरले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई प्रति सेयर ६५० रुपैयाँ नगद लाभांश दिने छ ।

युनिलिभर नेपालमा ८० प्रतिशत स्वामित्व हिन्दुस्थान लिभरको छ । ५ प्रतिशत स्वामित्व रविभक्तको परिवारको कम्पनी श्रीबिक्रम होल्डिङको छ । यस्तै १५ प्रतिशत स्वामित्व सर्वसाधारण सेयरधनीको छ ।


क्लिकमान्डु